खिम्ती–ढल्केबर प्रसारण लाइनमा समस्या आउँदा देशभर अन्धकार

    1431

    काठमाडौँः केही साताअघि मात्रै सञ्चालमा आएको नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन अन्तरगतको खिम्ती–ढल्केबर प्रसारण लाइनमा ‘फल्ट’ हुँदा देशको अधिकांश भागको विद्युत् प्रसारण प्रणाली कोल्याप्स भएको छ ।

    खिम्ती–ढल्केबरमा अचानक ‘फल्ट’ भएकाले राजधानी काठमाडौँसहित केन्द्रीय प्रसारण लाइन पुगेका देशका अधिकांश भाग मंगलवार राति साढे नौ बजेबाट १० बजेसम्म अन्धकार भएको हो ।

    नेपाल विद्युत्त् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले खिम्ती–ढल्केबर प्रसारण लाइनमा ‘फल्ट’ हुँदा कोल्याप्स भएको सिस्टम करिब आधा घन्टा लगाएर उठाइएको जानकारी दिए ।

    ‘खिम्ती–ढल्केबारको फल्ट समाधान गरेपछि देशभरको प्रसारण लाइनमा बिजुली पुनः पठाउन आधा घन्टा लाग्यो’, अधिकारीले भने, ‘काठमाडौँ, पूर्व र पश्चिमतर्फ अलग अलग फिडरमा छाडिएको बिजुलीको सिस्टम उठाउँदा आधा घन्टा समय लागेको हो ।’

    अधिकारीका अनुसार फल्टको कारण भने पत्ता लाग्न सकेको छैन । ‘फल्ट भएपछि प्रत्येक फिडरमा चेक गर्नुपर्ने भएकाले बिजुली पुनःप्रसारण गर्न समय लाग्ने गरेको हो’, अधिकारीले भने, ‘रि–इन्स्टल भइसक्ने बित्तिकै बिजुली आपूर्ति गरिएको हो ।’

    स्रोत:कारोबार