निरन्तर अवरोध हुँदा पनि नडगमगाएका ‘कुलमान’ पृथ्वी प्रलय भए पनि निर्णय फिर्ता लिन्नँ

    1260

    काठमाडौं । कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक भएदेखि नै उनलाई निरन्तर असहयोग भइरहेको छ ।
    निरन्तर असहयोग भए पनि उनले आफ्नो जिम्मेवारीमा कमी आउन दिएका छैनन् ।

    माओवादी केन्द्र समर्थित कर्मचारीबाहेक नेपाली कांग्रेस र नेकपा एमाले आवद्ध कर्मचारी संघले घिसिङलाई असहयोग गर्दै आएका छन् । लोडसेडिङ हटाउनु भन्दा पनि लोडसेडिङ गर्नुपर्छ भन्नेबाट घिसिङले धेरै अवरोधको सामना गर्नुपरेको विद्युत् प्राधिकरण निकट स्रोतले जानकारी दिएको छ ।
    सरकारले कार्यकारी निर्देशक बनाएपछि उनलाई कार्यालय प्रवेशमा समेत रोक लगाउने प्रयास भयो । त्यहाँदेखि आजको दिनसम्म पनि निरन्तर अवरोध खेप्नुपरेको छ ।

    पूर्वकार्यकारी निर्देशक मुकेशराज काफ्लेले उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट हालेर आउन नदिने प्रयास गरेका थिए । उनलाई ऊर्जा मन्त्रालयले गरेको कार्यसम्पादन मूल्याँकनमा असफल बनाएपछि सर्वोच्चले घिसिङको पक्षमा फैसला ग¥यो ।

    तिहारदेखि घिसिङले देशलाई लोडसेडिङमुक्त बनाउने अभियान अन्तर्गत पहिलो चरणमा काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त घोषणा गरेपछि हाँसोको पात्र भए र उनको आलोचना गर्नेहरुले मंसिर १५ पछि लोडसेडिङ बढ्छ हेरौँन भन्ने अभिव्यक्ति समेत दिए ।

    पूर्वकार्यकारी निर्देशक काफ्लेले घिसिङलाई चुनौति दिँदै माघदेखि वैशाखसम्म लोडसेडिङ भएन भने आफूले सार्वजनिक पद धारणा नगर्ने सार्वजनिक गरे । तर उनले दाबी गरेको जस्तो हालसम्म लोडसेडिङ भएको छैन् । अब यो वर्ष लोडसेडिङ नहुनेमा नेपाल प्राधिकरण ढुक्क बनेको छ ।
    त्यसपछि उनलाई आफ्नै सञ्चालक समितिले काम अघि बढाउन अवरोध ग¥यो । सञ्चालक लक्ष्मणलाल अग्रवाल, मनोजकुमार मिश्र र सुरज लामिछानेले घिसिङले सञ्चालक समितिमा ल्याएको हरेक प्रस्तावलाई असफल बनाउन लागे र ऊर्जा मन्त्रालयले हटाएपछि उनीहरु फेरि सर्वोच्चमा गए । सर्वोच्चले अन्तरिम आदेश दिनुनपर्ने फैसला गरिदियो ।

    पछिल्लो समयमा मिटर उल्टो घुमाएर पैसा कमाउने धन्धामा कर्मचारी लागेको पाएपछि महानगरीय अपराध अनुसन्धान महाशाखाले यस्ता क्रियाकलामा संलग्न कर्मचारीलाई हिरासतमा लिएर कारवाही थालेको छ ।

    प्राधिकरण व्यवस्थापनले ग्राहक तथा वितरण निर्देशनालयका पाचौं तहसम्मका २ हजार ४८० कर्मचारीलाई एकैपटक सरुवा गरेपछि कांग्रेस र एमाले निकट कर्मचारी संगठनहरुले विरोध गर्नुका सार्थ कार्यकारी निर्देशक घिसिङलाई घेराउ गरेर सरुवा फिर्ता लिन दबाब दिएका छन् ।
    वितरणमा २० औं वर्षसम्म एउटै पदमा कार्यरत रहेको र उसले बढुवाका लागि फारम समेत नभरेको पाइएको छ ।

    उल्टो मिटर घुमाएर लाभ लिइरहेका कर्मचारी बढुवा भएपछि त्यहाँबाट सरुवा हुने भएपछि त्यहीँ रहनका लागि पनि उनीहरुले फारम नभरेको पाइएको छ ।
    नियुक्त भएदेखि नै कर्मचारी संगठनले घिसिङलाई असहयोग गर्दै आएका छन् ।
    लोडसेडिङमुक्त अभियानमा सफल भएपछि प्राधिकरण व्यवस्थापन अहिले चुहावट नियन्त्रणमा लागेको छ । वार्षिक १० अर्ब रुपैयाँको बिजुली चुहावट भई प्राधिकरणलाई ठुला आर्थिक नोक्सान भएको छ ।
    तराई क्षेत्रमा हुक लगाएर बिजुली चोरी गरेको भन्दा पनि मिटर उल्टो घुमाएर आर्थिक लाभ लिने कर्मचारीले प्राधिकरणलाई लुटेको प्रमाणित भएको छ ।
    आफूले गरेको निर्णय कुनै पनि हालतमा फिर्ता नहुने घिसिङ बताउँछन् । “पृथ्वी प्रलय भए पनि मैले लिएको निर्णय फिर्ता लिन्नँ,” घिसिङले बाह्रखरीसँगको कुराकानीमा भने, “गलत काम गर्नेलाई कारवाही गरिछाड्नेछु ।” लामो अनुसन्धानपछि प्राधिकरणमा कार्यरत कर्मचारीको बदमासी भइरहेको पत्ता लागेको उनको भनाई छ । उनले अरु बदमासी पनि खुल्दै जाने क्रममा रहेको बताए ।

    स्रोत:बाह्रखरी