विद्युत् आयात शून्यमा झार्न ४ वर्ष लाग्ने, इन्डेक्स चुल्होमा जोड दिँदै प्राधिकरण

1395

भदाै १५, २०७६

काठमाडौं । भारतबाट विद्युत् आयात शून्यमा झार्न वा आयातमुक्त हुन अझै ४ वर्ष लाग्ने भएको छ । पछिल्लो समय भारतबाट विद्युत् आयातको अवस्था घट्दै गएको र पूर्णरुपले आयातमुक्त वा आयातलाई शून्यमा झार्न ४ वर्ष लाग्ने नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए । ‘अहिले भारतबाट विद्युत् आयात विस्तारै घट्दै गएको छ,’ उनले भने, ‘करिबकरिब ४ वर्षसम्म आयातै नगर्ने अवस्थामा नेपाल रहन सक्दैन ।’

चालू आर्थिक वर्षमा प्राधिकरणले साढे ११ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । तर, तोकिएको क्षमताअनुसार नै विद्युत् उत्पादन भएता पनि त्यसले बर्खायाममा मात्रै उत्पादन दिने छ । हिउँदमा त एक चौथाइ अर्थात झन्डै ३ सय मेगावाट हाराहारीमा मात्रै विद्युत् उत्पादन हुने भएकाले तत्कालै आयातमुक्त हुने अवस्था नरहेको अधिकारीको भनाइ छ ।

साढे ११ सय मेगावाट विद्युत् उत्पादन लक्ष्यमध्येको एक हो अपर तामाकोसी । जसले, चालू आर्थिक वर्षमा ४५६ मेगावाट क्षमतामा विद्युत् उत्पादन दिनेछ । माथिल्लो तामाकोसीलाई ‘पिकिङ’ रन अफ दि रिभर आयोजनाको रुपमा चलाइनेछ । उत्पादन हुने लक्ष्य लिएका सबैजसो आयोजना ‘रन अफ दि रिभर’ प्रकृतिका छन् । जुन बर्खायाममा मात्रै पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन सक्छ । यसर्थ, ४५६ मेगावाटको अपर तामाकोसी भए पनि यसले हिउँदमा करिब १०० मेगावाट मात्रै उत्पादन दिने देखिन्छ ।

सरकारले ३ वर्षमा विद्युतमा आत्मर्भिर हुने लक्ष्य लिए पनि विद्युत् उत्पादन र वितरण प्रणालीको सुदृढीकरण र मर्मतसम्भार गर्नुपर्ने आवश्यकता रहेको प्राधिरकणले जनाएको छ । विद्युत् उत्पादन बढाएर मात्रै नहुने भन्दै प्राधिकरणले चालू आर्थिक वर्षमा वितरण प्रणाली र प्रसारण लाइन निर्माण र मर्मतमा व्यापक सुधार गर्ने प्रवक्ता अधिकारीको तर्क छ ।

‘हामीसँग विद्युत् जेनेरेसन पनि छ । विद्युत् उत्पादन बढाएर मात्रै पनि भएन,’ उनले भने, ‘उत्पादित बिजुलीलाई कसरी गुणस्तरीय र भरपर्दो बनाउने भन्नेतर्फ प्राधिकरण आक्रामक रुपमा लागिरहेको छ । यस वर्ष पनि हामीले प्रसारण लाइन, नयाँ सबस्टेसन निर्माण र सबस्टेसनको मर्मतसम्भार र सुदृढीकरणको काम व्यापक रुपमा गर्नुपर्नेछ ।’

स्वदेशमा उत्पादित विद्युतलाई भारतीय बजारमा ‘अनलाइन इलेक्ट्रिक मार्केट’का रुपमा लैजाने प्राधिकरणको योजना छ । त्यसका लागि इनर्जी बैङ्किङ नै उत्तम विकल्प रहेको अधिकारीले बताए । इनर्जी बैङ्किङमा भारत सहमत भइसकेकाले बचत भएको विद्युत् निर्यात गर्ने र आवश्यक परेका बेला विद्युत् ल्याउन सकिनेछ ।

गत आर्थिक वर्षमा प्राधिकरणले भारतबाट २३ अर्बको विद्युत् आयात गरेको थियो । अहिले निजी क्षेत्र र नेपाल विद्युत् प्राधिकरणका सहायक कम्पनीमार्फत गरी झन्डै ११ सय मेगावाट विद्युत् उत्पादन भइरहेको अवस्था छ ।

इलेक्ट्रिक इन्डेक्स चुल्होमा जोड

विद्युत् प्राधिकरण अहिलेदेखि नै कसरी स्वदेशमा उत्पादित बिजुलीको खपत बढाउने भन्ने ध्याउन्नमा छ । चालू आवमा झन्डै साढे ११ सय मेगावाट जलविद्युत् आयोजना सम्पन्न भई विद्युत् उत्पादन भएपछि आन्तरिक खपत बढाउनु पर्ने बाध्यात्मक अवस्थामा प्राधिकरण छ । त्यसका लागि प्राधिरकणले कुकिङ ग्यासलाई प्रतिस्थापन गरेर इलेक्ट्रिक इन्डेक्स चुल्हो प्रयोगमा आम उपभोक्तालाई जोड दिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ विभिन्न क्षेत्रमा पुगेर विद्युतीय चुल्हो वितरण गरी कार्यक्रम अघि बढाइसकेका छन् । विद्युतीय चुल्हो विद्युत् खपत गर्ने प्रमुख माध्यम हो ।

त्यस्तै, इलेक्ट्रिक भेइकल सञ्चालनका लागि चार्जिङ स्टेसन निर्माणमा पनि प्राधिकरणको चासो रहेको अधिकारीको भनाइ छ । विद्युत् खपत बढाउन विद्युतीय चुल्हो र विद्युतीय सवारी सञ्चालन प्रमुख स्रोत रहेको उनको दाबी छ ।

हरिप्रसाद शर्मा
Source: capital news