तीन वर्षभित्र टोकार्डो प्रविधिबाट सय मेगावाट बिजुली

    2196

    खोलामा सिधै टर्बाइन राखेर बिजुली उत्पादन गर्ने टोकार्डो प्रविधिबाट तीन वर्षभित्र सय मेगावाट बिजुली उत्पादन गरिने भएको छ। नेदरल्यान्डको टोकार्डो इन्टरनेसनल बिभी र नेपालको ग्लोटेक सोलुसनबीच यससम्बन्धी सम्झौतापत्रमा बुधबार काठमाडौंमा हस्ताक्षर भयो। पत्रमा टोकार्डोका तर्फबाट प्रमुख कार्यकारी हान्स भ्यान ब्रुगेल र टोकार्डोका प्रमुख कार्यकारी अधिकृत सुबोध त्रिपाठीले हस्ताक्षर गरे।

    दुई कम्पनी मिलेर सन् २०१३ भित्र खुला टर्बाइन राखेर सुनकोशीको शैलेघाट, नारायणीको देवघाट, कर्णालीको लालीघाट र कोशीका विभिन्न ठाउँमा पहिलो चरणमा १० मेगावाट बिजुली उत्पादन गर्ने भएका छन्।

    सन् २०१४ भित्र थप सय मेगावाट बिजुली टोकार्डो प्रविधिबाट उत्पादन गरिनेछ। टोकार्डो टर्बाइन युरोपबाट ल्याउँदा बढी खर्च लाग्ने भएपछि नेपालमै कारखाना बनाउने सम्झौतामा उल्लेख छ। ‘उत्पादन गर्न सकिने टर्बाइनका पार्टस् यही बनाइने छ,’ ग्लोटेकका अध्यक्ष एजी शेर्पाले भने।

    हेटौंडामा एसेम्बल प्लान्ट राखेर आगामी पुसदेखि टोकार्डो टर्बाइन उत्पादन हुने भएको छ। तीब्र बहाव भएका खोलामा टोकार्डोको टर्बाइन झुन्ड्याएर राखेपछि त्यसले क्षमता र पानीको बहावअनुसार ५० देखि सय किलोवाट बिजुली उत्पादन गर्छ।

    पावर हाउस, सुरुङ, ड्यामजस्ता ठूला लगानी गर्नुपर्ने र लामो समय लाग्ने पूर्वाधार तयार गर्नु नपर्ने भएकाले यो प्रविधिबाटे ६ महिनामै बिजुली निकाल्न सकिन्छ। ग्लोटेकले विद्युत विकास विभागबाट २.४ मेगावाटको आयोजना बनाउन स्वीकृति पाइसकेेको छ। नेपालमै पहिलोपटक बनाउन लागिएको यस्तो प्रविधिलाई गत वर्षको असोजमा मन्त्रिपरिषदको बैठकले सैद्धान्तिक सहमति दिइसकेको छ।

    ‘लोडसेडिङलाई छिटो अन्त्य गर्न यो प्रविधि नेपालको लागि सबैभन्दा उपयुक्त देखिएको छ,’ नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले भने। चाँडो बिजुली निकाल्नेलाई सरकारले बाधा अप्ठेरा फुकाउने र सहुलियत दिन कन्जुस्याइँ नगर्नसमेत उनले आग्रह गरे।

    सम्झौता हस्ताक्षर कार्यक्रममा उद्योगमन्त्री अनिलकुमार झाले सरकारले लगानी वर्ष मनाउन लागिरहेको सन्दर्भमा नेदरल्यान्डको यो प्रविधि नेपालमा सुरु भएकोमा सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए।

    टोकार्डो इन्टरनेसनलका प्रमुख कार्यकारी ब्रुगेलले यो प्रविधि नेपालमा उपयुक्त हुने देखेर एक वर्षदेखि अध्ययनमा लागेको उल्लेख गर्दै चाँडो ऊर्जा निकाल्न यो संसारकै सबैभन्दा सजिलो र सस्तो प्रविधि भएकोसमेत बताए।

    नेदरल्यान्ड दूतावासका कन्सुलर रेम निफेजले यस्तो प्रविधिका लागि डच सरकारले ५० प्रतिशत अनुदान दिने नीतिअनुसार नेपाललाई पनि दिन लागिएको जानकारी दिए।
    कार्यक्रममा ग्लोटेकका निर्देशक डिबी शेरचनले बिजुलीको लागत कम गर्न नेपालमै टर्बाइन प्लान्ट राख्न लागिएको बताए। नेपालमा प्लान्ट राख्दा युरोपबाट ल्याउनुभन्दा ३६ प्रतिशत सस्तो पर्नुका साथै भुटान, भारत, बंगलादेश र पाकिस्तानमा समेत निर्यात गर्न सकिने उनले उल्लेख गरे।

    ग्लोटेकका प्रमुख कार्यकारी अधिकृत त्रिपाठीका अनुसार सन् २०१४ भित्र सुनकोशीमा साढे २६ मेगावाट, तल्लो कर्णालीमा २० मेगावाट, गण्डकीमा साढे ५ मेगावाट, नारायणीमा २.६ मेगावाट, सप्तकोशीमा १२ मेगावाट, अरुणमा ५.२ मेगावाट, भेरीमा ८.४ मेगावाट र माथिल्लो कर्णालीमा २० मेगावाट बिजुली निकाल्न यो प्रविधिको सम्भाव्यता अध्ययन पूरा भइसकेको छ।

    नागरिक