तनहुँ जलविद्युत आयोजनाको मुख्य निर्माण कार्यको ठेक्का सम्झौतामा हस्ताक्षर

    1418
    अघि बढ्यो तनहुँ जलविद्युत ः ठेक्का सम्झौतामा हस्ताक्षर

    काठमाडौं । तनहुँ हाइड्रोपावर लिमिटेडले १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको मुख्य निर्माण कार्यको निर्माण कम्पनीहरुसँग सोमबार ठेक्का सम्झौता गरेको छ ।

    आयोजनाको नदी फर्काउने, बाँध लगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि सारभूत रुपमा  तथा न्यूनतम मूल्याङकित इटालियन कम्पनी सिएमसीसँग सम्झौता भएको छ । तनहुँ हाड्रोपावर लिमिटेडकातर्फबाट  प्रवन्ध सञ्चालक प्रदीपकुमार थिके र सिएमसीकातर्फबाट आधिकारिक प्रतिनिधि सालभाटोरे कसियारोले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ । सिएमसीसँग रु.२० अर्ब ६४ करोड ५२ लाख (प्रोभिजनल सम र मूल्य अभिबृद्धि करसहित)मा खरिद सम्झौता भएको हो ।

    आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजका काम  सारभूत रुपमा  तथा न्यूनतम मूल्याङकित चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेडसँग सम्झौता भएको छ । तनहुँ हाड्रोपावर लिमिटेडकातर्फबाट  प्रवन्ध सञ्चालक प्रदीपकुमार थिके र सिनो हाइड्रोकातर्फबाट आधिकारिक प्रतिनिधि छेङ सोएस्याङले हस्ताक्षर गर्नु भएको हो । कम्पनीसँग ११ करोड ४१ लाख ८९ हजार अमेरिकी डलर र रु ३ अर्ब ८३ करोड १४ लाख (मूल्य अभिबृद्धि कर बाहेक)मा खरिद सम्झौता भएको हो ।

    दुवै प्याकेजको निर्माण कार्य दुई महिनापछि काम सुरु गर्ने र सम्पूर्ण निर्माण कार्य डिसेम्बर २०२३ भित्र सक्ने लक्ष्य निर्धारण गरी ठेक्का सम्झौता गरिएको छ । प्रवन्ध सञ्चालक थिकेले तनहुँ जलविद्युत आयोजना कुलेखानीपछि बन्न लागेको जलाशययुक्त आयोजना भएको र विद्युतको लोड व्यवस्थापनका लागि महत्वपूर्ण आयोजना भएकाले निर्धारित समयभन्दा अगावै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीहरुलाई आग्रह गर्नु भयो । उहाँले आयोजना निर्माण  निर्धारित  समयमा सम्पन्न गर्र्ने प्रतिबद्धताका लागि तनहुँ हाइड्रोपावर लिमिटेड र निर्माण कम्पनीहरुका उच्च तहको व्यवस्थानबीच दशै अगावै छलफल गर्न लागिएकोले सोही अनुसार तयारी गर्न आग्रहसमेत गर्नु भयो । निर्माण कम्पनीहरुले आयोजना निर्धारित समयमै सम्पन्न गर्र्ने प्रतिबद्धता जनाएका थिए ।

    तनहुँ हाइड्रोपावर लिमिटेडले गत ७ साउनमा  बोलपत्रको नतिजा सार्वजनिक गरी छनोट भएका निर्माण कम्पनीलाई कार्यसम्पादन जमानतसहित खरिद सम्झौताका लागि आउन पत्राचार गरेको थियो ।

    पहिलो प्याकेज निर्माणका लागि पूर्व योग्यतामा छनोट भएका ५ कम्पनीहरुमध्ये ३ वटाले र दोस्रो प्याकेजका लागि पूर्व योग्यतामा छनोट भएका ३ वटा कम्पनीहरुमध्ये दुई वटाले बोलपत्र पेश गरेका थिए ।

    आयोजनाको तेस्रो प्याकेज अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण गर्न निर्माण कम्पनी छनोटका लागि बोलपत्रको मुल्याङन भइरहेको छ ।

    नेपाल विद्युत प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच विद्युत खरिद–बिक्री सम्झौता सम्पन्न भइसकेको छ । तनहँुको रिसिङ गाउँपालिका–१मा कार्यालय तथा कर्मचारी आवास गृह निर्माणको काम अन्तिम चरणमा छ । जलाशय क्षेत्रको जग्गा प्राप्तिका लागि ९५ प्रतिशत मुआब्जा वितरण भइसकेको छ । बाँधतर्फ जाने पहुँच मार्ग निर्माण र व्यास नगरपालिका–५मा बन्ने श्रमिक आवास गृहका लागि जग्गा अधिग्रहणका गर्न मुआब्जा निर्धारण भई मुआब्जा वितरण सुरु गर्ने प्रक्रियामा छ ।

    आयोजनाको कुल लागत ५० करोड ५० लाख अमेरिकी डलर (प्रशारण लाईन, ग्रामिण विद्युतिकरण तथा निर्माण अवधिको व्याज समेत) रहेको छ । यसमध्ये एसियाली विकास बैंक(एडीबी)ले अमेरिकी डलर १५० मिलियन, जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका)ले अमेरिकन डलर १८४ मिलियन, युरोपियन इन्भेस्टमेन्ट बंैक (ईआईबी)ले अमेरिकन डलर ८५ मिलियन र नेपाल सरकार÷नेपाल विद्युत प्राधिकरणले अमेरिकी डलर ८७ मिलियन व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ । यसको लागि सम्बन्धित दातृ निकायहरु र नेपाल सरकारबीच ऋण सम्झौताहरु तथा नेपाल सरकार र प्राधिकरण एवं प्राधिकरण र यस कम्पनीबीच सहायक ऋण सम्झौताहरु सम्पन्न भइसकेका छन् ।