माथिल्लो तामाकोशीको सेयर दसैंपछि बाँडफाँट

    1356

    दोलखा : माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सेयर दसैंपछि बाँडफाँड हुने भएको छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको सेयर बाँडफाँड दसैंपछि गरिने आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए।

    जिल्लावासीका लागि जारी भएको सेयर भदौ २१ गतेमात्र सकिएको थियो। सेयरका लागि तीन गुणाभन्दा बढीको आवेदन परेको छ। सो आयोजनाको साधारण सेयर कात्तिक अन्तिम साता आउने न्यौपानेले बताए।

    प्रवद्र्धक माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि चुक्तापूँजीको १५ प्रतिशत अर्थात् एक अर्ब ५८ करोड ८५ लाख बराबरको एक करोड ५८ लाख ८५ हजार कित्ता सेयर निष्काशन गर्नेछ। स्थानीयवासीका लागि कम्पनीले  एक अर्ब पाँच करोड ९० लाख बराबरको एक करोड पाँच लाख ९० हजार कित्ता सेयर निष्कासन गरेको हो। करिब तीन अर्ब बराबरको आवेदन परेको छ।

    प्रवक्ता न्यौपानेका अनुसार दुई लाख १५ हजार दोलखावासीले आवेदन दिएका छन्। दुई लाख ८२ हजारले आवेदन दिन पाउने भए पनि ७५ प्रतिशतले मात्र आवेदन परेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १० प्रतिशत सेयर निष्कासन गरेको छ। स्थानीयवासीले न्यूनतम ३० देखि अधिकतम ३०० कित्तासम्म सेयरका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।
    रासस