‘तामाकोसी बनेपछि बिजुली निर्यात’

    1583

    चैत्र २३, २०७३- विद्युत् प्राधिकरणले मुलुकलाई लोडसेडिङमुक्त बनाउन यस आर्थिक वर्षमा भारतबाट करिब १५ अर्ब रुपैयाँ बराबरको विद्युत् आयात गरिने जनाएको छ । चालु वर्षको ९ महिनामा ९ अर्ब ६ करोड ८४ लाख रुपैयाँ बराबर विद्युत् आयात भइसकेकोमा बाँकी तीन महिनामा थप ६ अर्ब रुपैयाँ बराबरको आयात हुने प्राधिकरणको प्रक्षेपण छ ।

    प्राधिकरणमा मंगलबार पत्रकार सम्मेलन गरी कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आवमा गत आवभन्दा १ अर्ब रुपैयाँ बढीको मात्र बिजुली आयात हुने जानकारी दिए । उनका अनुसार गत वर्ष १३ अर्ब ९७ करोड २२ लाख रुपैयाँको बिजुली आयात गरिएको थियो । प्राधिकरणले हाल भारतबाट ५ सय मेगावाट हाराहारी आयात गरिरहेको छ ।

    यस वर्ष प्राधिकरणले भारतबाट १ अर्ब ९७ करोड २० लाख युनिट बिजुली ल्याउनेछ । अघिल्लो वर्ष १ अर्ब ७३ करोड ९ लाख युनिट ल्याइएको थियो । यस वर्ष चैतमा समेत राम्रो वर्षा भइरहेकाले नदीको प्रवाहमा आधारित विद्युत् आयोजनामा बिजुलीको उत्पादन बढेको र आधा दर्जन आयोजना सम्पन्न भई १ सय ५ मेगावाट बिजुली थपिएको प्राधिकरणले जनाएको छ ।

    भूकम्पबाट क्षतिग्रस्त भोटेकोसी आयोजना पुनर्निर्माण सकिन लागेकाले त्यसबाट छिट्टै ४५ मेगावाट बिजुली थपिने पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो । मुलुकको ऊर्जा संकट समाधान गर्न मात्रै तत्कालका लागि विद्युत् आयात गरिएको बताउँदै घिसिङले निर्माणाधीन आयोजना सम्पन्न भएपछि प्राधिकरण आफैंले विद्युत् निर्यात गर्न सक्ने दाबी गरे ।

    ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी बनेपछि वर्षायाममा बढी हुने बिजुली भारतलाई बेच्नुपर्ने अवस्था आउने उनले जनाए । ‘माथिल्लो तामाकोसी सम्पन्न भएपछि वर्षायाममा बिजुली खेर जाने अवस्था आउने भएकाले मुलुकभित्रै कसरी खपत बढाउने र भारतमा निर्यात गर्ने भन्नेबारे छलफल भइरहेको छ,’ कार्यकारी निर्देशक घिसिङले भने ।

    उनका अनुसार यस आवमा प्राधिकरणको आम्दानी अघिल्लो वर्षभन्दा १२ अर्ब बढी हुनेछ । गत वर्ष ३२ अर्ब आम्दानी गरेको प्राधिकरणले चालु वर्ष १२ अर्ब बढी अर्थात् ४४ अर्ब रुपैयाँ आम्दानी गर्ने भएको छ । गत वर्ष ५ हजार गिगावाट आवर विद्युत् उपलब्ध भएकामा यस वर्ष ६ हजार गिगावाट आवर विद्युत् उत्पादन भएकाले प्राधिकरणको आम्दानी बढेको हो । प्राधिकरणले हाल साँझको समयमा ९ सय २० मेगावाटसम्म बिजुली वितरण गर्दै आइरहेको छ ।

    प्राधिकरणले देशव्यापी रूपमा अघि बढाइएको नियन्त्रण अभियानका कारण विद्युत् चुहावट र चोरीमा करिब चार प्रतिशतले कमी आएको दाबी गरेको छ । त्यसबाट प्राधिकरणलाई थप १ अर्ब २० करोड रुपैयाँ बराबर आम्दानी भएको जानकारी घिसिङले दिए । उनले चालु आवको अन्त्यसम्म चुहावट करिब ५ प्रतिशतले कम गर्ने गरी अभियान अगाडि बढाइएको बताए ।

    स्रोत:कान्तिपुर