तीन जिल्ला चार दिनदेखि विद्युतबिहीन

    2620

    Jhimruk hydropower projectदाङ, पुस २७ – गत पुस २२ गते लोडसेडिङविरुद्ध आन्दोलन गरिरहेका प्यूठानका स्थानीयले बुटवल पावर कम्पनीमा आगजनी गरेपछि प्यूठान, रोल्पा तथा अर्घाखाँची चार दिनदेखि अँध्यारै छन्। लगातार विद्युत नहुँदाजिल्लाको जनजीवनसमेत अस्तव्यस्त भइरहेको छ।

    लोडसेडिङ विरुद्ध आन्दोलन गरिरहेका प्यूठानका स्थानीयले विरोध सभा गरिरहेकै बेला आन्दोलनकारीले झिम्रुक जल विद्युत आयोजना अर्न्तगतको बुटवल पावर कम्पनीमा आगजनी गरेका थिए। कम्पनीले अहिले क्षतिपूर्ति माग गर्दै सुरक्षाको प्रत्याभूति नहुँदासम्म विद्युत नदिने बताएको छ।
    वातावरण सहज बनाउनका लागि हिजो दिउँसो सर्वदलीय छलफल भएपनि त्यस बारेमा कुनै निस्कर्ष निस्किएन। प्यूठानका प्रमुख जिल्ला अधिकारी कमलमणि काफ्लेका अनुसार हिजोको बैठकमा रोल्पाका आन्दोलनकारी नआएपछि कुनै निश्कर्ष आउन नसकेको हो। उनका अनुसार चारदिनदेखि विद्युत आपूर्ति नहुँदा तीनै जिल्ला अँध्यारो छ । ‘मोबाइल पनि चार्ज हुनपाएको छैन, जिल्ला पूरै अस्तव्यस्त भएको छ,’ उनले भने ‘हिजो(बिहीवार)को छलफलले केही हुन्छ किभनेको त्यो पनिभएन।’
    आगजनीबाट कम्पनीको कार्यालय परिसरका आधा दर्जन भवन, सयौं कम्प्यूटर, गाडी तथा मोटरसाइकल लगायत पुरै सरसामानहरु ज्लेर नष्ट भएका छन्। कम्पनीले भने सबै सामान जलेका कारण प्राविधिक रुपमा समस्या भएको बताएको छ। ‘त्यसका लागि प्रावधिक चेकजाँच पनि गर्नुपर्ने रहेछ, त्यो हुन सकेको छैन,’ उनले भने, ‘हामी प्राविधिक रुपमा चेक गरिरहेका छौँ भनेका छन्।’ तर कम्पनीले भने बुधवार राजधानीमा पत्रकार सम्मेलन गरेर सुरक्षाको प्रत्याभूति नभएसम्म विजुली नदिने बताएको छ। कम्पनीले क्षतिको विवरण अझैं निकाल्न सकेको छैन। तर पनि ६ सात करोड बराबरको क्षति हुनसक्ने प्रमुख जिल्ला अधिकारीले बताए।
    प्रमुख जिल्ला अधिकारी काफ्लेले विद्युत आपूर्ति सुरु गर्नका लागि पहल भइरहेको बताए। आन्दोलनमा रोल्पावासी समेत सहभागी भएका कारण उनीहरु समेत संवादमा आएपछि आज पुनः छलफल गरिने उनले बताए।‘छलफल गरिरहेका छौँ, पहलभइरहेको छ,’ उनले भने, ‘दलहरुले पनि दुःखव्यक्त गरेका छन्, नहुनु घटना भयो, अबदेखि यस्तो अराजकता हुनुहुन्न भन्नेमा सबै सहमत भएका छन्।’ लोडसेडिङ मुक्त जिल्ला भनिएका प्यूठान र रोल्पा तथा अर्घाखाँचीमा बुटवल पावर कम्पनीले दैनिक ६ घण्टा लोडसेडिङ गरेपछि स्थानीयवासी आन्दोलनमा उत्रिएका थिए। त्यही आन्दोलनका क्रममा दामाचौरस्थित बुटवल पावर कम्पनीको कार्यालयमा आगजनी भएको थियो। त्यसपछि झन् जिल्लाभर पूरै विद्युत आपूर्ति बन्द छ।
    कम्पनीले विद्युत आपूर्ति बन्द गरेपछि केन्द्रीय प्रशारण लाइनमा समेत १० मेगावाट विजुली कटौति भएको छ। दैनिक १९ घण्टासम्म लोडसेडिङ हुँदै आएकोमा अब थप बिजुली आपूर्तिसमेत बन्द हुँदा लोडसेडिङ अझैं अनियमित भएको छ। चारदिनदेखि विद्युत आपूर्ति बन्द हुँदा रोल्पा तथा प्यूठानका कतिपय साना उद्योग, पत्रपत्रिका, रेडियो तथा सिंचाई र खानेपानी आयोजना समेत बन्दभएका छन्। जिल्लाभरका अधिकांश खानेपानी तथा सिंचाई आयोजनाहरु लिफ्टमार्फत सञ्चालित छन्।
    २०४९ सालदेखि प्यूठानको झिम्रुक जलविद्युत आयोजनबाट बुटवल पावर कम्पनीले करिब १४ मेघावाट विद्युत उत्पादन गर्दै आएको थियो। त्योमध्ये करिब ४ मेगावाट विद्युत प्यूठान, रोल्पातथा अर्घाखाँचीलाई वितरण गरिएको थियो भने बाँकी विजुली मुख्य लाइनमा जोड्नका लागि नेपाल सरकारले किनेको थियो। यसअघि लोडसेडिङ नभएको प्यूठान, रोल्पा र अर्घाखाँचीमा यसपाली भने बुटवल पावर कम्पनीले सरकारको निर्देशन भन्दै १६ गतेदेखि दैनिक ६ घण्टा लोडसेडिङ गर्दै आएको थियो। त्यसैको विरोधमा स्थानीयले आन्दोलन थालेका हुन्।

    प्रस्तुति:नागरिक