कुलेखानी तेस्रोको परामर्शदाता चयनमा ढिलाइ

    2647

    काठमाडौं, १७ मंसिर – चीनको सिनो हाइड्रो कर्पोरेसनसँग पुनः ठेक्का सम्झौता भएको नौ महिना बितिसक्दा पनि कुलेखानी तेस्रो जलविद्युत् आयोजनामा सुपरिवेक्षण गर्ने परामर्शदाता चयन हुन सकेको छैन ।
    अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सार्वजनिक खरिद अनुगमन कार्यालयमा परामर्शदाता चयनको विषयमा उजुरी परेपछि नेपाल विद्युत् प्राधिकरणले परामर्शदाता चयन गर्न नसकेको हो । परामर्शदाताको सुपरिवेक्षण बिना अहिले सिभिल निर्माण भइरहेको छ । सिभिल निर्माण सुरु हुनुअगावै परामर्शदाताको चयन गर्नुपर्ने थियो ।
    अख्तियार र  अनुगमन कार्यालयमा उजुरी परेपछि परामर्शदाताको चयन गर्न नसकेको कुलेखानी तेस्रो आयोजना प्रमुख मधुसूदनप्रताप मल्लले बताए । उजुरीका बारे  सोमबार स्पष्टीकरण दिन पत्र तयार गरेको उनले बताए । आयोजना प्रमुख मल्ल परामर्शदाताको प्रस्ताव मूल्यांकन समितिका संयोजक पनि हुन् ।
    उनका अनुसार सार्वजनिक खरिद ऐनको दफा ६६ मा तत्काल खरिद नगर्दा सार्वजनिक निकायलाई हानि–नोक्सानी हुने भए आपूmअनुकूल खरिद गर्ने पाउने प्रावधान छ । आपत्कालीन अवस्था आएकाले छोटो समय राखेर बोलपत्र आह्वान गरेको उनले बताए ।
    आयोजनामा ढिलाइ भइसकेकोले छोटो समय दिई गत असोजमा परामर्शदाताको प्रस्ताव आह्वान गरिएकोमा अस्ट्रलियाको स्नोई माउन्टेन इन्जिनियरिङ कर्पोरेशन (स्मेक), भारतको वाटर एण्ड पावर कन्सलटेन्ट र टाटा कन्सल्टिङ इन्जिनियर्स गरी तीन कम्पनीले परामर्शका लागि प्रस्ताव पेस गरेका छन् । प्रस्तावको मूल्यांकन भइसकेको छ ।
    परामर्शदाता नियुक्तिमा भएकाले ढिलाइले आयोजना सिभिल निर्माण कामलाई असर पर्न थालेको छ । परमर्शदाता नभएपछि ठेकेदारले आफू अनुुकूल काम गर्ने र पुनः निर्धारित समयमा आयोजनाको कम सम्पन्न नहुने सम्भावना रहेको उनको भनाइ छ । परामर्शदाता नभएकाले आयोजनाको विद्युत्गृहको डिजाइन परिवर्तनका साथै इलेक्ट्रोमेकानिकलको काम अघि बढ्न सकेको छैन्  । गत फागुनमा ३० महिनामा आयोजना सिभिल निर्माण सक्ने गरी सिनोसंग पुनः ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार अब २१ महिना मात्र बाँकी छ ।
    आयोजनामा पटक–पटक परामर्शदाताका लागि प्रस्ताव आह्वान गर्दै फेरि माग्दा अन्तर्राष्ट्रिय जगत्मा विद्युत् प्राधिकरणको नकारात्मक सन्देश गएको उनको भनाइ छ ।
    परमर्शदाताले ठेकेदारलाई काम लगाउने, नक्सा उपलब्ध गराउने, ठेकेदारले काम गरेर पेस गरेको बिल स्वीकृत र सुपरिवेक्षण गर्नुपर्छ ।  सिभिल निर्माण काम भइसक्दा पनि परामर्शदाता चयनमा भएको ढिलाइले आयोजनालाई करोडौंको नोक्सानी बढ्दै गएको छ भने अर्कातिर ठेकेदारले थप दाबी गर्दै जाने स्थिति बनेको छ । १४ मेगावाट जडित क्षमताको यो आयोजनामा विद्युत् प्राधिकरणको हालसम्म २ अर्ब रुपैयाँ लगानी भइसकेको छ । सुरुमा २ अर्ब ४३ करोड रुपैयाँमा आयोजना बनाइसक्ने लक्ष्यका साथ आयोजनाको निर्माण सुरु भएको हो ।
    हालसम्म सिनोले १ हजार ९ सय मिटर मात्र सुरुङ खनेको छ । सुरुङको लम्बाइ ४ हजार ३ सय मिटर छ । यस्तै विद्युत्गृहलगायत इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलको काम बाँकी नै छ ।
    गत वर्ष नै सक्ने गरी सन् २००८ को अप्रिलबाट आयोजनाको निर्माण सुरु भएको थियो । त्यसबेला नियुक्त गरिएको परामर्शदाता वाटर रिसोर्स कन्सल्ट प्रालि, सिल्ट कन्सल्ट र हाइड्रो इन्जिनियरिङ एन्ड डेभलपमेन्ट कम्पनी प्रालि संयुक्त उपव्रmमको गैरजिम्मेवारीका कारण तोकिएको समयभित्र आयोजनाको काम सम्पन्न नभएको र आयोजनालाई करोडौं रुपैयाँ नोक्सानसमेत भएको ठहर विद्युत् प्राधिकरणले गरिसकेको छ ।
    समयमा ठेकेदारलाई परिचालन नगरेको, समयमा काम लगाउन नसकेको, समयमा आवश्यक नक्साहरू उपलब्ध गराउन नसकेको जस्ता उक्त परामर्शदाताका गैरजिम्मेवार सुपरिवेक्षण कामले गर्दा आयोजना ३८ महिनाले ढिलो हुन पुगेको छ भने करोडौं रुपैयाँले आयोजनाको लागत बढिसकेको छ ।  आयोजना तीन वर्षपछि धकेलिएको छ ।

    प्रस्तुति: कारोबार