सिंगटी हाइड्रोपावरको सुरुङ ‘ब्रेक थ्रु’

    1532

    दोलखा-सिंगटी खोलामा निर्माणाधीन २५ मेगावाटको सिगंटी जलविद्युत् आयोजनाको सुरुङ ब्रेक थ्रु भएको छ । आयोजनाको सुरुङको यो पहिलो ब्रेक थ्रु हो । शनिबार दिउँसो ३ बजेर ५ मिनेट जाँदा ब्रेक थ्रु भएको सिंगटी हाइड्रो इनर्जी लिमिटेडका आयोजना निर्देशक काजी लामाले जानकारी दिए ।

    पहिलो सुरुङ ब्रेक थ्रु भएसँगै आयोजनाको प्रगतिमा इँटा थपिएको उनले प्रतिक्रिया दिए । पहिलो ब्रेक थ्रुसँगै ३ किलोमिटर खण्ड वारपार भएको छ । आयोजनाको हेडवक्स खण्डको माथिल्लो खण्डको सुरुङ खुलेको हो । समय तालिका अनुसार लक्ष्यबिना अवरोध लक्ष्य भेट्न सकिएकोले आयोजनाको समग्र टिमलाई नै हर्षित बनाएको उनले बताए । सिंगटी हाइड्रो इनर्जी लिमिटेडका अर्का सञ्चालक बटु लामिछानेले सुरुङको पहिलो खण्डको सफलताले लगानीकर्ता, निर्माण व्यवसायी, सेयर होल्डर, मजदुर सबैलाई हर्षित बनाएको प्रतिक्रिया दिए । सिभिल निर्माण सुरु गरेको छोटो समयमै राम्रो प्रगति गर्ने नेपालकै पहिलो जलविद्युत् आयोजना भएको उनले बताए ।

    सिंगटी हाइड्रो इनर्जी लिमिटेडले २ वर्ष अवधिमा आयोजनाको निर्माण अन्तिम चरणमा पुराएको छ । आयोजनाको समग्र प्रगति ८० प्रतिशत भएको छ । आयोजनाको बाँध क्षेत्रको काम अन्तिम चरणमा पुराएको छ । अब सुरुङभित्रको फिनिसिङको काम सुरु हुने उनले जानकारी दिए । ५ हजार ९१५ मिटर लामो हेडरेस सुरुङमध्ये अब पावर हाउसतर्फको खण्डमा ९ सय मिटरमात्र बाँकी छ । त्यो पनि आउँदो माघसम्म पूरा हुने आयोजना प्रमुख मनहरि सापकोटाले जानकारी दिए ।

    “छोटो समयमा सुरुङ निर्माणमा ठूलो सफलता मिलेको छ,” उनले भने, “इनलेटतर्फको १.८ किलोमिटर खनिएको छ ।” इनलेटबाट १.८ किमि सुरुङ खनिनु ऐतिहासिक भएको आयोजना प्रमुख सापकोटाले दाबी गरे । फागुनभित्र मुख्य सुरुङ छेड्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ । ब्रेक थ्रु भएको पहिलो खण्डको हेडवक्स तर्फबाट (इनलेट) १७ सय ९१ र बीचबाट ३ सय मिटर अडिटसहित १५ सय मिटर सुरुङ तयार भएको उनले जानकारी दिए ।

    शिरिसघारीस्थित कात्तिके गाउँमा निर्माण भइरहेको विद्युत्गृहको ६० प्रतिशत काम सम्पन्न भएको छ । चैतभित्र विद्युत्गृहको निर्माण पूरा हुने कम्पनीले जनाएको छ । एक महिनाभित्रै क्रेन बिम तहमा पुग्ने उनले दाबी गरे । आयोजनाको बढी काम अब पेनस्टक पाइप र तल्लो खण्डको सुरुङको काम छ । पाइपमा तत्कालै ४ समूहमा काम गराउने उनले जानकारी दिए । दसैंलगत्तै विद्युत्गृह भित्रका उपकरण पनि साइट आउने उनले जानकारी दिए ।

    हेडरेस सुरुङको तल्लो खण्डतर्फ बीचको अडिट सुरुङपछि १ हजार ९ मिटर तयार भएको छ भने आउटलेट तर्फबाट ७६१ मिटर तयार भइसकेको छ । तयार भएको सुरुङभित्र लाइनिङ, फिनिसिङको काम तत्कालै सुरु हुने उनले बताए । सरकारले प्रतिस्पर्धा गराएर निजी क्षेत्रलाई निर्माणको अनुमति दिएको आयोजनाबाट २०७६ वैशाख १ गतेदेखि विद्युत् उत्पादन गर्ने तालिका छ । केही ढिला हुँदा पनि जेठ असारदेखि उत्पादन सुरु हुने उनले बताए ।

    विद्युत्गृहमा १२.५ मेगावाट क्षमताका २ युनिट राखेर विद्युत् उत्पादन गरिनेछ । आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको सिंगटी सबस्टेसनमा लगेर जोडिनेछ । ४ अर्ब ६३ करोड लागत अनुमान गरिएको यस आयोजनामा सिभिल बैंकको नेतृत्वमा १० वटा बैंकले ३ अर्ब ३० करोड रुपैयाँ ऋण लगानी गरेका छन् । १ अर्ब ४५ करोड स्वपुँजी लगानी रहेको छ । १६ मेगावाटमा निर्माण सुरु गरिएको आयोजना ९ मेगावाट क्षमता बढाएर २५ मेगावाट पुराइएको होे ।

     

    दिलबहादुर केसी

    स्रोत:कारोबार