माथिल्लो तामाकोसी ६ महिना पछि धकेलियो

    1084

    काठमाडौँ — आगामी वर्ष सबै काम सक्ने गरी माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको रोकिएको निर्माण कार्य सुरु भएको छ ।

    ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना निर्माणस्थल पुग्ने सडकका कारण वैशाखदेखि काम रोकिएको थियो । यसले आयोजना सम्पन्न गर्ने समय झन्डै ६ महिना पछि धकेलिएको छ । पछिल्लो पटक यो वर्षको पुससम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । सडकका कारण निर्माण कार्य रोकिएपछि पुससम्म सम्पन्न नहुने आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताए । ‘यो आर्थिक वर्षको मसान्तसम्म आयोजना सम्पन्न गर्ने लक्ष्य छ,’ उनले भने ।

    सडकको दुरवस्थाका कारण आयोजनास्थलमा निर्माण सामग्री ढुवानी गर्न नसकिएको उनले बताए । ‘अब पानी पर्न बन्द भयो, केही सातामै सामान ढुवानी सुरु गर्छौं,’ उनले भने, ‘सडक राम्रो नभएकाले ठूला सामान ढुवानी गर्नका लागि ठूला सवारी चल्न सक्ने अवस्था थिएन ।’

    सडकको कारण आयोजनाका लागि ल्याइएको पेनस्टक पाइपलगायतका सामग्री लामो समयदेखि सुनकोसीमा थन्क्याइएको उनले बताए । दसैंअघि नै आयोजनास्थलसम्म सामान ढुवानी गर्न सुरु गरिने न्यौपानेले जानकारी दिए ।

    आयोजनाको काम करिब ९६ दशमलव ४ प्रतिशत सकिएको छ । आयोजनाको हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकलको काम भइरहेको छ । हाइड्रो मेकानिकलको काम भारतीय कम्पनी टेक्सम्याकोले पाएको छ भने इलेक्ट्रो मेकानिकलको कामको जिम्मा अस्ट्रेलियन कम्पनी एन्ड्रिच हाइड्रोलाई दिइएको । आयोजनाको इलेक्ट्रो मेकानिकलको काम धमाधम भइरहेको भए पनि हाइड्रो मेकानिकलको काममा भने ढिलाइ भएको आयोजनाले जनाएको छ ।

    आयोजनाको हेडवक्र्स कंक्रिटको काम, मुख्य सुरुङ, टेलरेस सुरुङ, विद्युतगृहजस्ता पूर्वाधार निर्माणको काम सकिएको छ । २०६७ मा निर्माण सुरु भएको आयोजनाको पहिलो युनिटबाट २०७३ साउनमा विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य थियो । २०७२ वैशाखको भूकम्प र लगत्तै भारतीय नाकाबन्दीका कारण सामान ढुवानी र निर्माण रोकिएको भन्दै आयोजनाको पहिलो युनिटबाट उत्पादन सुरु गर्ने म्याद एक वर्ष थप गरी २०७४ साउन बनाइएको थियो । आयोजनाले यो म्यादमा पनि उत्पादन सुरु गर्न नसकेपछि पुस (२०१८ को डिसेम्बर) सम्म उत्पादन सुरु गर्ने लक्ष्य तोकिएको थियो ।

    गत चैत २८ गत दोलखास्थित आयोजना निर्माणस्थलको भ्रमण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पुसभित्र जसरी पनि आयोजनाको पहिलो युनिटबाट उत्पादन सुरु गर्न निर्देशन दिएका थिए । तर, सडक र ढुवानी समस्याका कारण डिसेम्बरमा पहिलो युनिटबाट विद्युत् उत्पादन सुरु गर्न समस्या रहेको आयोजनाले जनाएको छ ।

    नेपाली लगानीमा निर्माण गरिएको तामाकोसी नेपालको ‘रोल मोडल’ आयोजनाको रूपमा चिनिन्छ । यसलाई राष्ट्रिय गौरवको आयोजनामा राखिएको छ । यो आयोजना निर्माण सम्पन्न भएपछि वर्षायाममा नेपाल विद्युत्मा आत्मनिर्भर बन्नेछ ।

    रोल मोडल आयोजना भए पनि निर्माणमा भएका ढिलाइका कारण आयोजनाको लागत डेढ गुणा बढिसकेको छ । दस वर्षअघि आयोजनाको लागत ३५ अर्ब २९ करोड ४१ लाख रुपैयाँ निर्धारण गरिएको थियो । हाल लागत ४९ अर्ब २९ करोड ५५ लाख रुपैयाँ पुग्ने संशोधित अनुमान गरिएको छ । यो निर्माण अवधिको ब्याजबाहेकको लागत हो ।

    गत वर्षको असारसम्म आयोजनाको निर्माण अवधिको ब्याज १० अर्ब ४७ लाख ४४ हजार रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७२/७३ को अन्त्यसम्म ब्याज ६ अर्ब ७७ करोड ९० लाख पुगेको थियो । यस्तो ब्याज एक वर्षमा ४ अर्बले बढेको हो । ब्याजसहित हिसाब गर्दा अहिलेकै अवस्थामा आयोजनाको लागत करिब ६० अर्ब पुग्नेछ । आयोजनाले विद्युत् उत्पादन हुने समयसम्म ब्याज अझै बढ्ने भएकाले लागत दोब्बर पुग्न सक्छ ।

    माथिल्लो तामाकोसीमा २५ प्रतिशत लगानी प्रभावित जनता र सर्वसाधारणबाट उठाउने तयारी छ । आयोजनामा नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, नागरिक लगानी कोष र राष्ट्रिय बिमा संस्थानको लगानी छ ।

    आयोजनामा प्राधिकरणको ४१, टेलिकमको ६, नागरिक लगानी कोष र बिमा संस्थानको २–२ प्रतिशत सेयर छ । यस्तै, कर्मचारी सञ्चय कोषमा रकम जम्मा रहेका कर्मचारीको १७ दशमलव २८, माथिल्लो तामाकोसी जलविद्युत् कम्पनी र नेपाल विद्युत् प्राधिकरणका कर्मचारीको ३ दशमलव ८४, आयोजनामा ऋण प्रवाह गर्ने संस्थाका कर्मचारीको २ दशमलव ८८ प्रतिशत लगानी छ ।

    आयोजनाले प्रभावित क्षेत्रका बासिन्दाका लागि छुटयाएको १० प्रतिशत सेयरका लागि आवेदन खुला गरिसकेको छ । यो दसैंअघि वा दसैंलगत्तै प्रभावितलाई सेयर बाँडफाँड गरी सर्वसाधारणका लागि खोल्ने आयोजनाको तयारी छ ।

    यो आयोजनाले उत्पादन थालेपछि वर्षायाममा नेपालमा विद्युत् बढी हुने भन्दै नेपाल विद्युत् प्राधिकरणले भारतसँग इनर्जी बैंकिङको प्रक्रिया अघि बढाएको छ ।

    नेपालमा विद्युत् बढी भएको बेला भारतमा लैजाने र नेपाललाई आवश्यकता पर्दा सोही परिणाममा विद्युत् भित्र्याउने अवधारणा नै इनर्जी बैंकिङ हो ।

     

    स्रोत:कान्तिपुर