सिङ्गटीको काम धमाधम

    1178

    जेठ १, काठमाडौं (अस) । सुपर सिक्सअन्तर्गतको दोलखास्थित सिङ्गटी जलविद्युत् आयोजना निर्माणको काम धमाधम अघि बढिरहेको छ । आयोजनाको ५ दशमलव ८ किलोमिटरको सुरुङमध्येको १ किलोमिटरको काम सकिएको छ । त्यसैगरी जेठ महीनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ हेडवक्र्सको काम ७० प्रतिशत सकिइसकेको छ । विद्युत् उत्पादन गृहको काम पनि उल्लेख्य मात्रामा भइरहेको उक्त आयोजना २०७५ सालको अन्त्यसम्ममा उत्पादनमा जानेछ ।

    तर, उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न आवश्यक काम शुरू नै नभएको एक प्रवर्द्धकले बताए । ‘यस आयोजनाको विद्युत्लाई केन्द्रीय प्रसारण लाइनमा जोड्न सिङ्गटी–लामोसाँघु (१३२ केभी) विद्युत् प्रसारण लाइन बन्नुपर्छ,’ उनले भने, ‘तर, ४० किलोमिटरको उक्त प्रसारण लाइनको काम हालसम्म अघि बढेको छैन ।’

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार भने उक्त प्रसारण लाइनको काम अघि बढ्ने निश्चित भएको छ । खानीखोला जलविद्युत् आयोजना सुपर सिक्समा नरहेको आयोजना हो । त्यसले गर्दा सिङ्गटी–लामोसाँघु प्रसारण लाइन नबन्दा मारमा परिहाल्ने अवस्थामा पनि खानीखोला नै छ ।

    प्रसारण लाइन नबनेका कारण सुपर सिक्सका साथै सम्बन्धित करिडोरहरूमा पर्ने अन्य आयोजनाको विद्युत् खेर जान नदिने घिसिङको भनाइ छ ।

    भारतीय ठेकेदार कम्पनी अरावली इन्फ्रा पावरसँग प्राधिकरणले सन् २०१० अक्टोबरमा सबस्टेशनका साथै सिङ्गटी–लामोसाँघु प्रसारण लाइन निर्माणको ठेक्का सम्झौता गरेको थियो । सोअनुसार उसले त्यसको २ वर्षभित्र सिङ्गटीमा सबस्टेशनसहित प्रसारण लाइन निर्माण गरिसक्नुपर्ने थियो ।

    सोलु र कोशीको अवस्था पनि उस्तै
    सुपर सिक्सका आयोजना रहेका सोलु र कोशी करिडोरमा पनि प्रसारण लाइनको काम अघि नबढेको सम्बन्धित आयोजनाका प्रवर्द्धकहरू बताउँछन् । सोलु करिडोरको प्रसारण लाइन सोलुखुम्बुको तिङ्लामा सबस्टेशन निर्माण गरी सिरहाको मिर्चैयासम्म ९२ किलोमिटरको हुनेछ । त्यसको निर्माणका लागि भारतीय कम्पनी मोहन इनर्जीले ठेक्का पाएको छ । तर, काम नगरी रहेको उक्त कम्पनीलाई हालै प्राधिकरणले ३० महीनाभित्र काम सक्ने गरी सम्झौता गरेको छ । त्यसअनुसार उसले २०७६ को वैशाखमा काम सक्नुपर्नेछ । तर, प्रसारण लाइनको काम सकिनु करीब आधा वर्षअघि नै माथिल्लो सोलु विद्युत् उत्पादनमा जानेछ । परिणामतः प्रसारण लाइनमा नजोडिँदासम्मको ४५ प्रतिशत क्षतिपूर्ति प्राधिकरणले तिर्ने र बाँकी ५५ प्रतिशत नोक्सानी प्रवद्र्धकले खप्नुपर्ने अवस्था सृजना भइरहेको छ ।

    यदि उक्त प्रसारण लाइनको काम विवादरहित ढङ्गले अघि बढी समयमै सकिए तल्लो सोलु भने नोक्सानीबाट बच्नेछ । उक्त आयोजना २०७६ को पुसबाट उत्पादनमा जानेछ । उता कोशी करिडोरको प्रसारण लाइनको काम शुरू नै नभएको सरोकारवालाहरू बताउँछन् । उक्त करिडोरमा रहेका मेवा र माया जलविद्युत् आयोजनाको पनि काम शुरू नभइसकेकाले हाललाई प्रसारण लाइनको कामको सवाल पनि खासै उठेको छैन ।

    स्रोत:अभियान