जम्मा २० करोडको बिजुली थप्दा लोडसेडिङ अन्त्य

    911

    कुलमान भन्छन्

    -तामाकोसी बनेपछि बत्ती बेच्छौँ
    -जेठपछि उद्योगमा बत्ती जाँदैन
    -काठमाडौंमा प्रणाली सुधार गर्नुपर्ने छ

    गत वर्षको तुलनामा जम्मा २० करोड १० लाख रुपैयाँको थप विद्युत् आयात गरेर नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ अन्त्य गरेको छ । विद्युत् प्राधिकरणले महँगोमा आइरहेको बिजुलीको आपूर्ति घटाएर सस्तो बिजुली आयात गर्दा उज्यालो बढेको छ, खर्च घटेको छ ।

    गत आर्थिक वर्षमा १३ अर्ब ९७ करोड रुपैयाँको विद्युत् भारतबाट आयात गरेर वितरण गरेको प्राधिकरणले चालू आवमा १४ अर्ब १७ करोड रुपैयाँको विद्युत् आयात हुने प्रक्षेपण गरेको छ । अहिलेसम्म नौ अर्ब रुपैयाँको विद्युत् आयात भएको र बाँकी समयमा पाँच अर्बको बत्ती आयात हुने प्रक्षेपण प्राधिकरणको छ । ११ रुपैयाँ नेपालीसम्म पर्ने बिजुलीको आयात घटाउँदै प्राधिकरणले तीन रुपैयाँ ६० पैसा भारुको बिजुली आपूर्ति बढाएको छ ।

    प्राधिकरणले अघिल्लो आवमा १ अर्ब ७३ करोड युनिट (१७३० गिगावाट आवर) बिजुली भारतबाट आयात गरेको थियो । यो वर्षको अन्त्यसम्ममा १ अर्ब ९७ करोड २० लाख युनिट (१९७२ गिगावाट आवर) बिजुली आयात हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘गत वर्षको भन्दा १३ प्रतिशत विद्युत् थप आयात गरेका छौँ,’ उनले भने, ‘गत वर्ष कुल ऊर्जाको ३५ प्रतिशत आयात भएको थियो, यो वर्ष ३३ प्रतिशतमा झरेको छ ।’

    चालू आव पूरा हुन अझै साढे तीन महिना बाँकी छ । तर, यो वर्ष वर्षा भइरहेकाले गत वर्षजस्तो दबाबमा प्राधिकरण छैन । अब हिउँ पग्लन सुरु हुने भएकाले नदीमा पानीको बहाव पनि बढ्नेछ । आन्तरिक उत्पादन बढ्ने भएकाले भारतसँग अनिवार्य खरिद सम्झौता गरेकोबाहेक बिजुली प्राधिकरणले नकिन्न पनि सक्छ ।

    गत वर्ष भारतसँग कुल आम्दानीको ४४ प्रतिशत विद्युत् खरिद गरेको प्राधिकरणले चालू वर्षमा आफ्नो आम्दानीको ३२ प्रतिशत रकमबराबरको विद्युत् खरिद गर्ने जनाएको छ । गत वर्ष प्राधिकरणको आम्दानी ३२ अर्ब थियो भने यो वर्ष ४४ अर्ब रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ । प्राधिकरणले पछिल्लो ६ महिनामा विद्युत् चुहावट नियन्त्रणबाट १ अर्ब २५ करोड रुपैयाँ बचत भएको जनाएको छ । तर, सुरक्षा निकाय चुनावमा व्यस्त भएकाले केही समय चुहावट नियन्त्रणमा प्रभाव पर्न सक्ने आशंका प्राधिकरणले गरेको छ ।

    तामाकोसी बनेपछि बत्ती बेच्छौँ
    ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माण सम्पन्न भएपछि कम्तीमा ६ महिना त्यसबाट उत्पादित विद्युत् बेच्ने योजना घिसिङको छ । ‘तामाकोसी निर्माण सम्पन्न भएपछि हिउँदमा थोरै मात्रै बत्ती आयात गर्नुपर्ला,’ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘वर्षाको समयमा तामाकोसीबाट उत्पादित विद्युत् बेच्नुपर्ने अवस्था आउँछ ।’

    तामाकोसी नआउँदै निजी क्षेत्रबाट करिब दुई सय मेगावाट विद्युत् प्रणालीमा थपिने भएकाले व्यवस्थापनमा अझ सजिलो हुने उनले बताए । त्यसका अतिरिक्त कुलेखानी र चमेलिया जलविद्युत् आयोजना पनि निर्माण सम्पन्न हुने भएकाले थप सहज हुने घिसिङले दाबी गरे ।

    जेठपछि उद्योगमा बत्ती नजाने
    प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आउँदो जेठपछि उद्योग प्रतिष्ठानमा पनि बत्ती नजाने बताएका छन् । गार्हस्थ ग्राहकले बत्ती पाइसकेको भन्दै घिसिङले अब उद्योगलाई पनि बत्ती दिने व्यवस्था मिलाइने बताए । ‘अहिले उद्योगहरूमा ४ घन्टा लोडसेडिङ छ, त्यसलाई पनि अब जेठपछि अन्त्य गर्छौँ,’ उनले भने । चैतको सुरुदेखि देशभरका गार्हस्थ ग्राहकले बत्ती पाइरहेको उनले जानकारी दिए ।

    काठमाडौंमा प्रणाली सुधार गर्नुपर्ने
    विद्युत् प्राधिकरणले उत्पादन बढ्न थालेसँगै विद्युत् वितरण प्रणाली सुधार गर्नुपर्ने जनाएको छ । अहिलेको प्रणालीअनुसार काठमाडौंमा बढीमा चार सय मेगावाट विद्युत् ल्याउन सकिन्छ । त्यसलाई कम्तीमा दोब्बर गर्नुपर्ने घिसिङले बताए । ‘वितरण प्रणालीको क्षमता दोब्बर गर्ने हो भने माग पनि बढाउन सकिन्छ,’ उनले भने, ‘प्रणालीमा सुधार गरेर माग वृद्धि गर्नेतर्फ सोच्नुपर्ने वेला आइसकेको छ ।’

    स्रोत:नयाँपत्रीका