मध्यमोदी जलविद्युत् निर्माणमा ढिलाइ

    1683

    फाल्गुन २३, २०७३- आगामी मंसिरमा निर्माण सम्पन्न हुने गरी चौधरी ग्रुपले यहाँ निर्माण गरिरहेको १५ दशमलव १ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको काम लक्ष्यअनुसार हुन सकेको छैन । २०७१ मंसिर ७ मा विनोद चौधरीले २ अर्ब ८० करोड लागत अनुमान गरिएको आयोजनाले आगामी मंसिरभित्र उत्पादन दिने दाबी गरेका थिए । तर, निर्माणको काममा भएको ढिलाइले सम्पन्न हुन समय लाग्नुका साथै लागत पनि बढ्ने अवस्था छ ।

    आयोजना प्रमुख हरि देवकोटाका अनुसार भूकम्प र नाकाबन्दीका कारण निर्माण सामग्री बेलामा आउन नसक्दा अवधि करिब एक वर्ष अझै लम्बिने संकेत देखिएको छ । ‘अहिलेसम्म ६५ प्रतिशत प्रगति हुनुपर्ने हो,’ उनले भने, ‘टोटलमा ९/१० प्रतिशत मात्रै भएको छ । टनेलमा केही बढी ३५ प्रतिशत जति प्रगति देखिए पनि समग्रमा सन्तुष्ट हुन सकिने प्रगति छैन ।’ उनका अनुसार पछिल्लो समय टनेल, पावरहाउस र बाँधको काम भएको छ । यही गतिमा जाँदा ०७५ असार मसान्तसम्ममा मात्रै उत्पादन दिन सकिने अवस्थामा पुग्ने अनुमान गरिएको उनले बताए ।

    आयोजनाको शिलान्यास लगत्तैका केही महिना कामअघि बढ्न सकेको थिएन । चौधरी ग्रुपसँग मिलेर निर्माणमा साझेदारी गर्न प्रतिबद्धता जनाएको भारतीय कोस्टर कम्पनी प्रालिले पछि लगानीमा चासो नदेखाउँदा करिब चार महिना ढिला काम सुरु भएको आयोजनाले जनाएको छ । ‘सुरुकै चार महिना ढिला भएको थियो,’ सूचना अधिकारी अशोकराज आचार्यले भने, ‘त्यसयताका प्राकृतिक समस्याले एक वर्ष पूरै ठप्प भयो । अहिले भइरहेको काम द्रुत गतिमा देखिए पनि लागत र समय त्यसै बढ्छ ।’ कन्स्ट्रक्सन निर्माणको जिम्मा लिएको हिमाल हाइड्रोपावरले पछिल्लो समय फेवा कन्स्ट्रक्सनलाई सब–कन्ट्याक्टमा केही भागको काम जिम्मा लगाएको छ । हाल टनेल, बाँध र पावरहाउस निर्माणको काम धमाधम भइरहेको उनले बताए ।

    कास्कीको वीरेठाँटी र पर्वतको भुकतांगलेको सिमानामा पर्ने सिमखेतमा बाँध निर्माण गरी पर्वतको देउपुर २ बेतेनीसम्म २८ सय मिटरको सुरुङमार्फत ल्याएको पानी ७७ मिटर लामो टेलेरेसमार्फत मोदीखोलामा मिसाउने योजना छ । आइतबारसम्ममा ९ सय ६० मिटर टनेल पूरा भएको आयोजना प्रमुख देवकोटाले जानकारी दिए । हालसम्म करिब ६० करोड खर्च भएको आयोजनाका लेखा अधिकृत कृष्ण रिमालले बताए ।

    प्रमुख देवकोटाका अनुसार अहिले सर्फेसअन्तर्गत हेडवक्र्स र पावरहाउसको कामलाई प्राथमिकता दिइएको छ । आयोजनासम्म सामान ओसार्न मोदीखोलामा पुल र आवश्यक पर्ने कंक्रिटका लागि क्रसर उद्योग सञ्चालन भइसकेका छन् । बाँध र पावरहाउसको जिम्मा लिएको फेवा कन्स्ट्रक्सन अहिले २० मेगावाटको तल्लो मोदीमा व्यस्त भएकाले आगामी असारपछि त्यसले तीव्र गतिमा काम गर्ने जनाएको छ । ‘यतिबेला करिब दुई सय कामदार व्यस्त छन्,’ देवकोटाले भने, ‘यो अहिलेसम्मकै फुल स्पिडको काम हो ।’ हाइड्रोमेकानिकल र इलेक्ट्रो मेकानिकलको काम भने सुरु नै नभएको उनले बताए ।

    चौधरी ग्रुपले आयोजनाको सर्वेक्षण सकेर निर्माणको अन्तिम टुंगोअघि नै विद्युत् प्राधिकरणसँग विद्युत् खरिद समझौता (पीपीए) गरेको थियो । सम्झौताअनुसार प्राधिकरणले आयोजना निर्माण सम्पन्न हुनुअघि नै विद्युत्गृहदेखि देउपुरसम्म ४ किलोमिटर लामो प्रसारण लाइन बनाइसक्नुपर्छ । तर, अहिलेसम्म प्रसारण लाइन निर्माणमा चासो देखाएको छैन । प्राधिकरणको ढिलाइका कारण आयोजना सकिए पनि उत्पादित विद्युत् प्रसारणमा समस्या हुने देखिएको आयोजना प्रमुख देवकोटाले बताए । ‘हामीले ७५ असारसम्म उत्पादन दिने लक्ष्य लिएका छौं,’ उनले भने, ‘उता प्राधिकरणबाट प्रसारण लाइन निर्माणको संकेत देखिएकै छैन । यो अवस्थामा समयमा आयोजना सकिए पनि विद्युत् त्यसै खेर जाने देखिन्छ ।’

    हालको पातीचौर सबस्टेसनको क्षमताले नधान्ने देखिएपछि प्राधिकरणले क्षमता विस्तारसहित पातीचौरदेखि बेतेनीसम्म सबस्टेसन निर्माण गर्नुपर्ने अवस्था छ ।

    स्रोत:कान्तिपुर