माथिल्लो मर्स्याङ्दी–ए जलविद्युत् परीक्षण उत्पादन शुरू

    2549

    उत्तरी लमजुङको भुलभुलेस्थित ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ए जलविद्युत् आयोजनाले परीक्षण उत्पादन शुरू गरेको छ । नेपाल विद्युत् प्राधिकरणका प्राविधिकसहितको टोलीले मङ्गलवार विद्युत्गृहको दुईओटै टर्वाइनबाट परीक्षण उत्पादन शुरू गरेको आयोजनाका जनसम्पर्क अधिकृत कर्ण अधिकारीले बताए ।

    आयोजनाअन्तर्गत विभिन्न भागको परीक्षण गत सातादेखि नै शुरू भएको थियो । अधिकारीका अनुसार आयोजनास्थल भुलभुलेको ११ केभी प्रसारणलाइनबाट मध्य मर्स्याङ्दी ११ केभी प्रसारण लाइनमा मङ्गलवार एकसाथ परीक्षण गरिएको छ । उनले हालसम्म सुरुङ, विद्युत्गृहलगायत बाँधक्षेत्रको परीक्षण सकिएको जानकारी दिए ।

    प्राधिकरणका प्राविधिकहरूको विशेष उपस्थितिमा चार्ज चेकसमेत गरिएको र प्राधिकरणले अनुमति दिएमा यसै सातादेखि विद्युत् उत्पादन थालिने अधिकारीले बताए । उनले भने, ‘आयोजनामा जडान गरिएको दुईओटै टर्वाइनको परीक्षण भएको छ, व्यावसायिक उत्पादन शुरू भएपछि मात्रै कुन टर्वाइनबाट कति विद्युत् उत्पादन भयो भनेर भन्न सकिन्छ ।’ दुईओटै टर्वाइन २५/२५ मेगावाट क्षमताको रहेको छ । कार्यतालिकामा कुनै परिवर्तन नभए असोज १० गते आयोजनाको औपचारिक उद्घाटनको तयारी गरिएको छ ।

    गत वैशाखमा निर्माण कार्य सक्ने लक्ष्य राखिए पनि गोरखा भूकम्प र भारतीय नाकाबन्दीका कारण आयोजनाको निर्माण ६ महीना पर धकेलिएको थियो । आयोजनाले असोज दोस्रो सातासम्ममा विद्युत् उत्पादनको लक्ष्य लिएको थियो । चीनको सिनो हाइड्रो र नेपालको सगरमाथा पावर कम्पनीको संयुक्त लगानीमा निर्माण भएको आयोजनाले निर्धारित समयमै विद्युत् उत्पादन गर्ने निश्चितप्रायः देखिएको छ ।

    आयोजनामा सिनो हाइड्रोको ९० र सगरमाथा पावर कम्पनीको १० प्रतिशत लगानी रहेको छ । आयोजना सम्पन्न भएसँगै लोडशेडिङको समय केही घट्ने अनुमान गरिएको छ । आयोजना रन अफ द रिभर प्रविधिमा बनेको छ । आयोजना निर्माणका लागि करीब १२ अर्ब रुपैयाँ खर्च अनुमान गरिए पनि नाकाबन्दी तथा विभिन्न आन्दोलनका कारण २ अर्ब बढेर १४ अर्ब रुपैयाँ खर्च भएको आयोजनाले बताएको छ ।

    स्रोत : अभियान