कुलेखानी विद्युत् आयोजना – सिभिल ठेकेदार सिनोद्वारा ११ करोड दाबी

    1375
    Kulikhani III HEP Adit Tunnel
    Kulikhani III HEP Adit Tunnel

    काठमाडौं, १७ मंसिर –  पटक–पटकको बन्द, हड्ताल र भौगर्भिक कारणले सुरुङ खन्न समस्या आएको भन्दै कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको सिभिल ठेकेदार सिनो हाइड्रो कर्पोरेसनले ११ करोड रुपैयाँ दाबी पेस गरेको छ ।
    सिनोले वैशाख र जेठमा विभिन्न समूहका बन्द र हड्तालले आयोजनाको काम प्रभावित भएको भन्दै ५ करोड र सुरुङ खन्दा माटो खस्ने समस्या आएको भन्दै ६ करोड रुपैयाँ दावी पेस गरेको हो ।
    ठेकेदारको दाबी मूल्यांकन समितिमा पठाइएको आयोजना प्रमुख मधुसूदनप्रताप मल्लले बताए । ठेकेदारको दाबीमा अहिले नै निर्णय नहुने जानकारी उनले दिए ।
    थप ३८ करोड रुपैयाँ भुत्तानी गर्ने गरी गत वर्ष फागुनमा विद्युत् प्राधिकरण र सिनोबीच पुनः ठेक्का सम्झौता भएको हो । यसमध्ये प्राधिकरणले ठेकेदारलाई २० करोड रुपैयाँ भुक्तानी गरिसकेको छ । ठेक्का सम्झौतापछि प्राधिकरणले आयोजनाको समय लम्बिएको, मूल्य समायोजन र दाबी भुक्तानी गर्दै आएको छ ।
    सिनोलाई आयोजनाको समय लम्बिएबापत प्राधिकरणले मासिक ५१ लाख रुपैयाँ भुक्तानी गर्दै आएको छ । म्याद थप भएको ३० महिनामा उसलाई प्राधिकरणले १५ करोड रुपैयाँभन्दा बढी भुक्तानी गर्नुपर्ने हुन्छ ।
    २ अर्ब ४३ करोड रुपैयाँमा सम्पन्न गर्ने गरी सन् २००८ देखि आयोजनाको सिभिल निर्माण सुरु भएको हो । आयोजनाको आधा काम सम्पन्न हुँदा प्राधिकरणले २ अर्ब रुपैयाँ लगानी गरिसकेको छ । मकवानपुरको भैसेमा पर्ने आयोजनाको जडित क्षमता १४ मेगावाट छ । हालसम्म सिनोले ४ मध्ये २ किलोमिटर सुरुङ खनेको छ ।

    प्रस्तुति: कारोबार