अरुण तेस्रो आयोजनाको एक महिनाभित्र बाँधको ठेक्का सम्झौता

    1487

    काठमाडौं । प्रस्तावित अरुण तेस्रो जलविद्युत् आयोजनाको बाँध संरचना निर्माण ठेक्का सम्झौता १ महिनाभित्र सम्पन्न हुने भएको छ ।

    प्याकेज १ अन्तर्गत आयोजनाको बाँध, मुहान सुरुङ र डाइभर्सन सुरुङ निर्माणलगायत संरचना बनाउने योजना छ ।

    मार्चभित्र प्याकेज १ अन्तर्गतको ठेकेदार छनोट गरेर ठेक्का सम्झौता हुने एसजेविएन अरुण ३ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका देशीय निर्देशक हरिराम सुवेदीले बताए ।
    उनका अनुसार ठेकेदार छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

    पहिलो प्याकेजमा भारतको हिन्दुस्तान कन्ट्रक्सन कम्पनी लिमिटेड, जेपी कन्ट्रक्सन लिमिटेड, ग्यामन इन्डिया लिमिटेड र पटेल इन्जिनियरिङ कम्पनी लिमिटेड गरी ४ भारतीय कम्पनीले प्रस्ताव पेश गरेका छन् ।

    प्रवद्र्धन एसजेविएन भारतीय एकल वा नेपाली र भारतीय संयुक्त लगानीको कम्पनीले भाग लिने पाउने गरी बोलपत्र आह्वान गरेको थियो ।

    प्याकेज २ अन्तर्गत विद्युत्गृह निर्माणका लागि पनि बोलपत्र आह्वान गरिएको उनले जानकारी दिए । सुवेदीका अनुसार मार्च २८ तारिखमा विद्युत्गृहका लागि बोलपत्र पेश गर्ने अन्तिम दिन तोकिएको छ ।
    ४ प्याकेजमा आयोजनाको निर्माण हुनेछ । जसअनुसार दोस्रो प्याकेजमा विद्युतगृह निर्माण, तेस्रो प्याकेजमा इलेक्ट्रोमेकानिकल र चौथो प्याकेजमा हाइड्रोमेकानिकल र प्रसारणलाइनको काम हुने भएको छ ।

    आयोजना निर्माणका लागि भारत सरकारले ९१ अर्ब रुपैयाँ बजेट उपलब्ध गराएको छ । आयोजनाको कुल लागत १ खर्ब १६ अर्ब अनुमान गरिएको छ ।  भारत निकासीका लागि ९ सय मेगावाटको अरुण तेस्रो आयोजना बन्न लागेको हो । नेपालले आयोजनाबाट १९८ मेगावाट बिजुली सित्तैमा पाउनेछ । आयोजनाको काम सुरु हुन लाग्दा पनि सरकारले वनको जग्गा उपलब्ध गराएको छैन ।

    वनको जग्गा उपलब्ध नभएसम्म आयोजनाको काम सुरु नहुने सुवेदीको भनाइ छ । आयोजना विकास सम्झौता (पीडीए) विपरित बनको जग्गाबापत शोधभर्नाको कुरा उठे आयोजना नै नबन्ने उनको दाबी छ । हाल आयोजनाका लागि १२४ हेक्टर वनको जग्गा आवश्यक पर्ने देखिएको छ ।

    आगामी २५ वर्षका लागि एसजेभीएनले अरुणको विद्युत् उत्पादन अनुमतिपत्र (लाइसेन्स) पाउनेछ । यो आयोजना बनेपछि नेपालले निःशुल्क बिजुली, करलगायतबाट २५ वर्षमा ३ खर्ब ४८ अर्ब रुपैयाँ लाभ पाउनेछ ।

    आयोजना प्रभावित स्थानीयले ६ प्रतिशत (८० लाख कित्ता) सेयर पाउँदैछन् । प्रभावित ६ गाविसमा एसजेभीएनले निःशुल्क विद्युतीकरण गर्नेछ । अरुण तेस्रोबाट नेपालले वार्षिक ८६ करोड युनिट बिजुली सित्तैमा पाउनेछ । आयोजनाबाट वार्षिक ४ अर्ब १ करोड ९० लाख युनिट बिजुली उत्पादन हुने सतलजले तयार गरेको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर)ले देखाएको छ ।

    प्रतिस्पर्धाबाट सबैभन्दा बढी बिजुली दिने प्रस्ताव गरेपछि सतलजले सन् २००८ मा यो आयोजना पाएको हो । उसले आयोजनाको डीपीआरका साथै वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनसमेत तयार गरी सरकारलाई बुझाइसकेको छ ।

    आयोजना संखुवासभा र भोजपुर जिल्लाको सिमाना भएर बग्ने अरुण नदीमा पर्छ । बाँध नुम र पाथिभरा तथा विद्युत्गृह दिर्दिङ गाविसमा पर्छ । बाँधबाट विद्युत्गृहसम्म ११ किलोमिटर लामो सुरुङ खन्नुपर्नेछ ।

    स्रोत:बाह्रखरी