चाके खोला जलविद्युतको काम ९० प्रतिशत पूरा, ५० करोडको लागतमा सम्पन्न

    3400

    पुस २२, रामेछाप  । रामेछाप जिल्लाको चुचुरे–२ मा बन्न लागेको २.८३ मेगावाटको जलविद्युतको काम ९० प्रतिशत पूरा भएको आयोजनाका लेखा प्रमुख दिलु कार्कीले बताए ।

    चाके खोलाको पानीलाई चुचुरे वडा नं २, ३ र ४ हुँदै पाँच किलोमिटर पाइपलाइन बिछ्याइसकिएको छ भने चुचुरे–२ मा विद्युत प्रसारण गरिने घर समेत बनिसकेको छ । २.८३ मेगावाट क्षमताको विद्युत प्रसारणलाई केन्द्रीय जलविद्युतसँग जोड्नलाई तार लाइन दोलखाको जिरीसम्म पुर्‍याइ सकिएको छ ।

    विद्युत प्रवाह हुँदा रामेछापको चुचुरे गाविसका १, २ र ३ वडाका नागरिकलाई सामान्य सेवा पुग्नुका साथै केन्द्रीय लाइनमा विद्युत् थपिएसँगै यो क्षेत्रमा विद्युत् थप भई विद्युतभार कटौती नहुने आयोजनाले बताएको  छ ।

    स्वदेशी लगानीमा निर्माण भइरहेको जलविद्युत आयोजना रू. ५० करोडको लागतमा सम्पन्न हुने भएको छ भने यसको लगानी चुचुरेका स्थानीयवासी, दोलखाका श्यामावासी र क्षेत्र नम्बर २ रामेछापका सांसद आङटावा शेर्पालगायतको रहेको छ ।

    रासस