चालू आवमा ४६ मेगावाट विद्युत् थपिंदै

    3609

    साउन १२, काठमाडौं ।

    2070-71निजीक्षेत्रबाट चालू आर्थिक वर्ष २०७०/७१ मा ४६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिँदै छ । सातओटा आयोजनाको निर्माण कार्य चालू आवभित्रै पूरा हुने अवस्थामा रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) अध्यक्ष डा. सुवर्णदास श्रेष्ठले बताए । उनले भने, ‘चालू आवमा गत आवभन्दा ५ मेगावाट विद्युत् बढी उत्पादन हुनेछ ।’ गत आव २०६९/७० मा निजीक्षेत्रबाट ४१ दशमलव ३ मेगावाट विद्युत् उत्पादन भएको थियो ।

    निजीक्षेत्रले गत आवको असार अन्त्यसम्ममा कुल २ सय ३० मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा थपेका छन् । चालू आवको शुरूमै ८ दशमलव ४ मेगावाट विद्युत् आँखुखोला जलविद्युत् आयोजनाबाट उत्पादन हुन थालेको छ । सो आयोजनाले आगामी सातादेखि विद्युत् उत्पादन व्यावसायिक रूपमै गर्ने आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडका कार्यकारी निर्देशक विश्वनाथ कँडेलले बताए । सरकारले २०४९ देखि निजीक्षेत्रलाई जलविद्युत् आयोजना निर्माणका लागि अनुमति दिन थालेको हो ।

    सरकारले विद्युत् ऐन, २०४९ तथा जलविद्युत्सम्बन्धी अन्य नीतिहरू र आवधिक योजनासमेतबाट जलविद्युत्को उत्पादन तथा वितरणमा निजीक्षेत्र र समुदायसमेतलाई संलग्न गराउँदै आएको छ ।

    सरकारले जलविद्युत् आयोजनाहरूको निर्माण गर्दा आवश्यक पर्ने सिभिल निर्माण कार्यमा पूर्ण रूपमा मूल्य अभिवृद्धि कर (भ्याट) छूटको व्यवस्था गरिदिने हो भने निजीक्षेत्रले अझ बढी विद्युत् उत्पादन गर्न सक्छन्, ’इप्पानका पूर्वअध्यक्ष डा. सन्दीप शाहले भने ।

    मन्त्रिपरिषद्ले प्रतिमेगावाट १ करोड रुपैयाँ भ्याट छूट दिने निर्णय गरे पनि ऊर्जाले अर्थ मन्त्रालयलाई सिफारिश नगरेका कारण सो सुविधा पनि पाउन नसकेको उनको भनाइ छ । सरकारीस्तरबाट भने ५ वर्षअघि ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना निर्माण भएपछि अन्य आयोजना निर्माण नभएको नेपाल विद्युत् प्राधिकरण व्यापार विभागका निर्देशक एवम् प्रवक्ता शेरसिंह भाटले बताए । निजीक्षेत्रका प्रवर्द्धकहरूले भने साना तथा मझौला खालका आयोजना निर्माण गर्दै आएका छन् ।

    Source : Abhayan