माथिल्लो मादी राष्ट्रिय प्रसारण लाइनमा

    2314

    विदेशी लगानीकर्ताले स्वदेशी मुद्रामा पिपिए गरी निर्माण गरिएको नमुना आयोजना 

    रोहितराज पराजुली/नयाँ पत्रिका

    सिल्दुजुरे (कास्की), १६ पुस चिनियाँ र नेपालीको लगानीमा निर्माण भएको २५ मेगावाटको माथिल्लो मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । कास्कीको सिल्दुजुरे गाविसमा निर्माण भएको आयोजनाको शुक्रबार ऊर्जामन्त्री जनार्दन शर्माले उद्घाटन गरेका छन् । आयोजनाको विद्युत् लेखनाथ सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।

    आयोजनाले १० पुसदेखि परीक्षण उत्पादन गरिरहेको छ । १५ दिनसम्म सफलतापूर्वक परीक्षण भएपछि मात्रै आयोजनाको व्यापारिक उत्पादन (सिओडी) सुरु हुनेछ । आयोजनाबाट उत्पादित बिजुलीको मूल्य नेपाल विद्युत् प्राधिकरणले तिर्न सुरु गर्नेछ । २५ मेगावाटको आयोजनाले करिब १३ मेगावाट उत्पादन गरिरहेको छ ।

    विदेशी लगानी तर स्वदेशी मुद्रमा पिपिए

    ८० प्रतिशत चिनियाँ कम्पनी चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन (थ्री गर्जेजको सहायक कम्पनी)को रहे पनि आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) नेपाली रुपैयाँमा गरिएको छ ।

    आयोजनामा नेपाली लगानीकर्ताको २० प्रतिशत लगानी छ । विदेशी लगानीकर्ताले स्वदेशी मुद्रामा पिपिए गरी निर्माण गरिएको नमुना आयोजना हो । आयोजनाको पिपिए दर दुईवटा रहेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए । उनका अनुसार, प्राधिकरणले २० मेगावाट हिउँद र बर्खामा प्रतियुनिट क्रमशः ७ र ४ रुपैयाँमा किन्नेछ ।

    पाँच मेगावाट हिउँद र बर्खामा प्रतियुनिट क्रमशः ८ रुपैयाँ ४० पैसा र ४ रुपैयाँ ८० पैसामा किन्ने प्राधिकरण र आयोजनाबीच विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) भएको छ । आयोजनाले २० मेगावाटका लागि पनि ५ मेगावाटकै दर दिन सरकार र प्राधिकरणसँग माग गर्दै आएको छ ।

    लागत प्रतिमेगावाट ३२ करोड

    बाढीपहिरो, भारतीय नाकाबन्दी, डिजाइन परिवर्तन, अमेरिकी डलरको मूल्य वृद्धिलगायतले आयोजनाको लागत प्रतिमेगावाट ३२ करोड रुपैया“ परेको छ । आयोजना निर्माण करिब ८ अर्ब रुपैया“मा सकिएको छ । पिपिएअनुसार, आयोजनाले २० मेगावाट साउन ०७१ बाटै विद्युत् उत्पादन सुरु गर्नुपर्ने थियो ।

    तर, पहिरो, भूकम्प र नाकाबन्दीले निर्धारित समयमा काम सम्पन्न नभएको आयोजनाले जनाएको छ । ५ मेगावाटको विद्युत् उत्पादन मिति ०७६ रहेको छ । आयोजना निर्माणका क्रममा ०७० भदौमा पहिरो जाँदा एक मजदुरको मृत्यु भएको थियो । १३ वैशाख ०७१ मा पुनः सोही स्थानमा माथिबाट आएको पहिरोले १६ मजदुर सुरुङभित्र थुनिएका थिए । त्यसमध्ये १३ जनाको १५ घन्टापछि सकुशल उद्धार गरिएको थियो भने ३ जनाको मृत्यु भएको थियो ।

    त्यसपछि २१ असार ०७१ मा निमार्णाधीन सुरुङमाथिबाट आएको ढिस्कोले पुर्दा ८ मजदुर घाइते भएका थिए । लगातार माथिबाट पहिरो आएपछि खनिएको करिब १ सय ३५ मिटर लामो सुरुङलाई रद्द गरी करिब ५ सय मिटर तल सारेर पुनः खन्नु परेकाले पनि समय बढेको मादी पावरका अध्यक्ष विजयबाबु मल्लले बताए ।

    उद्घाटन कार्यक्रममा कांग्रेस सांसद यज्ञबहादुर थापाले वर्तमान सरकारमा ऊर्जा मन्त्रालयको काम सबैभन्दा प्रभावकारी देखिएको भन्दै निजी क्षेत्रको लगानी प्रोत्साहित हुने गरी काम गर्न सुझाब दिए । एमाले सांसद एवं विकास समितिका सभापति रवीन्द्र अधिकारीले ४ नम्बर प्रदेशमा सञ्चालित जलविद्युत् आयोजनाले मुलुकमा ५३ प्रतिशत विद्युत् आपूर्ति गरेको भन्दै यस प्रदेशलाई अँध्यारोमुक्त बनाउन माग गरे ।

    उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले ऊर्जा क्षेत्रमा लगानी गर्न निजी क्षेत्र तयार रहेकाले यसमा प्रोत्साहन आवश्यक भएकामा जोड दिए ।

    उज्यालो बनाउने अभियानमा अवरोध : ऊर्जामन्त्री लोडसेडिङ सधैँका लागि अन्त्य गरी मुलुकलाई उज्यालो बनाउने अभियानमा सरकार लागेको ऊर्जामन्त्री जनार्दन शर्माले जानकारी दिए । उनले भने, ‘उज्यालो नेपाल बनाउने अभियानमा विभिन्न तत्व निरन्तर बाधा हालिरहेका छन् । मन्त्री भएदेखि अहिलेसम्म अदालतमा ५ वटा मुद्दाको सामना गरिरहेको छु । यसले अभियानमा बाधा खडा गरिरहेको छ । काम गर्न नदिएर हैरान पार्ने गरिएको छ । तर, म निरास भएको छैन । उज्यालो नेपाल र समृद्ध नेपालका लागि जस्तोसुकै चुनौती सामना गर्न तयार छु ।’ मन्त्री शर्माले जलस्रोतको समुचित प्रयोग गरी विद्युत् उत्पादन र औद्योगिकीकरणमार्फत खपत हुने वातावरण बनाइनुपर्नेमा जोड दिए ।

    स्रोत:नयाँपत्रीका