लोडसेडिङ नहुँदा घट्यो होटेलको खर्च

    2639

    five-stars-hotel

    लोडसेडिङ घटेपछि दैनिक १२ सय लिटर डिजेलको खर्च घटेको छ 

    अच्युत पुरी/नयाँ पत्रिका काठमाडौं, २६ मंसिर

    मुख्य पर्यटकीय सिजनमा विद्युत् आपूर्ति नियमित भएपछि होटेलको सञ्चालन खर्च घटेको छ । होटेल व्यवसायीको छाता संगठन होटेल संघ नेपाल (हान)का अनुसार होटेलको कुल सञ्चालन खर्चमध्ये २५ देखि ३० प्रतिशतसम्म ऊर्जाका लागि हुने गर्छ । लामो लोडसेडिङमा पनि नियमित विद्युत् आपूर्ति गरी सेवा सञ्चालन गर्नुपर्दा होटेलले जेनेरेटर चलाएर विद्युत् आपूर्ति गरिरहेका थिए । लोडसेडिङ घटेपछि इन्धनका लागि गर्नुपर्ने ठूलो खर्च बचत भएको हानका महासचिव विनायक शाहको भनाइ छ ।

    दैनिक १२ सय लिटरसम्म डिजेल बचत

    हानले गरेको प्रारम्भिक सर्भेका अनुसार लोडसेडिङ नभएपछि अहिले होटेल क्षेत्रमा हुने कुल आपूर्तिमध्ये १ हजारदेखि १२ सय लिटर डिजेल बचत भएको छ । डिजेलबाट उत्पादित बिजुली जलविद्युत्को तुलनामा करिब तीन गुणा बढी हुने भएकाले तिहारयता होटेलहरूको सञ्चालन खर्च निकै कम भएको हानका कार्यकारी प्रमुख प्रवेश अर्यालले जानकारी दिए ।

    ठूला होटेलमा ३ हजार लिटरसम्म डिजेल खपत

    नेपालमा अहिले ९ पाँचतारे (१० मध्ये एभरेष्ट बन्द अवस्थामा)सहित १ सय १६ वटा तारेहोटेल सञ्चालनमा छन् । यसबाहेक देशभर पर्यटकीयस्तरका होटेलको संख्या १ हजार हाराहारी रहेको पर्यटन मन्त्रालयको तथ्यांक छ । राजधानीका ठूला होटेलहरूले हिउँदको समयमा हुने लामो लोडसेडिङमा दैनिक ३ हजार लिटरसम्म खपत गरेको तथ्यांक हानसँग छ । ‘अहिले इन्धनका लागि डिजेलमा गर्नुपर्ने ठूलो लगानी जोगिएको छ,’ हानका कार्यकारी प्रवेश अर्यालले भने, ‘जसले गर्दा होटेलको समग्र सञ्चालन खर्च कटौती हुन्छ ।’

    होटेलमा ऊर्जाको ठूलो खपत

    नेपालमा थुप्रै विदेशी चेन होटेल तथा रेस्टुरेन्ट सञ्चालनमा छन् । उनीहरूको सेवा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको हुनुपर्छ । चेन होटेलले अन्तर्राष्ट्रिय स्तरको सेवा दिन सकेनन् भने एकातर्फ होटेलसहित मुलुकको छवि धमिलिन्छ भने अर्कोतर्फ ग्राहकले मुद्दामामिलासमेत गर्न सक्छन् । सोही कारण स्तरअनुसारको सेवा दिन ऊर्जा खपत बढी हुने अर्यालले बताए । ‘एउटा ग्राहकलाई नेपालमा लोडसेडिङ हुन्छ या विद्युत् नियमित आपूर्ति हुन्छ भन्ने कुराले खास फरक पार्दैन,’ उनले भने, ‘पैसा तिरेपछि तोकिएको मापदण्डअनुसार सेवा दिनैपर्छ ।’ होटेलले आफ्ना उपकरण २४सै घन्टा दुरुस्त अवस्थामा राख्नुपर्छ ।

    होटेललाई राहत भएको छ

    विनायक शाह महासचिव, होटेल संघ नेपाल नियमित विद्युत् आपूर्ति हुन थालेपछि होटेल क्षेत्रले राहत महसुस गरेको छ । यसले एकातर्फ होटेलले ऊर्जा आपूर्तिमा गर्नुपर्ने ठूलो रकम बचत गराएको छ भने अर्कोतर्फ पर्यटकमा पनि सकारात्मक सन्देश प्रवाह भएको छ ।

    लोडसेडिङ घटाउन होटेलले सहयोग गर्न सक्छन् : प्राधिकरण 

    लोडसेडिङ घटाउने नेपाल विद्युत् प्राधिकरणको अभियानमा होटेलहरूको सहयोग महत्वपूर्ण हुने प्राधिकरणको भनाइ छ । प्राधिकरणका विद्युत् व्यापार विभाग प्रमुख तथा प्रवक्ता प्रबल अधिकारीका अनुसार राजधानीमा खपत हुने कुल विद्युत्मध्ये एकतिहाइ होटेलहरूमा हुन्छ । ‘होटेलहरूले पिक आवर (बढी विद्युत् खपत हुने समय)मा दैनिक दुई घन्टा विद्युत् आपूर्ति घटाइदिने हो भने प्राधिकरणको यो अभियानलाई ठूलो राहत हुने थियो,’ उनले भने । सबै होटेलले वैकल्पिक ऊर्जाका स्रोत जोहो गरिसकेका कारण सबैभन्दा व्यस्त समयमा विद्युत् खपत घटाइदिएमा लोडसेडिङ अन्त्यको अभियानलाई महत्वपूर्ण सहयोग पुग्ने अधिकारीको भनाइ छ ।

    स्रोत: नयाँपत्रीका