नेपाल–बंगलादेश ऊर्जा छलफल -बढी भएको बिजुली खरिद गर्न बंगलादेश तयार

    2246

    ऊर्जा समस्या समधान गर्न नेपालबाट बढी भएको बिजुली किन्न बंगलादेश तयार भएको छ ।
    दुई देशका उच्च अधिकारीबीच बिहीबारदेखि राजधानीमा सुरु भएको विद्युत् खरिदबिक्रीसम्बन्धी छलफलमा अहिले नेपालमा ऊर्जा संकट भए पनि पाँच वर्षपछि बढी हुने बिजुली खरिद गर्न बंगलादेशले रुचि देखाएको हो ।
    बंगलादेशका ऊर्जा तथा खनिज मन्त्रालयका सहसचिव मोहम्मद अनवर हुस्सेनले नेपालबाट बिजुली किन्ने प्रस्ताव गरेका हुन् । बंगलादेशलाई अहिले नै १ हजार ३ सय मेगावाट ऊर्जा आवश्यक रहेको बताउँदै नेपालले बेच्न चाहे खरिद गर्न बंगलादेश तयार रहेको जानकारी गराएको छलफलमा सहभागी नेपाली प्रतिनिधिमण्डलका प्रमुख तथा ऊर्जा मन्त्रालयका सहसचिव सुनिलबहादर मल्लले जानकारी दिए ।
    बंगलादेशले नेपालको जलविद्युत्क्षेत्रमा लगानी गर्न नभई आफ्नो ऊर्जा संकट समधान गर्न छिमेकी मुलुकहरूबाट खरिद गर्न चासो देखाएको सहसचिव मल्लले बताए । बंगलादेशले ३ हजार ५ सय मेगाबाट बिजुली खरिद गर्ने योजना बनाएको उनले बताए । यो परिमाणको बिजुली बंगलादेशले नेपाल, भारत र भुटानबाट पनि खरिद गर्न सक्ने सम्भावना रहेको उनको तर्क छ ।
    नेपालमा तत्काल ऊर्जासंकट भएको अवस्थामा निर्यातको सम्भावना नरहे पनि पाँच वर्षपछि वर्षायाममा बढी भएको बिजुली बंगलादेश निकासी गर्न सकिने सहसचिव मल्लले बताए । प्रारम्भिक छलफल भएको बताउँदै आज शुक्रबार यस विषयमा दुई मुलुकका अधिकारीबीच विस्तृत छलफल हुने उनले जानकारी दिए ।
    नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद समझौता (पीपीए) भएका सबै आयोजना बने आगामी सन् २०१७ पछि वर्षामा ४ अर्ब युनिट बिजुली बढी हुने देखिएको छ । यो बिजुलीको औसत मूूल्य प्रतियुनिट ५ रुपैयाँ मान्दा २० अर्ब रुपैयाँ हुन्छ । पीपीए भएका सबै आयोजना बनेपछि प्राधिकरणले वर्षामा बढी भएको बिजुली बिक्री गर्न बजार नपाए वर्षमा २० अर्ब रुपैयाँ आम्दानी गुम्नेछ ।
    यता नेपाल–भारत अन्तरदेशीय प्रसारणलाइन बनाउन पाँच वर्षअघि नेपाल विद्युत् प्राधिकरण र भारतको इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स सर्भिसेजबीच सम्झौता भए पनि हालसम्म निर्माण सुरु हुन सकेको छैन । दुई साताअघि दुईतर्फ ४ सय केभी प्रसारणलाइन बनाउन लगानी सम्झौता भएको छ ।
    आगामी पाँच वर्षमा १ हजार ६ सय ४० मेगावाट बिजुलीको माग हुने प्रक्षेपण प्राधिकरणले गरेको छ । सो अवधिमा विद्युत् उत्पादन बढेर २ हजार २ सय मेगावाट पुग्नेछ ।
    बंगलादेशमा ऊर्जाको स्रोत ग्यास र कोइला रहेको छ । आगामी सन् २०१५ पछि त्यहाँको ग्यास भण्डार रित्तिने भएकाले उसले ऊर्जाको विकल्प खोज्न छिमेकी भारत, भुटानलगायत नेपालसँग छलफल थालेका हो । नेपालबाट बढी भएको बिजुली निकासी गर्न भारतको भूमि प्रयोग गर्ने भएकाले भारतले सकरात्मक भूमिका खेलेमा र प्रसारणलाइन बने मात्र यो सम्भव छ । सार्क क्षेत्रमा बिजुलीको एकीकृत ग्रिड प्रणालीको विकासमा भारत सकारत्मक छैन् । पूर्वको दुहबी–पूर्णिया प्रसारणलाइनबाट बंगलादेशमा बिजुली निकासीको सम्भावना छ ।
    प्रस्तुति: कारोबार