ग्राहक आफैंले अनलाइनबाट विद्युत् मिटर रिडिङ गर्न सक्ने

2192

काठमाडौं,१८ जेठ २०७७ । कोभिड—१९ रोकथाम र नियन्त्रणका जारी लकडाउनका कारण घरघरमा गएर मिटर रिडिङ गर्न नसकेपछि नेपाल विद्युत प्राधिकरणले ग्राहकले अनलाइनमार्फत आफ्नो मिटरमा उठेको विद्युत खपतको अंक राख्न पाउने व्यवस्था गरेको छ । इन्टरनेट सुविधा नभएका ग्राहकहरुलाई पनि टोलफ्रि नंम्बरमा फोन गरी विद्युत खपतको मिटर अंक टिपाउन सक्ने व्यवस्था छिट्टै गरिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

यस प्रणालीमार्फत मिटर आफ्नो घरको मिटर रिडिङ गर्न ग्राहकले इन्टरनेट ब्राउजरको एड्रेसबारमा कन्जुमर डट एनइए डट ओराजी डट एनपी (https://consumer.nea.org.np) टाइप गरी इन्टर हानेपछि होमपेज खुल्ने छ । त्यसपछि ग्राहकले पहलो पटक रजिष्टेशन गर्नुपर्ने छ । रजिष्ट्रेशन गर्दा युजरनेममा ग्राहकले आफ्नो मोबाइल नम्बर र पासओर्ड राख्नु पर्ने छ ।

पहिलोपल्ट लगइन गरिसकेपछि रजिष्टेशन गर्दा राखिएको मोबाइल नम्बर र आफूले राखेको पासवर्ड प्रयोग गरी लगइन गर्न सकिने छ । त्यसपछि एड कन्जुमर बटम (Add Consumer Bottom) क्लिक गरी खुल्ने कन्जुमर रजिष्टेशन फारममा (Consumer Registration Form) दिइएको निर्देशनअनुसार ग्राहक विवरण भरी दर्ता गर्नुपर्ने छ । पहिलोपल्ट विवरण भरेपछि अर्कोपल्ट प्रयोग गर्दा पुनः भर्नुपर्ने छैन । त्यहाँ देखाउने ग्राहकको सूचीमा आफ्नो ग्राहक नम्बरमा क्लिक गरेपछि खुल्ने अनलाइन मिटर रिडिङ इन्ट्रि फारममा आफ्नो घरको विद्युत् मिटरमा देखिएको अंक ‘करेन्ट मिटर रिडिङ फिल्ड’मा टाइप गरी बुझाउनु पर्ने छ । मिटरको अंक देखिने गरी फोटो खिची ब्राउज बटम क्लिक गरी फोटो अपलोड गरेर पनि पठाउन सकिने छ । यति गरेपछि खपत भएको विद्युतको महसुल देखाउने । महसुल विभिन्न अनलाइन भुक्तानीका लागि अनुमतिप्राप्त सेवा प्रदायकमार्फत तिर्न सकिने छ ।

ग्राहकले अनलाइन मिटर रिडिङ प्रणालीमा विद्युत खपतको वास्तविक अंक राख्नु पर्नेछ । यदि हालिएको अंकमा कुनै दुरुपयोग भए विद्युत् वितरण विनियमावलीमा भएको व्यवस्थाअनुसार कारबाही हुने प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयले प्रष्ट पारेको छ ।

प्राधिकरण कम्प्युटराइज्ड विलिंग महाशाखाकाअनुसार यो प्रणाली शुरु गरिएपछि करिब २५ हजार ग्राहकहरुले सुरु रजिष्टे«शन गराएका छन् । ८ हजार ग्राहकले आफैं आफ्नो विद्युत मिटरमा चढेको अंक प्रणालीमा राखि समयमै रिडिंग गराई अनलाइनमार्फत महशुल भूक्तानी गरी छुट सुविधा लिएका छन् ।

प्राधिकरणले ग्राहक सेवालाई थप प्रभावकारी बनाउन २ वर्ष अघिदेखि अनलाइनमार्फत विद्युत महशुल भूक्तानी गर्ने सकिने व्यवस्था गरेको हो । हाल सात लाखभन्दा बढी ग्राहले अनलाइन मार्फत महसुल भुक्तानी गर्दै आएका छन् ।