विद्युत खपत नहुँदा खेर गयो, राष्ट्रिय प्रसारण पनि जोड्न सकिएन

    2583

    बाग्लुङ,मंसिर १५ – सहरमा लोडसेडिङले उपभोक्ता हैरान छन्। तर, यहाँको एक गाउँमा उत्पादन भएको विद्युत खपत नहुँदा स्थानीय चिन्तित भएका छन्। स्थानीयको सक्रियतामा ठेउले खोलामा निर्माण गरिएका सात लघुजलविद्युत परियोजनाबाट उत्पादन गरिएको विद्युत खपत हुन सकेको छैन।

    Micro Hydroस्थानीयले चौबीसै घन्टा विद्युत उपभोग गर्दा ४० प्रतिशतमात्र विद्युत खपत हुने गरेको परियोजनाले जनाएको छ। धेरै भएको बिजुलीलाई राष्ट्रिय प्रशासन जोड्न मिनी ग्रिड निर्माण गरेको भए पनि उक्त काम अगाडि बढ्न नसक्दा समस्या भएको हो।

    ठेउले खोलामा सात लघुजलविद्युतलाई जोडेर मिनी ग्रिड बनाएर चौबीसै घन्टा १ सय २८ किलोवाट विद्युत उत्पादन हुँदै आएको छ। विद्युत उत्पादन गरेर खपत गर्ने ठाउँ नभएपछि ६० प्रतिशत विद्युत खेर गएको योजनाका अध्यक्ष नारायण आचार्यले बताए। ‘कतिपय ठाउँमा विद्युत नभएर जनता अन्धकारमा बस्न बाध्य छन्,’ अध्यक्ष आचार्यले भने, ‘यहाँ उत्पादन भएको विद्युतबाट पानी तताएर फाल्नुपर्ने अवस्था छ।’
    खपत नभएको विद्युत ठूला हिटर रडमा लगाएर पानी तताएर खर्च गरिँदै आइएको छ।

    धैरै भएको विद्युत राष्ट्रिय प्रसारणमा जोड्न कालुङखोला लघुजलविद्युत प्रदर्शनी परियोजना पहिलो र दोस्रो, राङखानी गाविसस्थित ऊर्जाखोला लघुजलविद्युत परियोजना पहिलो, दोस्रो र तेस्रो, नन्द राइसमिल सर्कुवा र ठेउले खोला लघुजलविद्युत परियोजनाबाट सिन्फोनाइज प्रविधिबाट एउटै ग्रिडमा जोडिएको थियो। १ सय २८ किलोवाट विद्युतलाई एउटै स्टेसनमा संकलन गरे पनि खपत नभएपछि स्थानीय चिन्तित छन्। ‘गाउँमा उद्योग कलकारखाना नभएकाले खपत भएन,’ अध्यक्ष आचार्यले भने, ‘राष्ट्रिय प्रसारणमा बेच्न नीतिगत अन्योलताले समस्या सिर्जना भएको छ।’

    ग्रामीण क्षेत्रका साना लघु जलविद्युतलाई एकीकृत गर्न निर्माण गरिएको यो मिनी ग्रिड नेपालकै नमुना भएको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले जनाएको छ। युएनडिपी , वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, जिल्ला ऊर्जा तथा वातारण शाखा , स्वयंशक्ति लगायत संस्थ्ााको सक्रियतामा १ करोड ५० लाख रुपैयाँको लागतमा मिनीग्रिड निर्माण गरिएको थियो।

    ६ किलोवाटदेखि २५ किलोवाटसम्मका साना सात योजना २ करोड ८९ लाख रुपैयाँको लागतमा यस अगाडि नै निर्माण सम्पन्न भएका थिए। मिनीग्रिडबाट पैयुथन्थाप, राङखानी र सर्कुवा गाविसका १ हजार २ सय ७२ घरधुरीमा विद्युत बालेको जिल्ला ऊर्जा तथा वातावरण शाखाका प्रमुख इन्जिनियर ललितिश्वरप्रसाद श्रीवास्तवले बताए। ‘मिनीग्रेड बनाएपछि कुनै योजना बिग्रिए पनि स्थानीय अन्धकारमा बस्नुपर्दैन,’ श्रीवास्तवले भने। तीन तीन गाविसबाहेक छिमेकी गाविसमा राष्ट्रिय प्रसारणको विद्युत भएकाले पनि खपत नभएको हो।

    श्रीवास्तवले विद्युतलाई राष्ट्रिय प्रसारणमा जोड्न छुट्टै सबस्टेसन चाहिने भएकाले अझै एक वर्ष लाग्ने जनाए। उनका अनुसार पर्वतमा सबस्टेसन निर्माण सुरु भएकाले सम्पन्न भएपछि राष्ट्रिय प्रसारणमा जोड्न सकिने छ।

    प्रस्तुति: नागरिक