तनहुँ जलविद्युत् आयोजना : असन्तुष्टले बुझेनन् मुआब्जा

2278

भाद्र २६, २०७६

दमौली — तनहुँ जलविद्युत् आयोजनाको जलशायबाट प्रभावित ऋषिङ गाउँपालिका–८ पल्ट्याङका अधिकांश स्थानीयले अझै मुआब्जा रकम बुझेका छैनन् ।

मुआब्जा रकम न्यून भएको भन्दै नबुझेका हुन् । ‘गरीखाने खेत डुबानमा पर्ने भयो,’ स्थानीय तिलबहादुर थापाले भने, ‘मुआब्जा रकम थोरै छ । वर्षमा तीन बाली खाने खेतको प्रतिरोपनी २ लाख रुपैयाँ मुआब्जा दिएको छ । त्यति रकम लिएर अरू ठाउँमा एक टुक्रा जग्गा पनि आउँदैन । बरु जग्गाको सट्टामा जग्गै दिए हुन्थ्यो ।’

प्रतिरोपनी ८० लाख रुपैयाँ पाउनुपर्ने स्थानीयको माग छ । नभए हावापानी, समाज मिल्ने र खेतीयोग्य जमिन उपलब्ध गराइदिनुपर्ने उनीहरूले बताए । २१ घरपरिवारले ७ देखि १७ रोपनीसम्म जग्गाको मुआब्जा नलिएका हुन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई ९५ प्रतिशत मुआब्जा रकम वितरण गरिसकेको आयोजनाका उपप्रबन्धक श्यामजी भण्डारीले बताए ।

‘जलाशयबाट प्रभावितलाई मुआब्जा रकम बाँड्ने काम अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘अब ५ प्रतिशत मात्र बाँकी छ । मुआब्जा रकममा असन्तुष्टि भएकाहरू भने रकम बुझ्न आएका छैनन् ।’ असन्तुष्टहरूको मागलाई सम्बोधन गर्न बालीनालीको क्षतिपूर्ति रकमसमेत दिने निर्णय गरेको उनले बताए । जग्गाको मुअब्जाबाहेक पाँच वर्षसम्मको बालीनालीको मूल्यांकन गरेर ११ करोड रुपैयाँ बजेट व्यवस्था गरिएको छ ।

२१ परिवारलाई ८ करोड रुपैयाँ वितरण गर्न बाँकी छ । मुआब्जा निर्धारण समितिले जलाशयबाट प्रभावित क्षेत्रमा घरजग्गा, गोठ र बोटबिरुवाको गरी कुल ७२ करोड रुपैयाँ बराबरको मूल्यांकन गरेको थियो । अहिलेसम्म ६४ करोड रुपैयाँ वितरण गरिसकेको भण्डारीले बताए । समितिले जलशयबाट प्रभावितलाई प्रतिरोपनी २ देखि ८ लाख रुपैयाँसम्म वितरण गरेको छ ।

व्यास नगरपालिकाको बेनीपाटनमा बाँधस्थल बनाउने डिजाइन छ । व्यासको बेनीपाटन, ऋषिङ, म्याग्दे गाउँपालिका र भिमाद नगरपालिकाका केही भाग आयोजनाको जलाशयबाट प्रभावित हुनेछ । बाँधस्थलदेखि भिमादसम्म २२ किमि लामो जलाशय बन्नेछ । सन् २०२४ सम्म आयोजना निर्माण गर्ने लक्ष्य छ । १४० मेगावाट क्षमताको जलाशययुक्त आयोजना निर्माण सम्पन्न गर्न करिब ५० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
स्रोत: कान्तिपुर