मिदिमखोला जलविद्युत् परीक्षण

    1160

    भाद्र ३०, २०७४-मध्यनेपाल नगरपालिकाको करापुमा ३ मेगावाटको मिदिमखोला जलविद्युत् आयोजनाको निर्माण पूरा भएको छ । आयोजनाले बाँध, टनेल र पेनस्टकको परीक्षण थालेको हो ।

    युनियन हाइड्रोपावरले ०७२ वैशाखदेखि उक्त आयोजनाको निर्माण थालेको थियो । तोकिएको समयभन्दा निर्माणको काम करिब ६ महिना ढिला सकिएको छ । आयोजनाका प्रमुख इन्जिनियर दीपबहादुर सिंहले सबै काम पूरा भएको बताए । ‘टनेल, पेनस्टकको परीक्षण थालेका छौं । नतिजा राम्रो आइरहेकाले हामी एक सातामा टर्बाइन घुमाएर परीक्षण गर्छौं,’ उनले भने । दसैंलगत्तै राष्ट्रिय प्रसारण लाइनमा जोडिने गरी विद्युत् उत्पादन तयारी गरिएको उनले बताए । सबै परीक्षणपछि नेपाल विद्युत् प्राधिकरणका प्राविधिक बोलाएर प्रसारण लाइनमा जडान गरिने उनले बताए । ‘परीक्षणकै समय करिब २ साता प्राधिकरणलाई विद्युत् नि:शुल्क दिनुपर्छ । सीओडी (व्यावसायिक उत्पादन मिति) त्यही बेला तय हुन्छ,’ उनले भने । उत्पादित विद्युत्लाई प्राधिकरणको भोर्लेटारमा निर्माणाधीन सबस्टेसनमा जोड्नुपर्छ ।

    प्राधिकरणले ढिलाइ गरेकाले उत्पादित विद्युत् ३३ केभीएको भोर्लेटार–दमौली प्रसारण लाइनमा जडान गर्ने तयारी गरिएको छ । विद्युत्गृहबाट भोर्लेटारसम्मको साढे ८ किलोमिटर प्रसारण लाइन आयोजनाले नै बनाएको हो । तार टाँग्न २ किलोमिटर मात्रै बाँकी छ । १ साताभित्र उक्त काम सक्ने आयोजनाका जनसम्पर्क अधिकृत राजेन्द्र अधिकारीले बताए ।