दोर्दी खोला आयोजनाको पीपीए सम्पन्न

    2782

    पूर्वी लमजुङको दोर्दी खोलामा हिमालयन पावर पार्टनर प्रालिद्वारा निर्माण गर्न लागिएको २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनासँग नेपाल विद्युत् प्राधिकारणले विद्युत खरिद सम्झौता (पीपीए) गरेको छ ।
    दोर्दीखोलासँगै अन्य तीन आयोजनासँग पनि पीपीए गरिएको छ । आर्थिक वर्ष २०६७÷६८ मा एउटा मात्र आयोजनासँग पीपीए गरिएकोमा ०६८÷६९ मा चारवटा आयोजनासँग पीपीए गरिएको छ । वर्षातको समयमा प्रतियुनिट ४ रुपैयाँ र हिउँदको समयमा प्रतियुनिट ७ रुपैयाँमा पीपीए गर्ने नियमलाई गत आर्थिक वर्षमा २० प्रतिशतले वृद्धि गरेपछि पीपीए गर्ने आयोजनाको संख्या बढेको हो । गत आर्थिक वर्षमा मात्रै ४ सय १८ मेगावाट विद्युत् खरिदका लागि पीपीए भएको छ ।
    दोर्दीखोलाको पनि ५ किलोमिटर लामो सुरुङमार्फत मस्र्याङ्दी नदीमा लगि मिसाइनेछ । सो आयोजनाबाट वार्षिक १४२ मेगावाट  विद्युत् उत्पादन हुनेछ । उक्त आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणको उदिपुर सवस्टेसनमा जोडिने आयोजनाले जनाएको छ । सो आयोजना आर्थिक वर्ष ०७२÷७३ सम्ममा सम्पन्न हुनेछ । आयोजनाको अनुमानित लागत झन्डै ४ अर्ब ७७ करोड रहेको ऊर्जा मन्त्रालयले जनाएको छ ।
    यसअघि आयोजनाले सरोकारवाला पक्षहरूसँग छलफल तथा अन्तरक्रियासमेत नगरी एकतर्फी रूपमा आयोजना निर्माण गर्न लागेको भन्दै स्थानीयवासीले विरोध जनाए पनि पछिल्ला दिनहरूमा भने आयोजनाले प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूसँग छलफल गरेको थियो । विगतमा प्रभावित क्षेत्रका बासिन्दाहरूले प्राकृतिक नियम तथा जलस्रोतमाथि स्थानीय उपभोक्ताको अग्राधिकारको हनन हुने, युगौंदेखिका पानीका स्रोतहरू धारा, कुवा, पँधेरा, पोखरीहरू नाश हुने, दोर्दीखोलाले प्राकृतिक रूपमा सिञ्चित गर्दै आएको ढोडेनी, नौथर, श्रीभन्ज्याङ, अर्चलबोट तथा चिती गाविसका खेतीयोग्य फाँट तथा टारहरू मरुभूमिमा परिणत हुने भने पनि पछिल्लो समययता आयोजना र स्थानीयबासीबीच केही सहमति भएको जनाइएको छ । दोर्दीखोलाको न्यूनतम जलप्रवाह ४ सय २९ घनमिटर प्रतिसेकेन्ड छ ।

    प्रस्तुति: कारोबार