डुम्रे–दमौली–मस्र्याङ्दी प्रसारण लाइन निर्माणमा ढिलाइप्रति मन्त्रीको चासो

    1364

    डुम्रे–दमौली–मस्र्याङ्दी १३२ केभी प्रसारण लाइन आयोजनालगायत काममा भइरहेको ढिलाइप्रति उर्जा मन्त्री जनार्दन शर्माले चासो व्यक्त गरेका छन् ।

    डुम्रे–दमौली–मस्र्याङ्दी १४ किलोमिटर प्रसारण लाइन विस्तारका लागि निर्धारित ७० दिनको समयावधि लामो भएको भन्दै मन्त्री शर्माले त्यसलाई आधा घटाउन नेपाल विद्युत् प्राधिकरणका पदाधिकारी तथा आयोजना प्रमुखलाई निर्देशन दिए ।

    परियोजनाका काममा भइरहेको ढिलाइले कामको गति निकै सुस्त भएकामा असन्तोष प्रकट गर्दै मन्त्री शर्माले काम ढिलो गर्ने प्रवृत्ति तत्काल सच्याउन प्राधिकरणका पदाधिकारीलाई आग्रह गरे ।

    ‘प्राविधिक कुरा तपाईँहरु आफै मिलाउनोस्, तर मलाई तोकिएको समयभित्र काम सम्पन्न भएको नतिजा चाहिन्छ’ मन्त्री शर्माले भने, ‘तोकिएको जिम्मेवारीमा निर्धारित समयमा नतिजा निकाल्न नसक्ने अधिकारीलाई कारबाहीका लागि सिफारिस गर्नुहोस् ।’

    तोकिएको समयमा काम सम्पन्न नहुने गरी ढिला गरिरहेका कम्पनीसँगको सम्झौता खारेज गर्न उनले निर्देशन दिए । प्राधिकरणका पदाधिकारीले आफूसँग उपकरण तथा जनशक्ति पर्याप्त नभएकाले काममा बाधा उत्पन्न भएको गुनासो गरेका थिए ।

    ऊर्जा मन्त्रालयमा भएको छलफलमा डुम्रे–दमौली–मस्र्याङ्दी प्रसारण लाइन आयोजना प्रमुख गणेश केसीले आफूहरुले तोकिएको समयमै काम सम्पन्न गर्न सक्दो प्रयास गरिरहेको जानकारी गराए ।

    स्रोत : कारोबार