लक्ष्य अनुसार काम भए पाँच वर्षमा बिजुली उत्पादन बढ्ने

    2326

    लोडसेडिङ हट्ने साइत जुराउन चाहिँ ज्योतिषलाई पनि गाह्रो

    Light५ जेठ, काठमाडौं । लोडसेडिङको अवधि घटबढ भैरहेपनि पुरै हट्ने संकेत चाहिँ अझै देखिएको छैन । खोलानाला सुक्ने समय हिउँदमा मात्रै होइन, बाढी र भल बग्ने वर्षायाममा समेत लोडसेडिङ भैरहेको छ । हरेक सरकारले लोडसेडिङ हटाउने योजना र गफ थुप्रै ल्याएपनि अवस्था चाहिँ जिउँका त्यूँ नै छ । पाँच वर्ष, १० वर्ष, २० वर्षसम्म लोडसेडिङ हटाउने भन्ने सबैका आआआफ्नै लक्ष्य छन् । तर लोडसेडिङ कहिलेसम्म अन्त्य भैसक्छ भन्ने विषयमा न प्राधिकरणलाई थाहा छ, न सरकारलाई । भविष्य बताउने ज्योतिषले समेत यसै भन्न नसक्ने अवस्था छ ।

    ५ वर्षभित्र झण्डै ९ सय मेगावाट थपिने

    नेपाल विद्युत्त प्राधिकरणका अनुसार अबको पाँच वर्षभित्र ८ सय ८९ मेगावाट बिजुली थपिनेछ । तीमध्ये ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत्त आयोजनाको काम छिटो सकिने प्राधिकरणको अपेक्षा छ । प्राधिकरणले १४ मेगावाटको कुलेखानी तेस्रो, ६० मेगावाटको माथिल्लो त्रिशुली थ्री ए र ३२ मेगावाटको राहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यस्तै ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी, ४२ मेगावाटको साञ्जेन, १४ मेगावाटको माथिल्लो साञ्जेन, १ सय २ मेगावाटको मध्य भोटेकोसी, १ सय ११ मेगावाटको रसुवागढी र ३० मेगावाटको माथिल्लो त्रिशुली थ्री बी बन्ने तयारीमा छ । अबको पाँच वर्षभित्र नबनेपनि ७ सय मेगावाटको बुढीगण्डकी जलविद्युत्त परियोजना पनि बन्ने तयारीमा छ ।

    कति छ उत्पादन ?

    निजी र विद्युत् प्राधिकरणको जोड्दा अहिले ७ सय मेगावाटको हाराहारीमा विद्युत् उत्पादन भइरहेको छ । यदि बनिरहेका आयोजनाहरु भनेको समयमा पूरा भएमा आउँदो ५ वर्षमा २ हजार ४० मेगावाट विद्युत् उत्पादन हुनेछ । विद्युत्त उत्पादन बढेपनि लोडसेडिङ हट्ने सम्भावना चाहिँ छैन । प्राधिकरणका अनुसार १३ प्रतिशतको दरले विद्युत्का ग्राहक बढिरहेका छन् । यहि तथ्यांकलाई आधार मानेर विद्युत् प्राधिकरणले आउँदो ५ वर्षको हिउँदमा दैनिक ९-१० घण्टाको हाराहारीमा लोडसेडिङ हुने प्रक्षेपण गरेको छ ।

    @ Online Khabar