त्रिशुली ३ बी आयोजना निर्माण गर्न ‘ग्लोबल टेन्डर’ आब्हान, ३ वर्षमा सक्ने लक्ष्य

    1703

    काठमाडौं । त्रिशुली जलविद्युत् कम्पनी लिमिटेडले ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशुली ३ बी जलविद्युत् आयोजना निर्माण गर्न लागेको छ ।
    आयोजनाको निर्माण अघि बढाउन कम्पनीले अन्तर्राष्ट्रिय बोलपत्र (ग्लोबल टेन्डर) आब्हान गरेको छ ।

    त्रिशुलीले बोलपत्र पेश गर्ने मिति आउँदो मे २ गतेलाई तोकेको छ । नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमको संयुक्त लगानीमा आयोजना निर्माण हुन लागेको हो । आयोजना इन्जिनियरिङ प्रोक्युमेन्ट कन्ट्रक्सन (इपीसी) प्रारुपमा निर्माण हुन लागेको हो ।
    आयोजनाको बोलपत्रमा भाग लिन त्रिशुलीले ७ अन्तर्राष्ट्रिय कम्पनीलाई छनौट गरेको छ । पुर्वयोग्यतामा छनौट भएका ७ अन्तर्राष्ट्रिय कम्पनीले मात्र बोलपत्रमा भाग लिन पाउनेछन् । जसअनुसार आयोजना निर्माणका लागि ६ वटा चिनियाँ र १ भारतीय कम्पनीलाई छनौट भएका छन् ।

    बोलपत्रमा भाग लिन पाउने कम्पनीमा चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड, डङफङ इलेक्ट्रिक इन्टरनेश्नल कर्पोरेशन, हिन्दुस्तान कन्ट्रक्सन कम्पनी लिमिटेड, जिङसी वाटर एन्ड हाइड्रोपावर कन्ट्रक्सन कम्पनी लिमिटेड, सिचुवना एनहे हाइड्रोलिक एन्ड हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेड, सिनो हाइड्रो कर्पोरेशन लिमिटेड र जिङज्याङ डिजाइन इष्टिच्युट अफ कन्जरभेन्सी एन्ड हाइड्रोलिक पावर छन् ।

    ठेक्कापट्टाको काम सकेर अर्को वर्षको मंसिरदेखि आयोजना निर्माणको काम सुरु हुने कम्पनीका प्रवन्ध सञ्चालक मोहन गौतमले बताए । आउँदो मंसिरदेखि आयोजनाको काम सुरु गरेर ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको उनले सुनाए । आउँदो सन् २०२० को अन्त्यसम्म आयोजना सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ ।

    बोलपत्रको प्रक्रिया सुरु भएको भन्दै उनले आयोजनाको लागत भने खुलाएनन् ।
    आयोजनामा विद्युत् प्राधिकरणको ३०, नेपाल टेलिकमको ३०, आयोजना प्रभावित रसुवा र नुवाकोट जिल्ला विकास समिति र गाउँ विकास समितिले ५, रसुवा र नुवाकोटका संस्थाले ५, आयोजना प्रभावितले १०, सर्वसाधारणलाई १५ र प्राधिकरण र टेलिकमका कर्मचारीलाई ५ प्रतिशत सेयर दिने गरी लगानी संरचना तयार गरिएको छ ।

    नेपाल बैंकको नेतृत्वमा आयोजनामा ऋण लगानी हुने गौतमले जानकारी दिए । लगानीका लागि विभिन्न बैंक तथा वित्तीय संस्थासँग छलफल भइरहेको गौतमले जानकारी दिए ।

    उनका अनुसार नेपाल बैंक, जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड, नागरिक लगानी कोष र नबिल बैंकसँगको छलफल अन्तिम चरणमा पुगेको छ । विद्युत प्राधिकरणसँग पनि विद्युत खरिदबिक्री सम्झौता (पीपीए) अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।

    आयोजना आर्थिक रुपमा आर्कषक भएको गौतमले बताए । उनका अनुसार प्रतिफल २२ प्रतिशत छ । आयोजनाबाट वार्षिक ३० करोड युनिट बिजुली उत्पादन हुने कम्पनीले गरेको सम्भाव्यता अध्ययनले देखाएको छ ।

    यस्तै सुख्खायाममा पनि ८ करोड २० लाख युनिट बिजुली उत्पादन हुने छ । आयोजना एक्सिडेन्टल फलो (क्यु) ७० मा डिजाइन गरिएकाले वर्षको ७ महिना आयोजना पुर्ण क्षमतामा सञ्चालन हुनेछ ।
    विद्युत प्राधिकरणले निर्माण गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिशुली ३ ए आयोजनाबाट प्रवाह हुने पानी सिधै सुरुङमा हालेर ३.७ किलोमिटर लामो सुरुङबाट नुवाकोटको वेत्रावती नजिक सिरुवापानीस्थित विद्युतगृहमा खसालिने छ ।
    आयोजनामा सानो मुहान बाहेक अन्य बाँधको संरचना आवश्यक नपर्ने गौतमले जानकारी दिए । यस्तै आयोजनाका लागि सडक निर्माण गर्नुपर्दैन ।

    स्रोत:बाह्रखरी