बिन्ध्यवासिनी १४ मेवाका दुई आयोजना निर्माण गर्दै

    2415

    फागुन १०, काठमाडौं । बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी प्रालिले १४ मेगावाटको आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले ६ दशमलव ८ मेगावाटको रुदी ‘ए’ र ७ दशमलव १ मेगावाटको रुदी ‘बी’ जलविद्युत् आयोजना निर्माण गर्न लागेको हो । दुवै आयोजना २०७३ साउनभित्र निर्माण गरिसक्ने कम्पनीका कार्यकारी अध्यक्ष कृष्ण आचार्यले अभियानलाई बताए । उनले भने, ‘विभिन्न समूहको थोरैथोरै लगानी सङ्कलन गरी हामी आयोजना निर्माण गर्दै छौं ।’

    स्रोतका अनुसार आयोजनामा ११ समूहले लागानी गर्ने भएका छन् । ससाना समूहको लगानीमा आयोजना निर्माण गर्न लागिएको यो पहिलोपटक भएको आचार्यले दाबी गरे । समूहमा पूर्व प्रशासक, डाक्टर, इञ्जिनीयर, समाजसेवीलगायतका व्यक्ति छन् । रुदी ‘ए’ आयोजनाको भौतिक पूर्वाधार निर्माणको काम अघि बढिसकेको पनि आचार्यले जानकारी दिए ।

    कम्पनीले नेपाल विद्युत् प्राधिकरणसँग माघ २८ गते विद्युत् खरीद सम्झौता (पीपीए) गरिसकेको छ । प्राधिकरण र कम्पनीबीच वर्षात्को समयमा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र हिउँदको समयमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसामा खरीद गर्ने गरी पीपीए भएको प्राधिकरण व्यापार विभागका एक कर्मचारीले बताए । ती आयोजना कास्कीको भिजुरेडाँडा र लमजुङका भोजे र पशगाउँ गाविसमा निर्माण हुनेछन् । दुई आयोजना निर्माण लागत करीब २ अर्ब २५ करोड रुपैयाँ अनुमान गरिएको छ ।

    त्यसमध्ये रुदी ए आयोजनाका लागि रू. १ अर्ब २५ करोड र रुदी बी आयोजनाका लागि रू. १ अर्ब छुट्ट्याइएको छ । आयोजनाबाट उत्पादित विद्युत् आयोजनास्थलबाट करीब १७ किलोमिटर टाढा रहेको लेखनाथ नगरपालिकाको अर्घौं बजारस्थित राष्ट्रिय प्रसारण लाइनमा जडान गरिनेछ । आयोजना निर्माणका लागि स्थानीय बासिन्दाले सक्दो सहयोग गरिरहेको आचार्यले बताए । उनले स्थानीय बासिन्दालाई यथेष्ट शेयर उपलब्ध गराएर आयोजनामा सहभागी बनाइने पनि जानकारी दिए ।

    कम्पनीले अहिले रुदी ‘बी’ आयोजना निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने काम गरिरहेको छ । आयोजनाको प्रतिवेदन ४ महीनाभित्र पूरा हुने पनि उनले जानकारी दिए । आचार्यका अनुसार दुवै आयोजनाको निर्माण कार्य एकैसाथ पूरा गर्ने योजना छ । उत्पादित विद्युत् स्वदेशमै खपत गर्ने गरी आयोजनाको निर्माण गर्न लागिएको कम्पनीले बताएको छ ।

    प्रस्तुति: अभियान