१० कम्पनीको आईपीओ आउँदै

    1086

    चालू आर्थिक वर्षमा ८६ करोड रुपैयाँ बराबरको प्राथमिक निष्कासन (आइपीओ) आउने भएको छ । जलविद्युत् र लघुवित्त कम्पनी गरी १० वटा कम्पनीहरूले उक्त रकम बराबरको ८६ लाख ५ हजार कित्ता सेयर निष्कासन गर्न लागेका हुन् । ती मध्ये ७ वटा जलविद्युत् कम्पनी र ३ वटा लघुवित्त बैंक छन् । ती कम्पनीहरूले अंकित मूल्य १ सयका दरले सेयर निष्कासन गर्न लागेका हुन् । अनुमति पाएर पनि निष्कासन गरिनसकेका तथा निष्कासनका लागि बोर्डमा आवेदन दिएका कम्पनीहरूको सेयर संख्याका आधारमा उक्त तथ्यांक निकालिएको हो ।

    बढ्दै गएको सेयर बजारका बीच यी सेयर सार्वजनिक हुन लागेका हुन् । एक वर्षयता सेयर बजारको आकार करिब दोब्बर भएको छ । आकारसँगै कारोबार रकम, कारोबार संख्या र लगानीकर्ता संख्यामा पनि उच्च दरले वृद्धि भएको छ ।

    प्राथमिक निष्कासन (साधारण सेयर) भन्नाले पब्लिक लिमिटेडले सर्वसाधारणका लागि पुँजीको निश्चित हिस्सा सर्वसाधारणलाई बिक्री गर्नु हो । वित्तीय क्षेत्रमा कम्पनीले आफ्नो चुक्ता पुँजीको न्यूनतम ३० प्रतिशत सेयर सर्वसाधारणलाई वितरण गर्नैपर्ने कानुनी व्यवस्था छ । जलविद्युत् कम्पनीहरूका लागि भने स्थानीयलाई १० सहित न्यूनतम २५ प्रतिशत सेयर सर्वसाधारणका लागि निस्कासन गर्नुपर्ने प्रावधान छ । पब्लिक लिमिटेड कम्पनी भनेका कम्पनीमा ७ जना र बढीमा जतिसकै लगानीकर्ता हुने गरी स्थापना भएका कम्पनी हुन् । सर्वसाधारणसँग लगानी उठाएर सेयरधनीसमेत बनाइने हुँदा बढी संख्या तोकिँदैन ।

    निकट भविष्यमै सेयर जारी गर्नेहरूमध्ये नेसनल माइक्रोफाइनान्स वित्तीय संस्था, सूर्योदय लघुवित्त वित्तीय संस्था, आरएसडीसी लघुवित्त वित्तीय संस्था र सिनर्जी पावर डेभलपमेन्टले नेपाल धितोपत्र बोर्डबाट सेयर निष्कासन अनुमति पाइसकेका छन् । नेसनल माइक्रोफाइनान्स र सिनर्जी पावर डेभलपमेन्टले आगामी आइतबार (साउन १६ गते) देखि सेयर निष्कासन गर्दै छन् ।

    बोर्डबाट अनुमति पाएको मितिले दुई महिनाभित्र सेयर निष्कासन गरिसक्नुपर्ने व्यवस्था धितोपत्र निष्कासन निर्देशिका २०६५ मा छ । उक्त कारण बाँकी दुई कम्पनीहरूले छिट्टै सेयर जारी गर्नुपर्ने छ । तीमध्ये सिनर्जीले आयोजना प्रभावित स्थानीयवासीका लागि सेयर निष्कासन गर्न लागेको हो । विद्यमान कानुनी व्यवस्थाअनुसार जलविद्युत् आयोजनाहरूले स्थानीयबासीहरूका लागि न्यूनतम १० प्रतिशत सेयर वितरण गर्नैपर्छ ।

    हिमालयन पावर पार्टनरले १० लाख ६५ हजार कित्ता सेयर (करिब १० करोड ६५ लाख रुपैयाँ) निष्कासनका लागि ०७२ फागुनमा बोर्डमा आवेदन दिएको हो ।

    यो कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल छ । नेपाल हाइड्रो डेभलपरले पनि गत वैशाख २० मा बोर्डमा आवेदन दिएको छ । सेयर निष्कासनको जिम्मा एनएबी क्यापिटललाई दिएको यो कम्पनीले २ लाख ६० हजार कित्ता (२ करोड ६० लाख रुपैयाँ) सेयर निष्कासनका लागि अनुमति मागेको छ ।

    यस्तै युनाइटेड मोदी हाइड्रोपावरले ११ लाख ५० हजार कित्ता (११ करोड ५० लाख रुपैयाँ) सेयर निष्कासनका लागि गत जेठ १७ गते बोर्डमा आवेदन दिएको छ । एनआईबीएल क्यापिटल मार्केट्सले सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मा पाएको छ । यसैगरी आँखुखोला जलविद्युत् कम्पनीले पनि ८ लाख कित्ता सेयर निष्कासन गर्दै छ । सेयर निष्कासनको जिम्मा सिभिल क्यापिटललाई दिएको यो कम्पनीले अनुमतिका लागि गत जेठ ३१ गते बोर्डमा आवेदन दिएको छ ।

    अरुण काबेली पावर र च्याङ्दी हाइड्रोपावर कम्पनीले क्रमश: ३० लाख कित्ता र ८ लाख १० हजार कित्ता सेयर निष्कासन स्वीकृतिका लागि बोर्डमा आवेदन पेस गरेका छन् । अरुणले गत असार २८ गते र च्याङ्दीले साउन ४ गते आवेदन दिएको बोर्डले जनाएको छ । अरुण काबेलीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल र च्याङ्दीको ग्लोबल आईएमई क्यापिटल छ । यी कम्पनीको आवेदनमाथि अध्ययन भइरहेको र मापदण्ड पूरा गरेका कम्पनीहरूलाई छिट्टै अनुमति दिइने बोर्डले जनाएको छ ।

    सेयर निष्कासन तयारीका कम्पनी

    कम्पनी                                                 सेयर रकम (रु. मा)
    नेसनल माइक्रोफाइनान्स वित्तीय संस्था          ३ करोड
    सूर्योदय लघुवित्त वित्तीय संस्था                    १ करोड २० लाख
    आरएसडीसी लघुवित्त वित्तीय संस्था             ४ करोड
    सिनर्जी पावर डेभलपमेन्ट कम्पनी                  ७ करोड
    हिमालयन पावर पार्टनर                              १० करोड ६५ लाख
    नेपाल हाइड्रो डेभलपर                                २ करोड ६० लाख
    युनाइटेड मोदी हाइड्रोपावर                          ११ करोड ५० लाख
    अँखुखोला जलविद्युत् कम्पनी                     ८ करोड
    अरुण काबेली पावर                                 ३० करोड
    च्याङ्दी हाइड्रो पावर कम्पनी                      ८ करोड १० लाख

    स्रोत : नेपाल धितोपत्र बोर्ड

    स्रोत : कान्तिपुर