विद्युत्मा सरकार बराबर निजी

    1613

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरण र निजीक्षेत्रद्वारा उत्पादित विद्युत्को परिमाण बराबर भएको छ । आइतवारबाट विद्युत् प्रणालीमा निजीक्षेत्रका तर्फबाट १७ दशमलव ६ मेगावाट विद्युत् थपिएपछि दुवै तर्फको परिमाण बराबरीमा आएको हो ।

    आइतवारबाट मुस्ताङ जिल्लाको थासाङ गाउँपालिकामा निर्माण भएको थापाखोला जलविद्युत् आयोजना (१३ दशमलव ६ मेवा)ले व्यावसायिक उत्पादन शुरू गरेको छ । त्यसैगरी आइतवारबाटै सर्दीखोला जलविद्युत् आयोजना (४ मेवा)ले पनि व्यावसायिक उत्पादन शुरू गरेको हो । यससँगै दुवै तर्फको विद्युत् उत्पादन (जडितक्षमता) बराबर (४७८/४७८ मेवा) भएको हो ।

    थापाखोला जलविद्युत् आयोजनाको निर्माण माउण्ट कैलाश इनर्जी प्रालिले गरेको हो । आयोजनाले निर्माण सम्पन्न गरी भदौदेखि नै परीक्षण उत्पादन थालेको थियो । उक्त आयोजनाबाट उत्पादित विद्युत् म्याग्दीको नारच्याङस्थित तातोपानी साना जलविद्युत् आयोजनाको सबस्टेशनमार्फत केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ । उत्पादित जलविद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न टुकुचेदेखि म्याग्दीको दानासम्म प्रसारण लाइन र दुईओटा सबस्टेशन पनि बनाएको छ ।

    त्यसैगरी कास्कीमा निर्माण भएको सर्दी खोला जलविद्युत् आयोजनाको निर्माण मन्दाकिनी हाइड्रोपावरले गरेको हो ।

    ‘१ सय ५ वर्षभन्दा अघिदेखि जलविद्युत् उत्पादन शुरू गरेको नेपाल विद्युत् प्राधिकरणलाई निजीक्षेत्रले भेटेको छ,’ प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले भने, ‘यस क्षेत्रमा निजीक्षेत्रबाट भइरहेको सहभागिताले यो दर अझै माथि लैजाने देखिन्छ ।’ जलविद्युत् उत्पादनमा निजीक्षेत्रको प्रवेश भएको २४ वर्ष मात्रै हुँदै छ ।

    यस अघिसम्म निजीक्षेत्रका कुल ६५ आयोजनाले गरी करीब ४ सय ६० मेगावाट विद्युत् उत्पादन गर्दै आएका थिए, जसमा थापाखोला र सर्दी थपिएपछि निजीक्षेत्रद्वारा जलविद्युत् उत्पादन गरिरहेका आयोजनाको सङ्ख्या ६७ पुग्नुका साथै उत्पादन ४ सय ७८ मेगावाट पुगेको प्रवक्ता अधिकारीले बताए ।

    विद्युत् खरीद/विक्री सम्झौता (पीपीए) गरी वित्तीय व्यवस्थापनसमेत गरिसकेका निजीक्षेत्रका आयोजनाको विद्युत् उत्पादन क्षमता ३ हजार ५ सय मेगावाट पुगेको छ । त्यसैगरी ६ हजार मेगावाट विद्युत् उत्पादनका लागि पीपीए गर्न निजीक्षेत्रबाट निवेदन आएको प्राधिकरणले बताएको छ ।

    विगत लामो समयदेखि प्राधिकरणद्वारा कुनै नयाँ आयोजना आएका छैनन् । प्राधिकरणद्वारा अघि बढाइएको चमेलिया जलविद्युत् आयोजना (३० मेवा) विभिन्न विवादमा अल्झिँदै हाल परीक्षण उत्पादनको क्रममा रहेको छ । केही दिनमै शुरू हुने यसको  व्यावसायिक उत्पादनले प्राधिकरणको उत्पादनको परिमाण बढाउनेछ ।  त्यसै गरी ठेकेदारसँगको विविध समस्यामा परेको कुलेखानी तेस्रो (१४ मेवा) पनि चालू आवको अन्त्यसम्म सम्पन्न हुने प्राधिकरणले बताउँदै आएको छ । हाल करीब ९३ प्रतिशत निर्माण कार्य सकिएको माथिल्लो तामाकोशी (४५६ मेवा) अर्को वर्षबाट राष्ट्रिय प्रसारणमा जोडिने बताइएको छ ।

    स्रोत:अभियान