जलविद्युतमा संघर्ष समिति होइन, सहयोग समिति बनाउनुस् : ऊर्जामन्त्री

    1181

    ऊर्जामन्त्री जनार्दन शर्माले जलविद्युत् आयोजना निर्माणमा स्थानीय जनताले सहयोग गर्नुपर्ने बताएका छन् । जलविद्युत् आयोजना निर्माणस्थलमा संघर्ष र विरोधको साटो सहयोग गर्न स्थानीय जनता लाग्नुपर्ने मन्त्री शर्माले बताए ।

    पश्चिम सेती जलविद्युत् आयोजनास्थल बैतडीको ढुंगाढमा भएको कार्यक्रममा शर्माले जलविद्युत् आयोजनाहरूको मालिक स्थानीयलाई बनाउने नीति सरकारले लिएकाले आन्दोलनको सट्टा सहयोग अभियान चलाउनुपर्ने उल्लेख गरे । ‘ऊर्जा मन्त्रालयले नेपालको पानी, जनताको लगानी कार्यक्रम ल्याएको छ, स्थानीय जनतालाई सेयर लगानीमा पहिलो प्राथमिकता दिइन्छ, त्यसैले अब जलविद्युत् आयोजनाहरूमा तपार्इंहरूले संघर्षको सट्टा सहयोगको अभियान चलाउनुपर्छ,’ उनले भने, ‘जलाशययुक्त आयोजनास्थलबाट विस्थापित जनताका लागि सुविधासम्पन्न आवास योजना सरकारले ल्याउँछ, मन दुखाउनुपर्दैन ।’

    डोटी, बैतडी र डडेलधुराको सिमानामा बन्न लागेका ७ सय ५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजना सम्पन्न हुँदा सुदूरपश्चिमका जनता नै सम्पन्न हुने उनले बताए । उनले पश्चिम सेतीको काम छिट्टै सुरु गर्नुपर्ने पनि बताए । उनले देशभर लोडसेडिङ हटाउने तयारी भइरहेको भन्दै ३ वर्षभित्र देशभर विद्युतीकरणको आधारभूत काम सम्पन्न गर्ने गरी मन्त्रालयले योजना बनाइरहेको जानकारी दिए । ऊर्जा मन्त्रालयको कामले देशभर युवाहरूमा छाएको निराशा हटाउन सहयोग पुगेको भन्दै उनले यसलाई पुँजीकृत गरेर देशलाई समृद्ध बनाउने अभियान सुरु गर्न आह्वानसमेत गरे ।

    चमेलियाको पनि अनुगमन

    शर्माले निर्माणाधीन चमेलिया जलविद्युत् आयोजनाको पनि अनुगमन गरेका छन् । ३० मेगावाट क्षमताको आयोजना दार्चुलामा निर्माण भइरहेको छ । अनुगमनका क्रममा शर्माले संशोधित तालिकाअनुसार सन् २०१७ भित्र निर्माणको काम सम्पन्न गर्न निर्देशन दिए । ठेकेदारको लापरबाही तथा निर्माण भइसकेको सुरुङ खुम्चिँदा आयोजनाको काम १९ महिना ठप्प भएको थियो । प्रतिकूल भौगोलिक अवस्थितिका कारण ८ सय ४३ मिटर सुरुङ खुम्चिएको थियो । खुम्चिएको सुरुङमध्ये २५ मिटर मात्र खुलाउन बाँकी छ ।

    स्रोत:नयाँपत्रीका