प्रसारण लाइन नहुँदा सिप्रिङबाट उत्पादित विद्युत् खेर मासिक रू.१ करोड घाटा

    2708

    साउन ७, काठमाडौं ।

    sipring_hEPसरकारले प्रसारण लाइन निर्माण नगरेका कारण दोलखाको सिप्रिङ खोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् खेर गएको छ । सो आयोजनाबाट ११ मेगावाट विद्युत् उत्पादन हुँदै आए पनि प्रसारण लाइनको अभावमा विद्युत् खेर गइरहेको सो आयोजनाका इञ्जिनीयर पुष्कर ढुङ्गेलले अभियानलाई बताए । उनले भने, ‘आयोजनाबाट कुल उत्पादित विद्युत्मध्ये ४ मेगावाट मात्र उपयोगमा आएको छ, बाँकी खेर गइरहेको छ । ’आयोजनाबाट उत्पादित विद्युत् माथिल्लो तामाकोशी, दोलखा र रामेछाप क्षेत्रमा उपयोग गरिए पनि पूर्णरूपमा खपत हुन सकेको छैन । सरकारले सिँगटी–लामोसाँघु प्रसारण लाइन निर्माण गर्न नसकेका कारण आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न नसकिएको ढुङ्गेलले बताए ।

    उत्पादित विद्युत् प्राधिकरणले खरीद गर्न नसकेका कारण आयोजनालाई मासिक १ करोड रुपैयाँ घाटा भइरहेको पनि उनले बताए । ‘आयोजनालाई मात्र होइन, राज्यलाई समेत नोक्सानी छ, ’ढुङ्गेलले भने ‘उत्पादित विद्युत्को उपयोग गर्नं नसक्दा दैनिक ४ घण्टा लोडशेडिङको सामना गर्नुपरेको छ ।’

    सिनर्जी पावर डेभलपमेण्ट कम्पनीले निर्माण गरेको सो आयोजना गत वर्षदेखि सञ्चालनमा आएको हो । आयोजनाबाट उत्पादन भएको तर खपत नभएको विद्युत्को रकम क्षतिपूर्तिस्वरूप विद्युत् प्राधिकरणले प्रवर्द्धकलाई भुक्तानी गर्नुपर्ने भए पनि प्राधिकरणले क्षतिपूर्ति नदिएको प्रवर्द्धकको भनाइ छ । ‘प्रसारण लाइनको अभाव अन्य निर्माणाधीन आयोजनाले समेत बेहोर्नुपर्ने निश्चित छ, ’स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का महासचिव कुमार पाण्डेले भने । २०७१ भित्र निर्माण कार्य पूरा हुने २२ मेगावाटको सानिमा माई, २०७२ सम्म निर्माण कार्य पूरा हुने ७ मेगावाटको माई क्यासकेटलगायतका आयोजनाले पनि प्रसारण लाइनको अभाव खेप्नुपर्ने स्थिति छ । ‘आयोजनाको निर्माण कार्य ७५ प्रतिशत सकिँदासमेत प्रसारण लाइन निर्माणतर्फ सरकारले ध्यान दिएको छैन, ’सानिमा हाइड्रोपावर कम्पनीका सञ्चालक डा. सुवर्णदास श्रेष्ठले भने ।

    निर्वाचन आयोगले सञ्चारमाध्यमका लागि आचारसंहिता सार्वजनिक गरेको छ । आयोगले कसैप्रति पूर्वाग्रह नराखी वस्तुनिष्ठ ढङ्गले समाचार सम्प्रेषण, प्रकाशन तथा प्रसारण गर्न आग्रह गरेको छ । निर्वाचनसँग सम्बन्धित शिक्षामूलक समाचारमा जोड दिन पनि उसले सञ्चारमाध्यमहरूसँग आग्रह गरेको छ । प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले आचारसंहिता पालना गरी जनतामाझ निर्वाचनको सम्बन्धमा सकरात्मक सन्देश फैलाउन सञ्चारमाध्यमहरूलाई आग्रह गरेका छन् । त्यस्तै, आयोगले आचारसंहिता पालना भए/नभएकोबारे जाँच्न आयुक्त अयोधीप्रसाद यादवको नेतृत्वमा आचारसंहिता अनुगमन समिति तथा इला शर्माको नेतृत्वमा सञ्चारमाध्यम अनुगमन समिति गठन गरेको छ ।