चमेलिया संरचनाहरूको परीक्षणअघि बढ्यो

    1128

    काठमाडौं : नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माण भइरहेको ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाले निर्माण सम्पन्न गरिएका संरचनाहरूको परीक्षण अघि बढाएको छ ।

    दार्चुलामा निर्माण भइरहेको चमेलिया जलविद्युत् आयोजनाले बल्ल निर्माण सम्पन्न संरचनाहरूको परीक्षण अघि बढाएको हो । २०६४ सालमा निर्माण सुरु गरेर २०६८ सालमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको आयोजनाको संरचनाहरू परीक्षण सुरु भएसँगै चमेलिया जलविद्युत् आयोजना सम्पन्न हुने अन्तिम अवस्थामा पुगेको देखिएको छ ।

    आयोजनाको बाँधको संरचनाहरूको परीक्षण सकिसकेको आयोजनाले हाल डिसेन्डिङ वेसिन (बालुव थिग्राउने पोखरी)को परीक्षण गरिरहेको आयोजना प्रमुख अजय दाहालले जानकारी दिए ।

     “रेडियल गेट, इन्टेक, स्टक प्लगलगायतको परीक्षण सकेर अहिले डिसेन्डिङ मेसिनको परीक्षण गरिरहेका छौ ।” उनले भने, “बाँध परीक्षणको क्रममा चुहावट नदेखिएपछि अन्य संरचनाको परीक्षण अघि बढाएका छौ ।” उनका अनुसार, “बाँधमा बिहान र बेलुका ३÷३ घण्टा पिक लोड दिन सक्ने ६ लाख १० हजार लिटर पानी जलाशय गर्न सक्ने क्षमता छ ।”

    बाँध परीक्षण सफल भएसँगै आयोजनाले आगामी २१ मे अर्थात् ६ जेठदेखि ड्राई परीक्षणसमेत गर्न लागेको छ । १ जेठदेखि सुरु गर्ने लक्ष्य राखे पनि कोरियन प्राविधिकहरू आउन ढिला भएपछि ५ दिन सारिएको प्रमुख दाहालले जानकारी दिए ।

    ड्राई टेस्टको क्रममा निर्माण पूरा भएका सबै उपकरणहरू ठीक अवस्थामा भए नभएकोबारे परीक्षण हुनेछन् । “आगामी सेक्टेम्बरमा वेट परीक्षण सकेपछि आगामी डिसेम्बरदेखि निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ, सुरुङ परीक्षण पनि सफल भएपछि उत्पादनको लागि तयार छ भन्ने संकेत हो,” उनले भने ।

    आयोजनाका अनुसार, ४.०६ किमि लामो सुरुङ खन्नका लागि तीन वटा अडिट टनेल निर्माण गरिएकोमा अडिट नम्बर १ लाई बन्द गर्ने कार्य भइरहेको छ भने अडिट नम्बर २ को कामअघि बढ्न लागेको छ । अहिले अडिट नम्बर ३ मा रक ट्रयाक गर्ने कार्यअघि बढेको आयोजनाले जनाएको छ । प्रमुख दाहालका अनुसार, हालसम्म आयोजनाको ९८.५ प्रतिशत काम पूरा भइसकेको छ ।

    आयोजना चाइना गेजुवा ग्रुप अफ पावर कम्पनी (सीजीजीसी)ले निर्माण गरिरहेको आयोजनाको सुरुको लागत ८ अर्ब ५४ लाख रहेकोमा बढेर १५ अर्ब पुगिसकेको छ ।

    टनेलमा स्वीजिङ (साँघुरिने) समस्या आएपछि यसमा आएको भेरियसनबारे ससदको सार्वजनिक लेखा समितिले अनियमितता भएको भदै काम रोक्न निर्देशन दिएपछि झण्डै एक वर्षभन्दा बढी निर्माण कार्य रोकिएको थियो ।

    स्रोत:कारोबार दैनिक