माथिल्लो तामाकोसीको ७६ मेगावाट डेढ वर्षभित्रै

    2328

    ऊर्जामन्त्रीको निर्देशनपछि डेढ वर्षभित्र उत्पादन सुरु गर्ने गरी आयोजना, परामर्शदाता र ठेकेदारले संशोधित तालिका बनाए

    नयाँ पत्रिका काठमाडौं, ७ पुस

    माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट ७६ मेगावाट बिजुली (पहिलो युनिट) डेढ वर्षभित्र उत्पादन हुने भएको छ । आयोजना, निर्माण सुपरीवेक्षण परामर्शदाता र मुख्य लटका ठेकेदारले ३ तथा ४ पुसमा छलफल गरी ४ सय ५६ मेगावाटमध्ये पहिलो युनिटको बिजुली ३१ असार ०७५ बाट उत्पादन सुरु गर्ने संशोधित समयतालिका तय गरेका हुन् । संसोधित तालिकाअनुसार आयोजनाका सबै ६ वटा युनिट (४ सय ५६ मेगावाट)बाट २६ मंसिर ०७५ बाट बिजुली उत्पादन सुरु हुनेछ ।

    निर्माण सुरु गर्दा १० पुस ०७२ मा ३ सय ९ मेगावाट र ३० असार ०७३ मा ४ सय ५६ मेगावाट विजुली उत्पादनको लक्ष्य राखिएको थियो । वैशाख ०७२ को भूकम्प, भारतीय नाकाबन्दी र बाढीपहिरोले निर्माण प्रभावित भएको थियो । त्यसपछि योजनाको निर्माण असार ०७५ भित्र सम्पन्न गरी ४ सय ५६ मेगावाट नै बिजुली उत्पादन सुरु गर्ने प्रक्षेपण गरिएको थियो । ४ सय ५६ मेगावाटको आयोजनामा ६ वटा युनिट छन् । प्रत्येकबाट ७६-७६ मेगावाट बिजुली उत्पादन हुन्छ ।

    गत शनिबार आयोजनास्थलको निरीक्षणमा गएका ऊर्जामन्त्री जनार्दन शर्मालाई आयोजना, परामर्शदाता र ठेकेदारहरूले निर्माण सकिने समय फरक–फरक बताएका थिए । जुनसुकै अवस्थामा पनि डेढ वर्षभित्र बिजुली उत्पादन सुरु गर्ने गरी सबै पक्ष बसेर एकीकृत तालिका पठाउन निर्देशन दिई मन्त्री शर्मा काठमाडौं फर्किएका थिए ।

    आयोजनाले बुधबार एकीकृत तालिका बुझाएको शर्माले जानकारी दिए । ‘१६ असार ०७५ मा सुरुङमा पानी हाल्न सुरु गर्ने, ३१ असारमा पहिलो युनिटबाट बिजुली उत्पादन सुरु गरी २६ मंसिर ०७५ भित्र सबै काम सक्ने लक्ष्यसहितको नया“ तालिका आयोजनाले पठाएको छ,’ उनले भने, ‘यसबीचमा कुनै समस्या आएर तालिका प्रभावित हुने अवस्था आएमा त्यसलाई समाधान गर्न आवश्यक सहयोग र समन्वय गर्न हामी क्रियाशील रहनेछौँ ।’

    आयोजनाले बाँध, मुख्य सुरुङ, भूमिगत विद्युत्गृहलगायतको सिभिल काम गरिरहेको चिनियाँ ठेकेदार सिनो हाइड्रोलाई विस्तृत कार्यतालिका पेस गर्न आग्रह गरेको छ । कम्पनीले पेस गरेको कार्यतालिकालाई माघको दोस्रो हप्ताभित्र अन्तिम रूप दिने सहमति भएको आयोजनाले जनाएको छ ।

    समन्वयका लागि दैनिक बैठक

    सिभिल र हाइड्रोमेकानिकलका कामबीच समन्वय कायम गर्न दैनिक संयुक्त बैठक बस्ने सहमति भएको छ । आयोजनास्थलमै परामर्शदाताको उपस्थितिमा सिभिल र हाइड्रोमेकानिकलका ठेकेदार दैनिक बिहान साढे ८ बजे बैठक बस्नेछन् । आयोजनाका काम तोकिएकै समयमा सक्न दुई ठेकेदारबीच समन्वय चाहिन्छ । बाँध, मुहान (इन्टेक), बालुवा थिग्रायाउने पोखरी (डिस्यान्डर)मा गेट, पेन स्टक पाइपलगायतको डिजाइन, परीक्षण र कमिसनिङको काम हाइड्रोमेकानिकलमा पर्छ । यसकै कारण निर्माण प्रभावित हुने देखिएको छ । यसको ठेकेदार भारतीय कम्पनी टेक्स्म्याको रेल एन्ड इन्जिनियरिङ हो ।

    प्रसारण लाइन समस्या

    संशोधित तालिकाअनुसार निर्माण भएर प्रसारण लाइन बन्न नसकेमा आयोजनाको बिजुली खेर जान सक्ने देखिएको छ । आयोजनाका अनुसार असार ०७५ भित्र खिम्ती–ढल्केवर २२० केभी प्रसारण लाइन र ढल्केवरमा २२० केभीको सबस्टेसन निर्माण भइसक्नुपर्नेछ । सबस्टेसन निर्माण अहिले अन्तिम चरणमा पुगेको छ । ‘४ सय ५६ मेगावाट नै २६ मंसिर ०७५ बाट उत्पादन सुरु गर्ने अवस्थामा सबै बिजुली आन्तरिक ग्रिडमा खपत हुन प्रस्तावित ढल्केवर हेटौँडा, ढल्केवर दुहबी प्रसारण लाइन र त्यससँग आबद्ध सबस्टेसनको निर्माण भइसक्नुपर्ने देखिन्छ,’ आयोजनाले ऊर्जा मन्त्रालयमा पेस गरेको विवरणमा उल्लेख छ ।

    आयोजनास्थल दोलखाको गोंगरदेखि रामेछापको खिम्तीसम्म ४७ किलोमिटर प्रसारण लाइन आयोजनाले नै बनाइरहेको छ । खिम्तीमा सबस्टेसन बनाउनुपर्नेछ । तर, सम्झौताअनुसार नेपाल विद्युत् प्राधिकरणले जग्गा उपलब्ध गराएको छैन । जग्गा उपलब्ध नभएपछि सबस्टेसनमा उपकरण जडान अहिलेलाई स्थगन गरिएको आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिए । ‘बिजुली उत्पादनलाई असर नपार्ने गरी आयोजनाबाट निर्माण गरिने प्रसारण लाइनलाई खिम्ती–ढल्केवरमा जोडेर ढल्केवर सबस्टेसनसम्म प्रसारण गर्ने लक्ष्य लिइएको छ,’ उनले भने ।

    स्रोत:नयाँपत्रीका