मध्य मर्स्याङ्दी जलविद्युत्मा गम्भीर समस्या

    3787

    निर्माण सम्पन्न भएको दशक नबित्दै यहाँस्थित ७० मेगावाटको मध्यमस्र्याङदी जलविद्युत् परियोजनामा गम्भीर समस्या देखिन थालेको छ ।

    नदीको बहावमा आधारित (रन अफ रिभर) यस आयोजनाको सिभिल तथा मेकानिकल संरचनामा गम्भीर समस्या देखिएको जलविद्युत् केन्द्र स्रोतले बताएको छ । सुरुका दिनदेखि समस्या देखिएपछि वर्षैपिच्छे यसको मर्मत हुँदै आएको छ । आयोजना निर्माण भएको ७ वर्षमै सिभिल संरचनातर्फको ड्याममा २ पटक बृहत् मर्मत गरिएको छ ।

    मेकानिकलतर्फ २ वटा टर्बाइनको २ वर्षमा पालैपालो ‘पार्टस’ हरू फेर्नुका साथै बृहत् मर्मत गर्ने गरिएको छ । ड्यामसाइडमा गत वर्ष बृहत् मर्मत गरिएको थियो । केन्द्रप्रमुख राजेशकुमार पाण्डेयका अनुसार गत वर्ष मर्मत गरिएको ड्याममा अहिले फेरि समस्या आएको छ ।

    ‘हरेक वर्षायाममा नदीले बगाएर ल्याउने बालुवा र दायाँबायाँको पहिराले ड्याममा धक्का पुगेको छ,’ उनले भने, ‘विद्युत् प्राधिकरणसँग यसपटक पुन: ड्यामको मर्मतका लागि समय माग गरेको छु, लोडसेडिङका कारण समय मिल्दैन भनेको छ ।’ उनका अनुसार गत वर्ष २५ दिन मर्मतका लागि प्रस्ताव गरेकामा १० दिन समय दिएकाले पनि हतारहतारमा काम गर्नुपरेको थियो ।

    ‘यसपटक मर्मत गर्दा २ करोड रुपैयाँ लाग्ने देखिन्छ । मर्मत नगर्दा के–के समस्या आइपर्छन्, यसै भन्न सकिँदैन,’ उनले भने । ड्यामको मर्मत गरिए झन्डै १ महिना पूरै विद्युत् उत्पादन बन्द गर्नुपर्ने उनले बताए ।

    मनसुनका समय नदीमा आउने अत्यधिक बालुवा र बालुवाको कणका कारण विद्युत्को टर्बाइनमा पनि धक्का पुगेको उनले बताए । ‘अन्य आयोजनाको ३/४ वर्षमा एकपटक मर्मत गरे हुने रहेछ । हाम्रोमा २ वर्षमा एउटाको पार्टस नै फेर्नुपर्छ । ६/६ महिनामा केही भयो कि भनेर हेर्छौं,’ उनले भने ।

    यसपटक टर्बाइनको युनिट नं. २ बृहत् मर्मत गरिएको उनले बताए । ‘मर्मतकार्य अन्तिम चरणमा छ । अब छिट्टै विद्युत् उत्पादन गर्छौं,’ उनले भने, ‘टर्बाइनको युनिट नं. १ बाट विद्युत् उत्पादन भइरहेको छ ।

    युनिट २ घुमेपछि गत वर्ष बृहत् मर्मत गरिएको युनिट १ हेर्छौं ।’ मध्यमर्स्याङ्दीको समस्याबारे हरेक वर्ष नेपाल विद्युत् प्राधिकरणमा जानकारी गराउने गरेको उनले बताए । इलेक्ट्रिकल इन्जिनियर गोपाल यादवले जेनेरेटर लगायतमा समस्या नरहेको बताए ।

    परियोजना निर्माणका बेला राम्रोसँग ‘मोडलिङ’ नहुँदा सुरुवाती समयदेखि नै समस्या आएको जलविद्युत् केन्द्रका इन्जिनियरहरू बताउँछन् । समस्याको समाधान हुन सकेको छैन । गत वर्ष तत्कालीन ऊर्जामन्त्री राधा ज्ञवालीलाई परियोजना निरीक्षणको बेला मौखिकसहित लिखित जानकारी गराएका थिए ।

    ‘मन्त्रीज्यूलाई सबै समस्या भनियो । उहाँले विज्ञ सहितको टोली गठन गर्ने आश्वासन पनि दिनुभएकै हो । तर, कुरो कहाँ पुग्यो थाह छैन,’ उनले भने । केन्द्रले विद्युत् प्राधिकरण र तत्कालीन मन्त्रीलाई बुझाएको पत्रमा मनसुनको समय डयाम साइटमा बालुवा र कणहरू अत्यधिक थुप्रिने र यसले बर्सेनि मेकानिकल र सिभिल संरचनामा क्षय हुने गरेको उल्लेख छ ।

    बर्सेनि मर्मत कार्य गर्नुपरेकाले मर्मतको कार्यभार उच्च वृद्धि क्रममा रहेको पत्रमा उल्लेख छ । अत्यधिक क्षयका कारण हरेक वर्ष अनिवार्य रूपमा ड्यामको ‘स्पिल गेट’ अर्थात पानी फाल्ने ढोका र तलको कंक्रिट रहेको ठाउँँको मर्मत गर्नुपर्ने, २ वटा टर्बाइनमध्ये कुनै एउटाको बर्सेनि पूर्ण रूपमा मर्मत गरी रनर फेर्नुपर्ने समस्या रहेको उल्लेख छ ।

    ड्याम साइटका विभिन्न पर्खाल जीर्ण अवस्थामा रहेको, प्लान्ट सञ्चालनको तेस्रो वर्षदेखि नै संरचनाको ठाउँठाउँमा क्षति पुगेका कारण सिभिल संरचनामा पानीभित्र फलामका डन्डीहरू देखिएको, उक्त क्षेत्रमा अत्यधिक बालुवा र कणका कारण जोगाउन खोज्दा पनि नसकेको उल्लेख छ ।

    सिभिल संरचना बिग्रिन थालेपछि ‘डाउनस्ट्रिम को बुकेट’ क्षेत्रमा जम्मा हुन आउने अत्यधिक ‘सिपेज वाटर’ लाई पानीको मूललाई तार्ने प्रयास गर्दा पनि समस्याको समाधान हुन नसकेको केन्द्र स्रोतले बताएको छ ।

    अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनेको भनिएको मध्यमस्र्याङदीमा समस्या देखिएपछि जर्मन सरकारको बैंक केएफडब्लूको आर्थिक सहयोगमा जर्मनी विज्ञ सहितको टोलीले अध्ययन गरिरहेको छ । आयोजना दातृ निकाय केएफडब्लूकै आर्थिक सहयोगमा निर्माण भएको हो ।

    विज्ञ टोलीले जलविद्युत् केन्द्रमा जडित टर्बाइनसहित सिभिल र मेकानिकल संरचनाको अध्ययन गरेको केन्द्रप्रमुख पाण्डेयले बताए । ‘उनीहरू आफैं आउँछन् । हेर्छन् । इमेलबाट फाइल माग्दै गर्छन्,’ उनले भने, ‘समस्याको समाधान गर्न के प्रयत्न भइरहेको छ, थाह छैन ।’ नेपाल विद्युत् प्राधिकरणलाई यसबारे जानकारी हुन सक्ने उनले बताए ।

    उदिपुरको दलालमा ड्याम र भोटेओडारको सिउँडीबारमा विद्युतगृह रहेको यस परियोजना कुल १३ अर्ब रुपैयाँको लगानीमा ४ वर्षमा निर्माण सक्ने योजना थियो । २०५८ सालदेखि निर्माण थालिएको परियोजना दोब्बर समय २०६५ मा पूरा भएको थियो । निर्माणको क्रममा दोब्बर बढी २९ अर्ब रुपैयाँ खर्च भइसकेको छ ।

    अहिले आएर बर्सेनि करोडौं रुपैयाँ मर्मतका लागि खर्च गरिँदै आएको छ ।

    स्रोत  : कान्तिपुर