प्राधिकरण र निजी जलविद्युत्का सञ्चालक एउटै

    2287

    काठमाडौं, १२ असोज

    Vivek Taterविद्युत् प्राधिकरणका सञ्चालक निजी जलविद्युत् कम्पनीमा पनि सञ्चालक रहेको खुलेको छ । प्राधिकरण सञ्चालक विवेक तातेड रिडी हाइड्रोवापर डेभलपमेन्ट कम्पनीमा पनि सञ्चालक छन् ।

    ऊर्जामन्त्री उमाकान्त झाले तातेडलाई विद्युत् क्षेत्रमा विशेषज्ञता हासिल गरेका गैरसरकारी व्यक्तिमध्येबाट सञ्चालकमा नियुक्त गरेका हुन् । रिडी हाइड्रोपावर कम्पनीमा ५० हजार कित्ता सेयरसहित तातेड सञ्चालक छन् ।

    रिडी हाइड्रोपावर कम्पनीबाट उत्पादित बिजुली प्राधिकरणले खरिद गरेको छ । प्राधिकरण खरिदकर्ता हो भने रिडी हाइड्रोपावर विक्रेता हो । खरिद–बिक्री गर्ने निकायको सञ्चालक एकै व्यक्ति हुँदा स्वार्थ (कन्फिल्कट अफ इन्ट्रेस्ट) बाझिने गर्छ । स्वार्थ बाझिँदा प्राधिकरणका निर्णय पनि प्रभावित हुन सक्छन् ।

    ‘खरिद–बिक्री गर्ने निकायमा सञ्चालक एकै व्यक्ति हुँदा कन्फिल्कट अफ इन्ट्रेस्ट देखिन्छ, त्यसैले उहाँ (तातेड)ले प्राधिकरण या कम्पनीमध्ये एक ठाउँबाट राजीनामा पहिल्यै दिनुपर्ने हो, अहिलेसम्म दिनुभएको रहेनछ,’ प्राधिकरणका एक उपकार्यकारी निर्देशकले भने ।

    नियुक्तिकै वेला कन्फिल्कट अफ इन्ट्रेस्टका विषयमा प्रश्न उठेको भए पनि तातेडले रिडी हाइड्रोपावरबाट राजीनामा दिइसकेको बताउँदै आएका थिए । तर, कम्पनीले शुक्रबार जारी गरेको सेयर निष्कासन आशयपत्रमा विवेक तातेड सञ्चालक नै भएको उल्लेख छ ।

    यसअघि मैलुङ खोला जलविद्युत् आयोजनाका प्रमुख कार्यकारी अधिकृत डम्बर नेपालीलाई प्राधिकरण सञ्चालकमा नियुक्त गरिएको थियो । सञ्चालकमा नियुक्त भएपछि नेपालीले कार्यकारी अधिकृत पदबाट राजीनामा दिएका थिए ।

    यसैगरी, प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को सातौँ तहमा कार्यरत मोहनराज पन्तले पनि सञ्चालक नियुक्त भएपछि चिलिमेबाट राजीनामा दिएका थिए । प्राधिकरण स्रोतका अनुसार तातेड आबद्ध एचजी इन्टरप्राइजेजले प्राधिकरणलाई निर्माण उपकरण आपूर्ति गर्दै आएको छ । ‘भाइब्रेटर, केवललगायतका उपकरण पनि तातेड आबद्ध कम्पनीबाट आपूर्ति हुने गरेको छ, एउटै व्यक्ति सामान आपूर्तिकर्ता र सञ्चालक कसरी हुनसक्छ ?’ प्राधिकरण स्रोतले भन्यो ।

    रिडी कम्पनीले तातेडसँग केवल, केमिकल्स तथा निर्माण उपकरण व्यापारको अनुभव भएको बताएको छ ।

    @ नयाँ पत्रिका