तल्लो मोदीको काम पुसभित्र सकिँदै

    1616

    पर्वत । पर्वतमा निर्माण भइरहेको तल्लो मोदी जलविद्युत् आयोजनाको निर्माण ९२ प्रतिशत पूरा भएको छ । २०७४ असार मसान्तसम्म निर्माण सक्ने लक्ष्य लिएको आयोजनाले समयमा काम पूरा गर्न सकेन । वर्षामा टनेलभित्र पहिरो जाने, भासिने, निरन्तर झरी पर्नेेजस्ता प्राकृतिक समस्या तथा चाडबाड, चुनावजस्ता कारणले अपेक्षित काम गर्न नसक्दा तोकिएको मितिमा काम पूरा गर्न नसकेको आयोजनाले जानकारी दिएको छ । जिल्लाको मोदी गाउँपालिका र कुश्मा नगरपालिका प्रभावित क्षेत्र रहेको उक्त आयोजना मोदीखोलामा निर्माण भइरहेको छ ।

    २०७४ असार मसान्तभित्र काम सक्ने लक्ष्य लिए पनि नसकिएपछि आयोजनाले अब पुसभित्रमै काम सक्ने गरी धमाधम निर्माणको काम गरिरहेको आयोजना प्रमुख पवनकुमार यादवले जानकारी दिए । २० मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजना २०६९ साउनदेखि निर्माण गर्न शुरू गरिएको हो । काम सकेर उत्पादन दिन अझै १ महीना पर्खिनुपर्ने आयोजना प्रमुख यादवले बताए ।

    संरचना निर्माणको मुख्य काम मानिने सुरुङ निर्माण सकिएको छ । पावर हाउससम्म पाइप बिछ्याउन, पावर हाउसको केही फिनिसिङ, टर्र्वाइन जडान र जेनेरेटर जडानको काम बाँकी रहेको यादवले बताए । उनले भने, ‘अझै फिनिसिङ गर्न १ महीना लाग्नेछ ।

    पहिले भारतीय नाकाबन्दी र भूकम्पका कारण निर्माणको काममा ढिलाइ भएको आयोजनाले गत चैतदेखि धमाधम काम गरिरहेको छ ।

    ३ अर्ब ६० करोडको लागत इष्टिमेटमा काम शुरू गरेको आयोजनाले निर्धारित म्यादमा काम नसकेपछि लागत बढ्दै गएको छ । २०६८ साल भदौमा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरीद सम्झौता भएको आयोजनाको निर्माण २०६९ साउनदेखि शुरू भएको हो । आयोजनाले वार्षिक ११ करोड ७० लाख यूनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ ।

    आयोजनाको इञ्जिनीयरिङ लगायत कन्ष्ट्रक्शनको काम मनाङ ट्रेड लिङ्क र साउथ एशियन इन्फास्ट्रक्चरले गरेका छन् । मनाङले ड्यामलगायत आउटलेण्ड र साउथले टनेल, इञ्जिनीयरिङसहित पूर्वाधारको काम गरिरहेको छ । आयोजनामा नेपाल इन्भेष्टमेण्टसहित ११ ओटा वाणिज्य बैङ्क, उद्योगी पशुपति मुरारका, जलस्रोतविज्ञ ज्ञानेन्द्रलाल प्रधानलगायतको लगानी छ । आयोजनामा ७५ प्रतिशत कर्जा र २५ प्रतिशत स्वपूँजी रहेको जानकारी दिएको छ । जिल्लाको कुश्मा नगरपालिका र मोदी गाउँपालिकाको तिलाहार, बाजुङ, देउपुर आयोजनाका प्रभावित क्षेत्र हुन् ।

    स्रोत:अभियान