इन्जिनियरिङ स्टाफ कलेज स्थापना र ऊर्जा दशक घोषणा गर्न इन्जिनियरको माग

    3171

    alternative_energyकाठमाडौ ५ जेठ । नेपाल इञ्जिनियर्स एसोसियसनले इन्जिनियरको पेसागत विकास तथा दक्षता अभिवृद्धिका लागि इन्जिनियरिङ स्टाफ कलेजको अपरिहार्यता रहेको भन्दै त्यसको स्थापनाको लागि आवश्यक स्रोत साधनको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
    इन्जिनियर्स एसोसियसनको १३ औँ राष्ट्रिय सम्मेलनले गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि शैक्षिक संस्थामा भइरहेको राजनीतिकरणको अन्तसहित स्टाफ कलेज स्थापनाको माग गरेको महासचिव अनुराधा शर्मा अधिकारीले बताइन् ।
    गुणस्तरीय इन्जिनियरिङ शिक्षामा हाल विद्यमान बहुकेन्द्रबाट फरकफरक मापदण्डको आधारमा हुने गरेको नियमन परिपाटीको अन्त्य गर्न इन्जिनियरिङ परिषद्को सदस्यता परीक्षा लिएर मात्र प्रदान गर्नुपर्नेसमेत उनले माग गरिन् ।
    सङ्क्रमणकाललाई समृद्ध भविष्यसँग जोड्न इन्जिनियरको दृष्टि र विद्वताको उच्चतम उपयोग विषयमा गत वैशाख १५ देखि १७ गतेसम्म भएको इन्जिनियर्स एसोसियसनको १३ औँ राष्ट्रिय सम्मेलनले पारित गरेको निर्णयबारे जानकारी दिँदै एसोसियसनका अध्यक्ष महेन्द्रबहादुर गुरुङले आउँदो दशकलाई ऊर्जा विकासको दशकका रुपमा घोषणा गर्न सरकारसँग माग गरे।
    सो सम्मेलनले समृद्ध भविष्य निर्माणका लागि ऊर्जा विकास अनिवार्य भएकाले यसलाई अभियानका रुपमा अघि बढाउन विक्रम संवत् २०७० देखि २०८० को दशकलाई ऊर्जा विकासका दशक घोषणा गर्न माग गरेको हो ।
    प्रशासनिक संरचनालाई विकामुखी बनाउन, पूर्वाधार विकासमा जोड दिन, नेपालको आधुनीकिकरणका लागि डिजिटल विकास, सिँचाइ, विपद् व्यवस्थापन तथा अनुसन्धान र विकासजस्ता कुरामा विशेष ध्यान दिनुपर्नेमा सो सम्मेलनले प्रस्ताव पारित गरेको छ ।
    साथै ज्ञान र प्रविधिको क्षेत्रमा भएको द्रुततर विकासको सन्दर्भमा देशको विकासको लागि इन्जिनियरको दुरदृष्टि, ज्ञान, सीप र क्षमतायुक्त विद्वतालाई पूर्ण उपयोग गर्न पनि आवश्यक रहेको एसोसियसनका अध्यक्ष महेन्द्र गुरुङले बताए ।

    प्रस्तुति: कारोबर