बुढीगण्डकी अघि बढाउन सहजीकरण एकाइ

    1416

    फाल्गुन २४, २०७३- ऊर्जा मन्त्रालयले १२ सय मेगावाटको जलाशययुक्त बुढी गण्डकी जलविद्युत् आयोजनालाई छिटो अघि बढाउन ‘अधिकार सम्पन्न सहजीकरण एकाइ’ गठन गरी त्यसको प्रमुखमा कृष्णबहादुर कार्कीलाई नियुक्त गरेको छ ।

    मन्त्रालयले खुला प्रतिस्पर्धाबाट छानिएका कार्कीलाई सहसचिव सरहको सेवा सुविधा पाउने गरी २ वर्षका लागि नियुक्त गरेको हो । उनी गृह मन्त्रालयका उपसचिव हुन् ।

    सहजीकरण एकाइ प्रमुख कार्कीले बुढीगण्डकी आयोजना विकास समिति, गोरखा र धादिङ जिल्ला प्रशासन तथा मालपोत कार्यालयसित समन्वय गरी जग्गा प्राप्ति, मुआब्जा वितरण, पुनर्बास र पुन:स्थापना तथा वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन कार्यान्वयनको काम गर्ने जानकारी ऊर्जा मन्त्रालयका सहप्रवक्ता गोकर्ण पन्थले दिए ।

    सरकारले बुढीगण्डकी आयोजनास्थलमा पर्ने जग्गाको मुआब्जा वितरण गर्न गोरखा र धादिङ जिल्ला प्रशासनलाई साढे ५ अर्ब रुपैयाँ निकासा दिइसकेको छ ।

    आयोजना विकास समितिले दुवै जिल्ला प्रशासनसित मिलेर प्रभावित स्थानीयबासीलाई मुआब्जा वितरणको कार्य सुरु गरिसकेको छ ।

    पन्थका अनुसार प्रमुखको नियुक्तिसँगै सहजीकरण एकाइले आयोजनास्थलमा घरजग्गा परेका गोरखा र धादिङका स्थानीयबासीहरूलाई मुआब्जा वितरणका अतिरिक्त अरू ठाउँमा जग्गा खोजेर पुनर्बास र पुन:स्थापनाको कार्यसमेत अघि बढाउनेछ ।

    आयोजना प्रमुखले पाए अवकाश
    बुढीगण्डकी विद्युत् आयोजनाका कार्यकारी निर्देशक गोपाल बस्नेतले आइतबारदेखि अनिवार्य अवकाश पाएका छन् । विद्युत् विकास विभागका सहसचिवसमेत रहेका बस्नेत ५८ वर्ष उमेर पूरा गरी सरकारी सेवाबाट अवकाश पाएपछि आयोजना प्रमुखविहीन भएको हो । सरकारले बस्नेतलाई चार वर्षका लागि आयोजनाको कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।

    सहसचिवको हैसियतमा कार्यकारी निर्देशक नियुक्त भएकाले अनिवार्य अवकाससँगै बस्नेत आयोजनाबाट बिदाइ भएका हुन् । उनको पदावधि भने अझै दुई वर्ष बाँकी थियो ।

    स्रोत:कान्तिपुर