बुढीगण्डकी प्रोकमा सिद्धार्थ क्यापिटलले लगानी अगुवाइ गर्ने

    1089

    बुढीगण्डकी प्रोक जलविद्युत् कम्पनीमा सिद्धार्थ बैंकको सहायक कम्पनी सिद्धार्थ क्यापिटलले लगानी गर्ने भएको छ । सो जलविद्युत्को अध्ययन तथा निर्माणको लाइसेन्स नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको चिलिमे जलविद्युत् कम्पनीले पाएको थियो । कुल ४ सय २० मेगावाट क्षमताको सो आयोजना निर्माण गर्न सिद्धार्थ क्यापिटलले पुँजी लगानी गर्ने भएको हो ।

    बुढीगण्डकी प्रोकमा लगानी गर्न चिलिमे र सिद्धार्थ बैंकका व्यवस्थापकबीच छलफल अगाडि बढिसकेको चिलिमेका प्रमुख कार्यकारी अधिकृत दामोदर भक्त श्रेष्ठले बताए । चिलिमेले यसअघि सिद्धार्थ क्यापिटललाई कम्पनीको सेयर खरिद–बिक्री गर्न सेयर रजिस्टार (आरटिएस) तोकेको थियो । ‘धेरै समयदेखि सिद्धार्थ बैंकले चिलिमेका आयोजनामा लगानी गर्ने इच्छा देखाएको थियो,’ श्रेष्ठले भने, ‘उसले एकल र विभिन्न अन्य बैंक तथा लगानीकर्ता कम्पनीहरूको अगुवाइ गरेर लागनी गर्छु भन्ने प्रस्ताव गरेको छ ।’

    चिलिमेले गत महिना अध्ययन गर्ने लाइसेन्स प्राप्त गर्नेबित्तिकै आयोजनाको फिजिबिलिटी अध्ययन गर्ने काम सुरु गरिसकेको छ । कम्पनीले फिजिबिलिटी अध्ययनका काम एक वर्षभित्र सकाउने र लगत्तै विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)को काममा अगाडि बढ्ने योजना रहेको श्रेष्ठले जानकारी दिए ।

    कुल ४० अर्ब रुपैयाँ लगानी अनुमान गरिएको यो आयोजनामा चिलिमेको ५१ प्रतिशत सेयर रहनेछ भने बाँकी लगानी सर्वसाधारण र अन्य लागनीकर्ताबाट उठाइने उनले बताए । २ वर्षपछि आयोजना निर्माणको सुरुवात गर्ने लक्ष्य राखेको कम्पनीले प्रोकमा १२ अर्ब चिलिमेकै खाताबाट लगानी गर्ने भएको छ । बाँकी २८ अर्ब रुपैयाँ भने सिद्धार्थ क्यापिटलको अगुवाइमा अन्य बैंकहरू, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष तथा जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड तथा सर्वसाधारणको सेयरमार्फत लगानी जुटाउने योजना रहेको श्रेष्ठले बताए ।

    यसअघि असोजमा चिलिमेले ५ सय ८५ मेगावाट क्षमताका दुईवटा अयोजनाको अनुमतिपत्र (लाइसेन्स) पाइसकेको छ । विद्युत् विकास विभागले गोरखामा रहेको ४ सय २० मेगावाट क्षमताको बुढीगण्डकी प्रोकसँगै बझाङको सेती नदी तेस्रो १ सय ६५ मेगावाट क्षमताको अध्ययन अनुमति पनि चिलिमेलाई दिएको छ । निर्माणाधीन आयोजना निर्माणको अन्तिम चरणमा पुग्न लागेको बताउँदै उनले भने, ‘नयाँ आयोजनाको समेत अध्ययन अनुमतिपत्र पाएपछि कम्पनीको बजार मूल्य बढ्छ र सेयर बजारमा समेत सकारात्मक प्रभाव पर्छ ।’ यी दुवै आयोजना दुई वर्षभित्र अध्ययन सकेर निर्माण सुरु गर्ने कम्पनीको लक्ष्य छ । चिलिमेले ती आयोजनाका निर्माण गर्न फरक–फरक कम्पनी स्थापना गर्ने जनाएको छ ।

    कम्पनीले हाल रसुवागढी, माथिल्लो सान्जेन, सान्जेन, मध्यभोटेकोसी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । ती आयोजना सन् २०१८ को डिसेम्बरसम्ममा निर्माण सकिनेछन् । रसुवागढी १ सय ११ मेगावाट, मध्यभोटेकोसी १ सय २ मेगावाट, माथिल्लो सान्जेन १४.८ मेगावाट र सान्जेन ४२ मेगावाट क्षमताका आयोजना हुन् । कम्पनीले निर्माण गरिरहेका र अध्ययन अनुमतिपत्र पाएका आयोजनाको कुल क्षमता ८ सय ५५ मेगावाट हुनेछ ।

    बुढीगण्डकी प्रोकको लागत ४० अर्ब र सेतीको २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । ती आयोजनामा नेपाल विद्युत् प्राधिकरण, चिलिमे कम्पनी, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, बिमा संस्थान र अन्य विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने र सम्बन्धित जिल्ला र गाउँपालिका तथा प्रभावित क्षेत्रका नागरिकले समेत लगानी गर्ने गरी निर्माण हुनेछन् ।

    उमेश पौडेल/नयाँ पत्रिका