जलविद्युत् आयोजना मध्यपहाडी लोकमार्ग निर्माणमा बाधक

    1315

    जलाशययुक्त आयोजना निर्माण हुने स्थानमा लोकमार्ग निर्माण रोक्न ऊर्जा मन्त्रालयको सूचना

    अध्ययन तथा निर्माणको चरणमा रहेका जलाशययुक्त जलविद्युत् आयोजनाहरू मध्यपहाडी लोकमार्ग निर्माणमा समस्या हुने देखिएको छ । पहिचान भइसकेका सुनकोसी, सप्तकोसी र कर्णाली–चिसापानी बहुउद्देश्यीय जलविद्युत् आयोजना निर्माण अध्ययन थालिएको सूचना विद्युत् विकास विभागले जारी गरेपछि सडक निर्माणमा समस्या उत्पन्न हुन सक्ने सडक विभागले जानकारी दिएको छ ।

    धेरै वर्ष पहिलेदेखि ती जलविद्युत् आयोजना निर्माण गरिने भनेर जानकारी दिइने (हल्ला हुने) र अध्ययनसमेत सुरु गर्ने, तर केही समय काम भएपछि रोकिने गरेकाले सडकको काम रोक्ने वा अघि बढाउने समस्या देखिएको विभागका महानिर्देशक गोपालप्रसाद सिग्देलले बताए ।

    ‘कर्णाली–चिसापानी बहुउद्देश्यीय जलविद्युत् आयोजनामा पर्ने गरी पूर्वाधार आयोजना नबनाउन ऊर्जा मन्त्रालय र यसअन्तर्गतका निकायहरूले सूचित गर्दै आएका छन्,’ सिग्देलले भने, ‘तर दशकौँ बितिसक्दा पनि आयोजना निर्माणले गति नलिएपछि स्थानीय नागरिक र जनप्रतिनिधिको दबाबका कारण विकास आयोजना रोकेर राख्न गाह्रो भएको छ ।’ विद्युत् विकास विभागले भने प्रस्तावित आयोजना क्षेत्रमा पूर्वाधार निर्माण गर्दा दोहोरोपना आउन सक्ने भन्दै कुनै पनि विकास निर्माणका कार्य नगर्न–नगराउन सूचना जारी गरेको छ ।

    जलविद्युत् आयोजना निर्माण हुने हो वा होइन भन्ने विषय निश्चित नहुँदा सडक निर्माण कार्यमा अन्योल भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले बताए । कुनै पनि जलविद्युत् आयोजना बन्न २०–२५ वर्ष लाग्ने हो भने त्यसवेलासम्म सडक निर्माण गरेर पनि लागत उठाउन सकिने उनको भनाइ छ ।

    यस विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ऊर्जा मन्त्रालय र राष्ट्रिय योजना आयोगमा छलफल गरिरहेको बताएको छ । ‘भइरहेको लगानीमा नै असर गर्छ भने काम किन गर्ने ?,’ उनले भने, ‘तर जुन निकायले जलाशययुक्त आयोजना बनाउँदै छ, उसले यति समयभित्र बनाउने हो भनेर स्पष्ट बताइदिए सजिलो हुने थियो ।’

    बुढीगण्डकीमा रेखांकन परिवर्तन

    पछिल्लो समय मध्यपहाडी लोकमार्गको कामले गति लिएको छ । तर, जलविद्युत् आयोजनाका कारण काम रोक्ने वा निरन्तरता दिनेबारे अन्योल पनि बढ्दै गएको छ । मध्यपहाडी लोकमार्गलाई रेखांकन गरिएको क्षेत्रमा बुढीगण्डकी जलाशययुक्त आयोजना गर्नैपर्ने भएपछि सडक विभागले रेखांकन नै परिवर्तन गरेको छ । भौतिक पूर्वाधार मन्त्रालयका सचिव कार्कीले सुनकोसी आयोजनाका विषयमा ६–८ महिना अघिदेखि मात्र फलाना–फलाना ठाउँमा तिमीहरू डुब्छौ, काम नगर भनेर खबर आएको बताए । त्यसभन्दा पहिला कुनै जानकारी नदिएको उनको भनाइ छ ।

    ‘जागिरेहरूले अवकाश पाइसके’

    अहिलेसम्मकै सबैभन्दा ठूलो कर्णाली चिसापानी बहुउद्देश्यीय जलविद्युत् आयोजना बन्ने क्रममा रहेको भन्दै अछाम, कैलाली, सुर्खेत, दैलेखतिरको काम बन्द गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई केही अगाडि मात्र खबर आएको छ । ‘कर्णाली चिसापानी बहुउद्देश्यीय जलविद्युत् आयोजनाको कुरा उठेको दशकौँ भइसक्यो, आयोजनामा जागिर खाएका केही इन्जिनियर रिटायर्डसमेत भइसके,’ सचिव कार्कीले भने, ‘अहिले आएर आयोजना बनाउँछौँ, कैलाली, दैलेख, अछामतिर काम बन्द गर भन्ने कुरा आएको छ ।’ यस किसिमका व्यवहारले सडकको काममा समस्या ल्याएको उनले बताए । दुई मन्त्रालयबीच राम्रो समन्वय नहुँदा यस्तो समस्या देखिएको संसद्को विकास समितिका सभापति रवीन्द्र अधिकारीले बताए ।

    भौतिक प्रगति शतप्रतिशत

    आर्थिक वर्ष ०७३/७४ मा मध्यपहाडी लोकमार्ग आयोजनाको भौतिक प्रगति शतप्रतिशत भएको छ । वित्तीय प्रगति भने ७२ दशमलव १ प्रतिशत मात्र भएको छ । गत आवमा ५५ किलोमिटर कालोपत्रे भएको छ । ९५ किलोमिटर ग्राभेल र ९ वटा पुल निर्माण सम्पन्न भएको छ । अहिलेसम्म मध्यपहाडी लोकमार्गमा १ हजार १ सय ४६ किलोमिटर सडकको ट्र्याक खोल्ने काम भएको छ । त्यस्तै, ३ सय ९१ किलोमिटर ग्राभेल सडक निर्माण सम्पन्न भएको छ । पूर्वमा पाँचथरको चियाभन्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघाटसम्म कुल लम्बाइ १ हजार ७ सय ७६ किमि रहेको यस लोकमार्गले मध्यपहाडी क्षेत्रका जिल्लालाई यातायात सञ्जालमा जोड्नेछ । आव ०६४/६५ देखि सुरु भएको यो आयोजना आव ०७४/७५ मा सम्पन्न हुने अनुमान गरिएको थियो । तर, अहिले आव ०७७/७८ मा सम्पन्न गर्ने नयाँ मिति तय गरिएको छ । यस आयोजनाका लागि आव ०७३/७४ मा २ सय ८८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

    जीवन बस्नेत
    नयाँ पत्रिका