पहिरोले अरुण तेस्रोको बाँधस्थलमा करोडौँको क्षति

1485

 असार ४, २०७६

अविरल वर्षासँगै गएको पहिरो र बाढीले मकालु गाउँपालिका– ३ स्थित निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको बाँधस्थलमा ठूलो क्षति पुर्‍याएको छ । डिएसपी मीमबहादुर लामाका अनुसार दुईवटा स्काभेटर, एक थान बुमर मेसिन, लोडर, ट्याक्टर र कम्प्रेसर मेसिन पुरिएका छन् ।

त्यसैगरी कंक्रिट, डिजी जेनेरेटर, एक सय ५० टन रड, ४० ड्रम केमिकल, पाँचवटा वेल्डिङ मेसिन, रड बंग्याउने मेसिन, ड्रिलिङ मेसिन, मिलर मेसिन, एक सय ३० थान सेटिङ प्लेट, रड काट्ने मेसिन, कम्प्रेसन मेसिन पनि पहिरोले पुरिएका छन् । पहिरोले ट्रक, पाँचवटा वाटरपम्प, भल्भो मेसिन, गिटी फुटाउने मेसिन, मिक्स्चर मेसिन पनि पुरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

अरुण नदीमा आएको बाढीले खाँदबारी नगरपालिका– १० चेवाबेँसीस्थित निर्माणाधीन कात्तिके घाट पक्की पुलका निर्माण सामग्री पनि बगाएको छ । निर्माण कम्पनी हिराचन रुविना जेभीका अनुसार रड, मिक्स्चर मेसिन, पानी तान्ने मेसिन, गिटी, बालुवा, सिमेन्ट बगाएको छ । त्यस्तै फ्याक्सिन्दाको पारिपट्टि खाँदबारी–किमाथांका सडकखण्डमा सञ्चालनमा रहेको रौता कन्स्ट्रक्सनको स्काभेटर पनि सडकबाट करिब ३० मिटर तल झरेर अड्किएको छ ।

 

स्रोत:नयाँपत्रीका