रसुवागढी  जलविद्युत् आयोजनाको विद्युत्गृहको काम अगाडि बढ्यो

    1323

    रसुवा। भूमिगत संरचनाबाट उत्तरी क्षेत्रमा निर्माणाधीन रसुवागढी  जलविद्युत् आयोजनाको विद्युत्गृह संरचना बनाउने काम धमाधम अगाडि बढेको छ।

    एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको चार हजार १८५ मिटर लामो रेड्रेस सुरुङ र विद्युत् उत्पादन गर्ने स्थलमा पहरा फुटाइ उत्खनन कार्य पूरा भइसकेकाले विद्युत्गृहको संरचना बनाउने कार्य अगाडि बढाइएको आयोजना प्रमुख छवि गैह्रेले बताए।

    रसुवागढी नजिक भोटेकोशीमा बाँधबाँधी तातोपानी नजिक गोसाइँकुण्ड गाउँपालिका १ थुमनको भूभागमा १११ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सन् २०१४ बाट रसुवागढी हाइड्रोपावर कम्पनीमार्फत निर्माण प्रक्रिया अगाडि बढेको थियो। काम ७० प्रतिशत पूरा भइसकेको कम्पनीका प्रबन्धक निर्देशक माधव कोइरालाले जानकारी दिए।

    भोटेकोशी बाँधस्थलबाट विद्युत्गृहमा पानी ल्याउने हेडरेस सुरुङ सम्पन्न भई महत्वपूर्ण काम शतप्रतिशत सम्पन्न भएकाले सर्चटैंक पेनस्टक सुरुङ, विद्युत्गृहबाट पानी बाहिर निस्कने सुरुङ (आउटलेट) को काम अन्तिम चरणमा पुगेको, भोटेकोशीको बाँध स्थल र पहराभित्र बालुवा थिग्र्र्याउने तीन वटा पोखरीको निर्माण कार्य पनि धमाधम अगाडि बढिरहेको बताइएको छ।

    सन् २०२० को फ्रेबु्रअरीभित्र १११ मेगावाट विद्युत उत्पादन गरिसक्ने कम्पनीको लक्ष्यबमोजिम सुरुङ संरचना निर्माण गर्न कार्यरत चिनियाँ ठेकेदार कम्पनी सिडब्लुइले काम गरिरहेको र निर्माणमा ८०० भन्दाबढी कामदार कार्यरत रहेको आयोजनाले जनाएको छ।

    १३ अर्ब ६४ करोड ४० लाख रुपैयाँ अनुमानित लागत रहेको विद्युत् आयोजना सन् २०१७ मा सम्पन्न गर्ने लक्ष्य लिइएको थियो। काम गर्दै गर्दा विगतमा भएको इन्धनको अभाव विसं २०७२ को विनाशकारी भूकम्प त्यसपछिका परकम्प र सामान ढुवानी गर्ने राजमार्गमा पहिराको अवरोध, भोटेकोशीमा आएको बाढी जस्ता कारणले आयोजना सम्पन्न गर्ने समयावधि बढेको बताइएको छ।

    असहज काम सबै सकिएकाले कम्पनीले लिएको लक्ष्यबमोजिम सन् २०२० को फेब्रुअरीभित्रै सम्पन्न गरिने कम्पनीकाप्रबन्धक निर्देशक कोइरालाले बताए।

    आयोजनाको कार्यमा ३० भन्दाबढी प्राविधिक कार्यरत छन्। आयोजनाले थुमन र टिमुरेका ७५ जनालाई रोजगारी दिएको छ। तीमध्ये छ जना अधिकृतस्तरमा कार्यरत छन्। रासस