Private sector invested Upper Chaku ‘A’ Hydropower Project to be completed in April,2015.
चौतारा, कात्तिक १५ गते । निजी क्षेत्रको लगानीमा सिन्धुपाल्चोकको माथिल्लो चाकु ‘ए’ जलविद्युत् आयोजनाको काम निर्धारित समय आगामी चैतमा पूरा हुने गरी काम भइरहेको छ ।
शिवश्री हाइड्रो पावर लिमिटेडको रु तीन अर्बको लगानीमा चार वर्षअघि सुरु भएको २२.२ मेगावाटको सो आयोजनाको ७० प्रतिशत काम भइरहेको कार्यकारी अध्यक्ष उमेश कसजुले बताउनुभएको छ ।
जिल्लावासीलाई ६५ प्रतिशत शेयर वितरण गरिने आयोजनाले जनाएको छ । सो आयोजनाको विद्युत् गृह र बाँधको काम सम्पन्न भइसकेको छ । ८१५ हेड रहेको सो आयोजनाको प्रसारण लाइनको काम ५० प्रतिशत र तीन हजार ३०० मिटर सुरुङ मार्गमध्ये हालसम्म दुई हजार ४०० मिटर सम्पन्न भइसकेको अध्यक्ष कसजुले बताउनुभयो ।
अरनिको राजमार्गको १०० किमिमा पर्ने चाकु बजारदेखि मार्मिङ र फुल्पिङकट्टी गाविसको चन्द्रापुर र याङ्लेफाँटमा पर्ने योजना स्थलसम्मको ३० किमि प्रवेश मार्गसमेत सम्पन्न भइसकेको छ ।
आयोजना स्थलबाट लामोसाँघुसम्मको २० किमि १३२ केभि प्रसारण लाइनद्वारा लामोसाँघुको सवस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा आबद्ध गरिनेछ ।
सो कम्पनीले जिल्लाको माथिल्लो बलेफीमा सात अर्बको लगानीमा ३६ मेगावाटको आयोजनाको काम पनि सुरु गरिसकेको अध्यक्ष कसजुले जानकारी दिनुभयो । रासस