जलविद्युत्को सेयर हाल्न जग्गा किन्नेको भीड

    1064

    मध्य तमोर जलविद्युत् आयोजनामा सेयर हाल्नका लागि जग्गा किन्नेले जिल्ला मालपोत कार्यालयमा भीड बढाएका छन्। आगामी पुसदेखि ७५ मेगावाटको मध्य तमोरको काम सुरु हुनेछ। 

    कार्यालयका अनुसार गत साउनदेखि भदौ १५ सम्म (डेढ महिना) मा मात्रै ५ सय ९९ कित्ता जग्गा रजिस्ट्ेरसन भएका छन्। गत वर्ष यो अवधिमा २ सय ३९ वटा मात्रै भएका थिए। ‘खोक्लिङ गाविसमा मात्रै ३ सय २४ कित्ता जग्गा रजिस्ट्ेरसन भएको छ,’ मालपोत अधिकृत कृष्णप्रसाद गौतमले भने, ‘खोक्लिङ मध्य तमोरको अति प्रभावित गाविस भएकाले यहाँको खरिद बिक्री अधिक भएको हो।’ खोक्लिङपछि हाङदेवा गाविसमा ११ कित्ता किनबेच भएको कार्यालयले जनाएको छ। खोक्लिङ, हाङदेवा, सावादिन र फुरुम्वु अति प्रभावित गाविसमा पर्छन्। 

    सामान्यतया बर्खाको सिजनमा जिल्ला मालपोत कार्यालय सुनसान जस्तै हुन्छ। तर, सन् २०१६ (आगामी पुस महिना) देखि पूर्वाधारको काम सुरु हुने मध्य तमोर आयोजनामा सेयर हाल्नका लागि जग्गा खरिद गर्नेहरूले कार्यालयको काम बढाएका हुन्। गौतमका अनुसार अधिकांशले चार आना जग्गा खरिद गरेका छन्। केहीले आठ आनासम्म पनि किनेका छन्। जग्गा खरिद गर्ने धेरैजसो इलामका छन्।

    चिसापानी, दानाबारी र केही चुलाचुलीकाले खरिद गरेको कार्यालयले जनाएको छ। अरू झापा र मोरङका छन्। ‘बाहिर कसरी कारोबार भयो थाहा छैन, कार्यालयमा भने ५ हजार रुपैयाँ मूल्यांकनले रजिस्ट्रेसन भएको छ,’ सूचना अधिकारी किशोर अधिकारीले भने, ‘त्यसको राजस्व १ सय रुपैयाँका दरले बुझाउनुपर्छ।’ यहाँको जग्गाको सरकारी मूल्यांकन प्रतिरोपनी १५ हजार रुपैयाँ छ।

    सरकारी मूल्यांकनअनुसार ४ आनाको ४ हजार रुपैयाँमा कारोबार हुन्छ। मध्य तमोरले गरेको अध्ययनअनुसार यहाँको जग्गा खरिद बिक्री प्रतिरोपनी १ लाख ५० हजार रुपैयाँसम्म रहेको छ। पाखोबारी २० हजारदेखि राम्रो जमिन १ लाख ५० हजार रुपैयाँमा कारोबार भएको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा उल्लेख गरिएको छ। यो आयोजना सानिमा हाइड्रो पावरको भ्रातृसंस्थाका रूपमा रहेको सानिमा हाइड्रो एन्ड इञ्जिनियरिङले गरिरहेको छ। 

    सन् २०१९ सम्म निर्माण गर्ने आयोजनाको सेयर प्रभावित क्षेत्रका बासिन्दालाई दिने उल्लेख छ। यो माथिल्लो तमोर जलविद्युत् आयोजनाको क्यास्केड आयोजनाका रूपमा रहेको छ। तापेथोक गाविसमा पावर हाउस रहने माथिल्लो तमोर आयोजना भने ४ सय १५ मेगावाट क्षमताको रहेको छ। 
    ९ अर्ब ८६ करोड ४० लाख रुपैयाँको लागतमा निर्माण हुने आयोजनाले धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०६७ को पालना गर्दै प्रभावित क्षेत्रका बासिन्दालाई सेयर दिने उल्लेख छ। फुरुम्बुको मित्लुङमा ट्यांकी निर्माण हुने आयोजनाको संरचना भने खेजेनिम र खोक्लिङ गाविसमा निर्माण हुने उल्लेख छ।

    स्रोत : कान्तिपुर