अस्तव्यस्त विद्युत् प्राधिकरण

    2754

    काठमाडौं, १३ साउन

    NEA_Buldingनयाँ सांगठनिक संरचनालाई प्रभावकारी रूपमा कार्यान्वयन नगर्दा विद्युत् प्राधिकरण अस्तव्यस्त बनेको छ । नयाँ सांगठनिक संरचना प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादव नयाँ संरचना लागू भएको निर्देशन जारी गर्नमै सीमित भएका छन् । कर्मचारी सरुवामा हस्तक्षेप गरेपछि ऊर्जामन्त्री एवं प्राधिकरणका अध्यक्ष उमाकान्त झा पनि विवादमा तानिएका छन् ।

    नयाँ संरचना लागू गर्दा गाभिएका व्यवसाय समूहका कर्मचारीलाई खटाउने कार्यालय, बैंक खाता बन्द गर्नेलगायतका काममा कार्यकारी निर्देशक यादवले ध्यानै दिएका छैनन् । प्राधिकरणका एक उपकार्यकारी निर्देशकले नयाँ संरचना कार्यान्वयन नगरिँदा कर्मचारी अन्योलमा परेको बताए ।

    ‘केही व्यवसाय समूह गाभिएका छन्, तर सोही समूहअन्तर्गतका कर्मचारी कुन कार्यालयमा हाजिर गर्ने, बैंक खाता कसरी सञ्चालन गर्नेलगायतमा अन्योल छ, १० तहसम्मका कर्मचारीको कार्यालय तोकिए पनि त्यसभन्दा तलका कर्मचारीको कार्यालय नतोकिएकाले प्राधिकरण अस्तव्यस्त बनेको छ, कार्यकारी निर्देशकलाई मतलव छैन,’ उनले भने ।
    प्राधिकरणले १ साउनदेखि विद्युत् प्राधिकरणको नयाँ सांगठनिक संरचनामा लागू गरेको थियो । प्राधिकरणले पहिले रहेको १० व्यवसाय समूहलाई घटाएर ७ कायम गरी ६ साउनमा उपकार्यकारी निर्देशक तोकेको थियो । तर, ७ साउनदेखि निर्वाचन आचारसंहिता लागू भएकाले प्राधिकरण व्यवस्थापन कर्मचारी सरुवा गर्न सक्ने अवस्थामा छैन ।

    प्रसारण लाइन र उत्पादन व्यसाय समूह सबैभन्दा बढी प्रभावित भएका छन् । प्रसारण लाइन व्यवसाय समूह नेतृत्वविहीन बनेको छ, निमित्तको जिम्मेवारी पनि सबैलाई दिइएको छ । उत्पादन व्यवसाय समूहको माथिल्लो त्रिशूली ३ ए जलविद्युत् आयोजनाको क्षमता वृद्धिको लविङमा लागेका विवादित राजेश्वरमान सुल्प्यालाई जिम्मेवारी दिएको भन्दै प्राधिकरणमा क्रियाशील ट्रेड युनियनले विरोध गरेका छन् ।

    ट्रेड युनियनले विरोध गरेपछि सुल्प्याले कार्यालय जान सकेका छैनन् । उत्पादनअन्तर्गत निर्माणाधीन जलविद्युत् आयोजना पर्छन् । प्राधिकरणले निर्माण गरिरहेका सबै आयोजना समस्यामा छन् । ट्रेड युनियनले सुल्प्याको सरुवा माग गरेका छन् ।

    सरकारले उच्च प्राथमिकतामा राखेको प्रासारण लाइन निर्माण गर्ने व्यवसाय समूह नै नेतृत्वविहीन बनेको छ । सरकारले चालू आर्थिक वर्षमा प्रसारण लाइन निर्माणलाई मात्रै साढे १३ अर्ब रुपैयाँ छुटयाएको छ ।

    तत्कालीन उत्पादन, सञ्चालन तथा मर्मतसम्भार व्यवसाय समूहका महाप्रबन्धक महेन्द्रलाल श्रेष्ठलाई प्रसारण लाइनमा सरुवा गरिएको थियो । उमेर हदका कारण अनिवार्य अवकाश पाउनुभन्दा तीन दिनअघि सरुवा गरिएपछि असन्तुष्टि जनाउँदै श्रेष्ठ प्रसारण लाइन व्यवसाय समूहमा गएका छैनन् । श्रेष्ठले ९ साउनमा अवकाश पाइसकेका छन् । उनी त्यहाँ नगएको र कसैलाई पनि निमित्तको जिम्मेवारी नदिएकाले प्रसारण लाइन नेतृत्वविहीन बनेको हो ।

    जलविद्युत् विकासमा मुख्य अवरोध मानिएको प्रसारण लाइन निर्माण गर्ने व्यवसाय समूह नेतृत्वविहीन बन्दा झनै ठूलो समस्या आउने देखिएको छ । नेतृत्व नहुँदा प्रसारण लाइन व्यवसायको काम प्रभावित भएको छ । प्रसारण लाइन तथा प्रणाली सञ्चालन र ग्रिड विकासलाई गाभेर नयाँ सांगठनिक संरचनामा प्रसारण लाइन व्यवसाय समूह बनाइएको थियो ।
    श्रेष्ठको अवकाशपछि अहिले ११ तहका निर्देशक पुष्पराज खड्कालाई निमित्त उपकार्यकारी निर्देशकको जिम्मेवारी दिने तयारी प्राधिकरणले गरेको थियो । तर, श्रेष्ठ जाँदै नगएपछि प्राधिकरण व्यवस्थापन समस्यामा परेको स्रोतले बतायो ।

    सचेन गौतम/नयाँ पत्रिका