ग्राहकका गुनासा संबोधन गर्न ऊर्जामन्त्रीको पहलमा टोल फ्रि हटलाईन सेवा शुभारम्भ

    1136
    काठमाडौं , १९ भदौं ।

    ग्राहकलाई सरल र सहज सेवा उपलब्ध गराउने उद्देश्यले ऊर्जा मन्त्रालयले टोल फ्रि नम्बर ११५१ तथा मोवाईल एप्स सञ्चालनमा ल्याएको छ । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले झापा गौरादहका एक सेवा ग्राहीको जनगुनासो सुनेर तथा रिबन काटेर उक्त सेवाको उद्घाटन गर्नुभएको हो ।

    उहाँले सेवाप्रदायक संस्थाका कर्मचारीलाई थप जिम्मेवार र उपभोक्तामुखी बनाउन उक्त टोल फ्रि हटलाइन नम्बर र मोबाईल एप्स सञ्चालनमा ल्याईएको बताउनुभयो ।

    ‘जनताका गुनासाहरु संबोधन गर्न निशुल्क टेलिफोन नम्बर र मोबाईल एप्सको व्यबस्था गरिएको हो , ऊर्जामन्त्री शाहीले भन्नुभयो , जनताका कामकारबाहीलाई कुनै पनि बाहानामा संबोधन नगर्ने परिपाटीको अन्त्य गर्न यस्तो सेवाको आबश्यकता परेको हो । ‘

    नेपाल विद्युत प्राधिकरणले पनि यस्तो सेवाको व्यवस्था गरिसकेको अबश्थामा मन्त्रालयमा पनि किन आबश्यकता पर्यो भन्ने पत्रकारको प्रश्नको जवाफ दिदैं मन्त्री शाहीले जनताहरु समस्या ल्याएर प्राधिकरणमा भन्दा मन्त्रालयमा बढी आउने गरेको हुनाले मन्त्रालयले पनि यो सेवाको सुभारम्भ गर्नुपरेको स्पष्ट पार्नुभयो ।

    प्राधिकरण जनताको सेवामा क्रियाशील छ भन्ने सन्देश दिनका लागि पनि हटलाइन सञ्चालनमा ल्याईएको र त्यसले प्राधिकरणका कर्मचारीलाई जिम्मेवार बनाउने विश्वास मन्त्री शाहीको थियो । उक्त हटलाईन टेलिफोन नम्बरमा एकैपटक तीनजनाले फोन गर्न सक्नेछन् ।